coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कोरोना रिपोर्ट ढिलो दिने सरकारी कदमले संक्रमण फैलने खतरा

घोराहीकी २० वर्षीया एक युवतीलाई कोरोना संक्रमण पुष्टि भएको मौखिक खवर परिवारलाई पुग्यो। तर आधिकारीकता थिएन। मौखिक जानकारीका आधारमा ति युवतीलाई आइसोलेसन राख्ने वा नराख्ने भन्ने अन्यौलमै रह्यो। उता जनप्रतिनिधिहरुले ति युवतीलाई कोरोना नभएको हुन सक्ने फरक आँकलन गरिदिए। कारण उनलाई कोरोना भए नभएको आधिकारीक जानकारी कतैबाट आएन।  

‘कोरोना संक्रमण भएको भनेर राप्ती स्वास्थ्य विज्ञान प्रष्ठिानबाट मौखिक सूचना हामीहरुलाई प्राप्त भयो,’ परिवारका एक सदस्यले भने ‘तर जनप्रतिनिधिहरुलाई सोध्दा उहाँहरुले कोरोना नभएको भन्नु भयो, हामी थप अन्यौलमा रह्यौँ।’ अन्ततः परिवारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त मौखिक सूचनालाई आधार मान्यो र ति युवतीलाई होम आइसोलेसनमा राख्यो। ‘कोरोना भए नभएको आधिकारीक रिपोर्ट प्राप्त भएन, तर कोरोना भएको भन्ने मौखिक सूचनालाई आधार मानेर होम आइसोलेसनमा राख्यौँ,’ परिवारका ति सदस्यले भने ‘किनकी कोरोना संक्रमण भएको भए परिवारका अन्य सदस्यलाई संक्रमण हुने डर हुन्थ्यो नि।’  

घोराही १५ कै ५० वर्षीय अर्का एक पुरुषलाई कोरोना पुष्टि भयो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा संक्रमण पुष्टि भएका ति पुरुषको परीक्षण नतिजा परिवारले तत्कालै आधिकारीक रुपमा पाउन सकेन। संक्रमण पुष्टि भएको दुई दिनपछि परिवारका सदस्यले आधिकारीक रुपमा जानकारी पाए। ‘घोराही उपमहानगरपालिकाबाट कोरोना संक्रमण पुष्टि भएको दुईदिन पछि बल्ल फोन आयो र कोरोना संक्रमण पुष्टि भएको छ भनेर जानकारी दिए,’ ति व्यक्तिका छोराले भने ‘तर हामीहरुले यो फोन आउनु भन्दा अगाडीनै थाहा पाएर आइसोलेसनमा राखिसकेका थियौँ।’  

उनलाई पनि प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुले अनौपचारिक जानकारी दिईसकेका थिए। कोरोना परीक्षणको रिपोर्ट दिन किन ढिला भएको ? घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी भन्छन् ‘सरकारले उपल्लो तहबाट मात्रै आधिकारीक जानकारी दिने भनेर निर्णय गरेका कारण यसो भएको भन्ने सुनेको छु।’

दाङमा कोरोना परीक्षण हुने एक मात्र थलो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले उसैदिन परीक्षण रिपोर्ट स्थानीय तहहरुलाई आधिकारीक रुपमा दिँदै आएको थियो। नाम, ठेगाना सहित प्रतिष्ठानले उपलब्ध गराउने रिपोर्टका आधारमा सम्बन्धित स्थानीय तहहरुले सम्बन्धित ब्यक्तिहरुलाई टेलिफोनका माध्यमबाट जानकारी दिने गरेका थिए। प्रतिष्ठानको सोही रिपोर्टका आधारमा कोरोना संक्रमण पुष्टि भएकाहरुलाई स्थानीय तहहरुले आइसोलेसनमा व्यवस्थापनका लागि तत्कालै कदम चाल्थे।  

