जिल्ला कारागार पाँचथरमा रहेका एक जना थुनुवालाई कोरोना संक्रमण देखिएको छ। मंगलबार बिहान प्राप्त पिसिआर रिपोर्ट अनुसार कारागारमा रहेका थुनुवालाई कोरोना भएको पुष्टि भएको हो।
फिदिम नगरपालिका स्थानीय ठेगाना भएका ४० वर्षीय ति व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयको हिरासतबाट केहि दिनअघि कारागार पठाइएको थियो। बहुविवाह मुद्धामा पुर्पक्षका लागि कारागार चलान भएका उनलाई कोरोना पोजेटिभ देखिएको हो। उनी सहित तीन जनालाई कारागारमा छुट्टै क्वारेन्टिन बनाएर राखिएको जानकारी दिइएको छ।
कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्तिलाई फिदिम अगुवा स्रोत केन्द्रमा रहेको आइसोलेसनमा लगिसकिएको पाँचथरका प्रहरी प्रमुख डिएसपि सिद्धराज न्यौपानेले जानकारी दिए। यो सँगै जिल्लामा कोरोना संक्रमण भएर उपचार गराईरहेकाको संख्या ९ पुगेको छ। जिल्ला प्रहरी कार्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोना भाइरसको संक्रमण भएको थियो।
प्रकाशित: १६ भाद्र २०७७ ०९:५९ मंगलबार