coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कन्ट्याक्ट ट्रेसिङ नहुँदा काठमाडौंमा बढ्यो जोखिम

काठमाडौ जिल्लामा प्रभावकारी कन्ट्याक्ट ट्रेसिङ नहुँदा कोरोना संक्रमण बढेको पाइएको दाबी विज्ञहरूले गरेका छन् । कोरोना नियन्त्रणका लागि आवश्यक मुख्य पक्ष संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई २४ घण्टाभित्र जानकारी दिनु र ५ दिनसम्म क्वारेन्टिनमा राखेर पिसिआर परीक्षण गर्नु हो । यो काममै लापरबाही हुनाले निषेधाज्ञामा पनि संक्रमण दर उल्टै बढिरहेको उनीहरूको आरोप छ ।  

राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलले काठमाडांै महानगरपालिकाले समयमै तालिमप्राप्त जनशक्तिको तयारी गरेर कन्ट्याक्ट ट्रेसिङको काम नगरेकै कारण उपत्यकाका अन्य जिल्लाको तुलनामा संक्रमण बढिरहेको हो । काठमाडौं महानगरपालिकाले उपत्यकामा संक्रमण वृद्धि हुनुपूर्व नै तयारी गर्नुपर्नेमा अहिलेसम्म जनशक्ति तयारी नगरेको उनले बताए । जनशक्ति कमी भएपछि महानगरपालिकाले जिल्ला जनस्वास्थ्य कार्यलय र रोग नियन्त्रण महाशाखासित सहयोग मागिरहेको हुन्छ । जुन काम गर्न सम्भव छैन । ‘इपिडिमोलोजीले घर–घरबाट नमुना संकलन गरेको छ, जुन काम सक्दैन, यो शाखाको काम नीति बनाउने मात्र हो, लागु स्थानीय निकायले गर्नुपर्छ,’ उनले भने ।  

कोभिड १९ महामारीमा कन्ट्याक्ट ट्रेसिङ गर्नको लागि महाशाखाले तीनवटै स्थानीय निकायको हकमा निर्देशिका बनाइसकेको छ । जुन निर्देशिकाअनुसार गाउँपालिकाको हकमा तीनजना स्वास्थ्यकर्मीको समूह, नगरपालिकाको हकमा २ वटा टोली, उपमहानगरपालिकाको हकमा तीनवटा टोली र महानगरपालिकाको हकमा ५ वटा टोली बनाएर परिचालन गर्ने नियम छ । यो निर्देशिकाअनुसार काठमाडौं महानगरपालिकाले अहिलेसम्म टोली गठन नगरेको उनको आरोप छ । केही समयअघिसम्म स्वास्थ्य शाखाको प्रमुखसमेत गैरस्वास्थ्यकर्मी भएकाले समयमै कन्ट्याक्ट ट्रेसिङको टोली गठन हुन नसकेको पनि आरोप छ ।  

शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनका अनुसार समयमै व्यवस्थित कन्ट्याक्ट ट्रेसिङ व्यवस्थापन गर्न संक्रमण वृद्धि भएअनुसार जनशक्ति थप्दै जानुपर्छ । उनका अनुसार महानगरपालिकाको हकमा कतिपय दिनमा ३ सयभन्दा बढी नयाँ संक्रमित देखिएकाले १० वटा टोलीको जनशक्रि पर्याप्त छैन । समयमै कोरोना नियन्त्रण गरेका देशहरूमा कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी भएको पाइएकाले महानगरपालिकाले यो कार्यलाई प्रभावकारी बनाउनुपर्ने उनको सझुाव छ । यसका लागि स्थानीय निकाय र संक्रमित पक्ष दुवैको भूमिका हुने उनले बताए । सम्पर्कमा रहेका व्यक्तिहरू समेत पिसिआर परिक्षण हुनुअघिबाटै क्वारेन्टिनमा बसेर सहयोग गर्नुपर्ने उनको सुझाव छ ।  

काठमाडौं राष्ट्रिय इपिडिमोेलोजी तथा रोग नियन्यण महाशाखाका सूचना अधिकारी महेन्द्रध्वज अधिकारीले काठमाडांैमा संक्रमण बढ्न थालेपछि दुई साताअघि मात्रै कन्ट्याक्ट ट्रेसिङका लागि महाशाखाले तालिम दिएको छ । कन्ट्याक्ट ट्रेसिङबारे गलत बुझाइ रहेकोले पनि गलत प्रचार भएको अधिकारी बताउँछन् ।  