तर सरकारले पछिल्लो पटक प्रतिष्ठानलाई कोरोना परीक्षण रिपोर्ट आफै नदिन उर्दि जारी गरेपछि समुदायस्तरमा कोरोना संक्रमण फैलने त्रास झनै बढेको छ। प्रतिष्ठानका अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालय मार्फत मात्रै कोरोना रिपोर्ट सम्बन्धित व्यक्तिसम्म आधिकारीक रुपमा पुर्याउने भन्दै प्रतिष्ठानलाई उक्त जानकारी नदिन भनेको छ। सरकारको सोही निर्देशन बमोजिम प्रतिष्ठानले आफै कोरोना परीक्षण रिपोर्ट स्थानीय तहहरुलाई पठाउन छोडेको छ।  

‘प्रदेशको सामाजिक विकास मन्त्रालय मार्फत कोरोना रिपोर्ट सार्वजनिक गर्ने सरकारको पछिल्लो नीतिका कारण प्रतिष्ठानले कोरोना रिपोर्ट स्थानीय तहहरुलाई उपलब्ध गराउन छोडेको हो,’ प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले भने ‘हामीहरुले अहिले आपतकालीन केन्द्र, ईपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा, र सामाजिक विकास मन्त्रालयमा मात्रै पठाउने निर्देशन अनुसार यि निकायहरुमा मात्रै पठाउने गरेका छौँ।’ सरकारको पछिल्लो परिपत्र अनुसार प्रतिष्ठानले कोरोना परीक्षण रिपोर्ट सार्वजनिक गर्न छोडेपछि तत्कालै सम्बन्धित व्यक्तिले परीक्षण रिपोर्ट थाहा पाउन सकेका छैनन्।  

फलतः कोरोना संक्रमितहरु समेत आधिकारीक जानकारी नआउँदासम्म घर परिवार तथा आफन्तीहरुसंग उसैगरि घुलमिल भैरहेका हुन्छन्। ‘पहिला उसैदिन रिपोर्ट आउँदा परिवारका अन्य सदस्यहरु सजग भैसकेका हुन्थे,अनि संक्रमितलाई आइसोलेसनमा तत्कालै राख्नका लागि पहल गरिन्थ्यो,’ घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेले भने ‘तर अहिले त आधिकारीक रिपोर्ट आउन केहि दिन कुर्नु पर्छ, तर रिपोर्ट ढिलो आउँदा संक्रमित व्यक्ति पनि घरपरिवार तथा समाजमा सहज तरिकाले घुलमिल भैरहेको हुन्छ।’  

उनका अनुसार यसले कोरोना संक्रमण फैलने झन खतरा बढिरहेको छ। ‘आधिकारीक जानकारी नआउँदासम्म संक्रमित कसरी भन्ने ?’ पाण्डेले भने ‘अनि संक्रमित व्यक्ति सामान्य तरिकाले घुलमिल भैरहँदा कोरोना संक्रमणको खतरा झनै बढेको छ।’

यता रिपोर्ट आउन भैरहेको ढिलाईका कारण समुदायमा संक्रमण फैलने खतरा बढ्नुका साथै संक्रमितहरुको व्यवस्थापनमा जटिल भैरहेको घोराही उपमहानगरले जनाएको छ। ‘कोरोना संक्रमण भएका व्यक्तिहरुलाई तत्काल आइसोलेसनमा राख्नु पर्छ, तर आधिकारिक रिपोर्ट आउन समय लाग्ने भएकाले संक्रमित भएकाहरुलाई पनि तत्कालै आइसोलेसनमा व्यवस्थापन गर्न निकै समस्या भैरहेको छ,’ घोराही उपमहानगरका मेयर नरुलाल चौधरीले भने ‘कम्तीमा पनि यो व्यक्ति कोरोना संक्रमित हो भन्ने आधिकारिक जानकारी हामीलाई उसै दिन आयो भने हामीहरुले तत्कालै उसको व्यवस्थापन गर्न सक्ने थियौँ।’

प्रकाशित: १७ भाद्र २०७७ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App