७ वैशाख २०८१ शुक्रबार
समाज

अभिभावकको साथ नपाउँदा आत्महत्या

घोराही उपमहानगरपालिका–१६ भगवानपुरकी नौ वर्षीया सविना ओली गत वैशाख अन्तिम साताको एक दिन घरमा एक्लै थिइन् । आमा मजदुरी गर्न जाने भएकाले आफ्नो सानो भाइको रेखदेख गर्ने जिम्मेवारी उनको थियो । बिहानको काम सकेर आमा खाना खान घर फर्किन् । आमा खाना खाँदै गर्दा सविना बाहिर निस्किन् । एकछिनपछि उनी घरको रेलिङमा पासो लागिरहेको अवस्थामा मृत भेटिइन् ।

सविनाले अध्ययन गर्दै आएको विद्यालय जयशेर माविका प्रधानाध्यापक हुकुमबहादुर बुढाथोकीका अनुसार परिवारका कुनै सदस्यसँग सविनाको सामान्य भनाभन पनि भएको थिएन । कोरोना कहरका कारण लामो समयदेखि घरभित्रै थुनिनुपर्दा निम्तिएको उकुसमुकुसले सविनाले त्यस्तो निर्णय लिएको हुन सक्ने अनुमान प्रअ बुढाथोकीको छ । ‘विद्यालय ठप्प छन्, घरभित्र गुम्सिएर बस्नुपर्दा उनीहरूका मनमा विभिन्न प्रकारका नकारात्मक सोच आउन थाले,’ उनले भने, ‘फलतः सविनामा पनि यसैको नकारात्मक प्रभाव पर्न गयो र यो निर्णयमा पुगेकी हुन सक्छिन् ।’

घोराही–१० नारायणपुरका १३ वर्षीय स्कुले बालक कौस्तुभजंग शाह पनि गत साउन १३ मा घरभित्रै झुन्डिएको अवस्थामा फेला परे । त्यो दिन डेरामा उनी एक्लै थिए । बाबु केही दिनदेखि काठमाडौंमा रहेका र आमा कामको सिलसिलामा घोराही बजार आएकी थिइन् । आमा फर्किंदा ढोका भित्रबाट बन्द थियो । धेरैपटक बोलाउँदा पनि कौस्तुभ बोलेनन् । झ्याल फोरेर हेर्दा उनी कोठाभित्रै झुन्डिएको अवस्थामा भेटिए । ‘आमासँग त्यस्तो विवाद केही पनि भएको रहेनछ,’ बाबुले भने, ‘तापनि कोठाभित्रै झुन्डिएर प्राण त्यागेछ ।’

घरभित्रै विक्षिप्त भएर बसेका बालबालिकालाई परिवारका सदस्यबाट गरिने सामान्य गाली पनि आत्महत्याको कारण बन्ने गरेको छ ।

घोराही–१० कै ११ वर्षीया प्रकृति महरा आमासँग सामान्य भनाभन हुँदा घरको कोठा बन्द गरेर सुत्ने गर्थिन् । आमा कतैबाट ढिलो आउँदा होस् वा आमाले सामान्य वचन लगाउँदा पनि उनी रिसाएर कोठा छिरेर ढोका बन्द गर्ने गर्थिन् । गत १६ असारमा ६ वर्षीय सानो भाइलाई काँक्रा नदिएर किन एक्लै खाएको भनेर आमाले प्रकृतिलाई प्रश्न गरिन् । प्रकृति रिसाएर कोठाभित्र छिरिन् र ढोका बन्द गरिन् । आमाले पहिलेकै जस्तै घुर्की देखाउन कोठा प्रवेश गरेको भन्ने ठानिन् । तीन घन्टासम्म ढोका नखोलेपछि आमाले झ्यालबाट चिहाइन् । प्रकृति झ्यालमै पासो लगाएर मृत्यु भइसकेको अवस्थामा देखिइन् । ‘पहिलेकै जस्तै रिसाएर बसेकी होला भन्ने लागेको थियो,’ आफन्त सुमित्रा महराले भनिन्, ‘तर त्यो दिन पासो लगाइछ ।’

ससाना बालबालिका यसरी आत्महत्या गरेका घटना विगतमा त्यति सुनिँदैनथे । तर कोरोना कहरका बेला ससाना बालबालिकाले आत्महत्या गरेका घटना बढी बाहिर आए । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा चैतमा लकडाउन भएयता १६ वर्षमुनिका नौ बालबालिकाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार चैतमा एक, वैशाखमा दुई, जेठमा एक, असारमा दुई, साउनमा दुई र भदौको आधाआधी बित्दा एकजनाले आत्महत्या गरिसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका प्रहरी निरीक्षक राजन गौतमका अनुसार बालबालिकाले आत्महत्या गरेका घटना जिल्लामा नयाँ भएको र यसको प्रमुख कारण कोरोना कहर र पारिवारिक बेवास्ता हो ।

‘हामी सबै अभिभावक काममै व्यस्त भयौं, लकडाउनका कारण घरभित्र गुम्सिएर बसेका बालबालिकाको मनोभावलाई वास्ता गर्ने फुर्सद भएन,’ गौतमले भने, ‘फलतः उनीहरूले हेपिएको महसुस गरे अनि आत्महत्याको बाटो रोजेको सबैजसो घटनामा हामीले गरेको अनुसन्धानले बताउँछ ।’ लामो समयसम्मको लकडाउनका कारण उनीहरूको साथीसँगीसँगको सम्बन्ध टुटेको छ । उनीहरूले आफूलाई मनमा लागेको कुरा भन्न र सुनाउन पाउने साथीहरू कोरोना कहरका कारण टाढा छन् । परिवारका सदस्यहरूले पनि उनीहरूको मनोभाव बुझ्न सकेनन् । अनि मानसिक रूपमा तनाव सुरु भयो । ‘लकडाउनका कारण उनीहरूले मनमा लागेका कुरा पोख्ने साथीसँगी अहिले उनीहरूका साथमा छैनन्,’ प्रहरी निरीक्षक गौतमले भने, ‘अनि परिवारबाट पनि त्यो साथ नपाएपछि उनीहरू मानसिक रूपमा विक्षिप्त हुने र गलत निर्णयमा पुग्ने गरेका छन् ।’

यसैगरी, घरभित्रै विक्षिप्त भएर बसेका उनीहरूलाई परिवारका सदस्यबाट गरिने सामान्य गाली पनि आत्महत्याको कारण बन्ने गरेको छ । घोराही रामपुरका एक बालकले आमासँग खाना खान मागेको र आमाले त्यो समयमा खान नदिई हप्काएपछि नजिकैको जंगलमा गएर आत्महत्या गरेको घटनाबारे उनले जानकारी दिए । उनका अनुसार मोबाइलको प्रयोग पनि यसको अर्को कारण हो । बढ्दो मोबाइलको प्रयोगले उनीहरूलाई सकारात्मकभन्दा पनि बढी नकारात्मक प्रभाव पार्दै लगेपछि जीवन नै समाप्त पार्नेसम्मको अवस्थासम्म पु-याउने गरेको गौतमले बताए ।

प्रकाशित: १७ भाद्र २०७७ ०२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App