कन्टयाक्ट ट्रेसिङ विधिअनुसार संक्रमित व्यक्तिको नजिकको सम्पर्कमा रहेका व्यक्तिलाई तुरुन्तै जानकारी दिने र ५ देखि ७ दिनभित्र परीक्षण गर्नुपर्छ । तर गलत बुझाइका कारण तुरुन्तै परीक्षणको माग हुने गरेको अधिकारीले बताए । ‘संक्रमित व्यक्तिको सम्र्पकमा पुगेका व्यक्तिको ५ दिन नभएसम्म भाइरस पोजिटिभ देखिँदैन, त्यही भएर ५ दिनपछि परीक्षण गछौैं,’ उनले भने ।  

उपत्यकामा असारदेखिनै संक्रमण देखिएको थियो । तर साउनको तेस्रो सातादेखि उल्लेखनीय संख्यामा संक्रमण देखिएको हो । संक्रमण फैलिएको तीन सातापछि मात्र भएका जनशक्तिलाई तालिम दिएको घटनाक्रमले देखाउँछ । काठमाडौं जिल्ला जनस्वास्थ्यले पनि महानगरपालिकामा १० वटा समूह तयार भइसकेको जनाएको छ । अपुग जनशक्तिको लागि जिल्ला जनस्वास्थ्य तथा राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले समन्वय गरेर टे«सिङ गर्ने गरेको जनाएको छ । अपुग जनशक्तिको लागि तीन दिनअघि मात्रै बैठक बसी थप जनशक्ति राख्ने निर्णय भएको र एक सातापछि समस्या हल हुने काठमाडौं जनस्वास्थ्य कार्यालयकी सूचना अधिकारी पार्वती बिष्टले बताइन् ।  

मात्र महानगरपालिकाकामा कन्ट्याक्ट टे«सिङ भए पनि यो जिल्लाको जनसंख्या, कतिपय संक्रमितको फोन नम्बर नै गलत टिपिनु, फोन स्विच अफ् हुनुले पनि कतिपय संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ हुन नसकेको बिष्टले स्वीकारिन् ।  

अहिले महानगरपालिकामा १० वटा टोली निर्माण गरेर टे«सिङको गरिरहेकोमा अपुग भएपछि महानगरपालिका सवै वडाका स्वास्थ्य जनशक्तिलाई तालिम दिएर परिचालन गरेको महानगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानबहादुर वलीले बताए । तर यो महानगरपालिकाभित्र दैनिक बढिरहेको संक्रमणको कारण प्रभावकारी हुन नसकेको वलीले स्वीकार गरे । ‘कतिको सम्पर्क नै हुँदैन, कतिको मोवाइल नै स्विच अफ् छ,’ उनले भने ।  

कतिपय डेरामा होम आइसोलेसन बस्नेहरूले मापदण्डअनुसार आइसोलेसन नहुँदा पनि संक्रमण बढेको वलीले बताए । बढ्दो संक्रमणअनुसार कन्ट्याक्टट्रेसिङ गर्न ३ वटा जनस्वास्थ्य अधिकृत र ५ जना ल्याब टेक्निसियन नियुक्ति प्रक्रिया अघि बढिसकेको उनले बताए । महानगरपालिका जनशक्ति सोत महाशाखाका निर्देशक हरि कुवँरले अहिलेको समस्या सम्बोधन गर्न ८ जना जनशक्ति छनोट प्रक्रियामा रहेको र तत्कालै इपिडिमोलोजी महाशाखाबाट जनशक्ति भाडामा लिने तयारी समेत भइरहेको उनले बताए ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख जनस्वास्थ्य विशेषज्ञ महेन्द्र श्रेष्ठका अनुसार संक्रमित संख्या बढेपछि महानगरपालिकाले पहिलेको भन्दा बढी जनशक्ति परिचालन गरी कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेको छ । केही समयअघि जनशक्तिको कमी रहेको उनले स्वीकार गरे । काठमाडौं जिल्लाको हकमा कन्ट्याक्ट ट्रेसिङ अपुग भएर मात्र नभई कोरोना संक्रमण समूह–समूहमा पुगेकोले संक्रमण बढी भएको उनको दाबी छ । ‘लकडाउन नगरेको भए काठमाडौंको जनसंख्यामा संक्रमण फैलिएर भारतको स्थिति हुन्थ्यो’ उनले भने ।

प्रकाशित: १७ भाद्र २०७७ ०२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App