coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्णालीमा संक्रमितको संख्या बढ्दै

९७ जना कोरोना संक्रमित थपिए

कर्णालीमा समुदायस्तरमा कोरोना संक्रमण बढ्दै जान थालेको छ। बुधबार चिकित्सक, प्रहरी, सेवा प्रदायक कार्यालयका कर्मचारी, कैदी र समुदायका गरेर कर्णालीमा ९७ जना कोरोना संक्रमित थपिएका छन्। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार जुम्ला कारागारका कैदी, सुरक्षाकर्मी र कारागारमा खाद्यान्न पुर्‍याउने व्यापारीसहित १० जनामा कोरोना देखिएको छ।  

यस्तै सुर्खेतमा जिल्ला अदालतको मुद्दा शाखामा कार्यरत एक कर्मचारी, कर्णाली प्रदेश अस्पतालमा कार्यरत एक चिकित्सक र उनको परिवार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका ६ जना सुरक्षाकर्मी, कर्णाली प्रदेश प्रहरी कार्यालयका सात जना सुरक्षाकर्मी, जिल्ला प्रहरी कार्यालय सुर्खेतका एक थुनुवासहित १० जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ।  

जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले कारागारमा रहेका कैदीमा कोरोना संक्रमण देखिएपछि सबैको कन्ट्रयाक ट्रेसिङ गर्ने तयारी भइरहेको बताए। ‘सबैभन्दा पहिले कारागारमा कैदीबन्दीहरुलाई भेट्न आउनेको परीक्षण गछौं,’ उनले भने, ‘त्यसपछि कारागारका व्यवस्थापन, सुरक्षाकर्मी र कैदीबन्दीको स्वाब संकलन गरेर परीक्षण गछौं।’ कैदीबन्दी एक प्रकारको आइसोलेसनमा बसेकाले अत्यावश्यक सेवाप्रवाह गर्नेलाई पहिलो प्राथमिकता दिइने छ।  

जुम्लाबाहेक कर्णालीका कुनै पनि कारागारमा कोरोना परीक्षण भएको छैन। जुम्ला कारागारमा पहिलो पटक परीक्षण भएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईले अब कर्णालीका साविकका सबै जिल्ला कारागारमा कोरोना परीक्षण गरिने बताए। पछिल्लो २४ घण्टामा जुम्लामा ३९ जना संक्रमित फेला परेका छन्।

तीन बालकसहित ९५ थपिए

कर्णालीका विभिन्न प्रयोगशालामा पाँच सय ३१ जनाको स्वाब परीक्षण गरिएकोमा ९५ जनामा पोजिटिभ देखिएको हो। सामाजिक विकास मन्त्रालयका अनुसार जुम्लाका ३९ जना, कालिकोटका २२ जना, सुर्खेतका १७ जना, दैलेखका ५ जना, जाजरकोटका २ जना र कर्णाली प्रदेश बाहिरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमित मध्ये ३, ४ र ६ वर्षीय तीन जना बालकसमेत छन्।

योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ हजार ५५१ पुगेको छ। हालसम्म २ हजार १२५ जना निको भई डिस्चार्ज भएका छन्। अब सक्रीय ४२० जना संक्रमितमध्ये ३३५ जना विभिन्न अस्पताल तथा आइसोलेसनमा बसिरहेका छन् भने बाँकी स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा बसेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पछिल्लो पटक थपिएको सबै संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन्।

प्रकाशित: १७ भाद्र २०७७ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App