coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना संक्रमितको शल्यक्रिया कोहलपुरपछि बुटवलमा शुरु

दुई साताअघि बुटवलकी कोरोना संक्रमित गर्भवती महिलाको शल्यक्रिया गर्नुप¥यो। पहिलो बच्चा शल्यक्रिया गरि जन्माएकाले दोस्रो बच्चाका लागि पनि शल्यक्रिया अनिवार्य थियो। तर, बुटवलस्थित प्रादेशिक अस्पतालमा भने कोरोना संक्रमितको शल्यक्रिया गर्न सकेन।  कोरोना संक्रमित गर्भवतीलाई भीम अस्पताल भैरहवा लैजान सुझाव दिइयो। तर, त्यहाँ पनि संक्रमितको शल्यक्रिया हुन नसक्ने भएपछि नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेज लगियो। कोहलपुरमा ती कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया भयो।  

यो घटनाले प्रदेशको अस्थायी राजधानी बुटवलमा कोरोना संक्रमितको शल्यक्रिया गर्न नसकेको भन्दै सरकार र अस्पतालको चर्को आलोचना भयो। एकातिर आलोचना चुलियो भने अर्को तर्फ गर्भवती महिला र तिनका परिवारमा उपचार नपाउने चिन्ता थपिएको छ।  संविधानले सुरक्षित प्रजनन अधिकारलाई मौलीक हकमा राखेपनि उपचार नै नपाउने अवस्था आएपछि प्रदेश राजधानीका भरपर्दो भनिएको अस्पतालमाथि नै ठूलो प्रश्न उब्जिएको छ।  

समुदाय तहमा कोरोना संक्रमण फैलिरहदा कोरोना संक्रमित गर्भवतीहरुमा चिन्दा थपिरहेको बेला लुम्बिनी प्रादेशिक अस्पतालले शल्यक्रिया सेवा शुरु गरेको छ। साउनको अन्तिम साता कोरोना संक्रमित गर्भवतीलाई भर्ना नलिएको लुम्बिनी प्रादेशिक अस्पतालले सोमबारबाट भने गर्भवतीको शल्यक्रिया शुरु गरेको छ। सोमबार रुपन्देही सिद्धार्थ नगरपालिका वडा न. १ निवासी २२ बर्षिया कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया गरिएको हो।  

शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि गर्भवती महिला होमआइसोलेशनमा बसेकी थिइन्। सोमबार भैरहवास्थित भीम अस्पतालबाट रेफर गरि लुम्बिनीमा ल्याइएको हो। ‘नर्मल रुपमा बच्चा जन्म नसक्ने भएपछि संक्रमित गर्भवतीको शल्यक्रिया गरिएको हो’ लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले भने। प्रसुती रोग बिशेष समेत रहेका डा. गौतमले नै शल्यक्रिया गरेका हुन। संक्रमित गर्भवतीबाट छोरा जन्मिएको छ। आमा र बच्चाको कोरोना परीक्षण गरेपछि मात्रै घर पठाइने अस्पतालले जनाएको छ।  

प्रदेश ५ मा हालसम्म ७ जना संक्रमितको शल्यक्रिया भएको छ। सबैको स्वास्थ्य भने सामान्य छ। 

अहिले आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको डा. गौतमले बताए। लुम्बिनी प्रादेशिकमा कोरोना संक्रमितको भने यो पहिलो शल्यक्रिया हो। जनशक्ति र प्राविधक रुपमा अस्पताल तयार भएपनि केहि पूर्वाधारका कारणले यसअघि दुई जना गर्भवतीको शल्यक्रिया बुटवलमा गर्न नसकिएको सूचना अधिकारी समेत रहेका डा. गौतमले बताए।  

‘कोहलपुर पठाइएका गर्भवतीको पनि शल्यक्रिया हुनसक्थ्यो, त्यतिखेर समन्वय अभाव र अपरेशन कक्ष सारेकाले संरचनाले अप्ठ्यारो बनाएको हो’उनले भने। उनका अनुसार तत्तकालका लागि शल्यक्रिया नगरि नहुने संक्रमित गर्भवतीको शल्यक्रियालाई प्राथमिकतामा राखिएको छ। एकै दिन ३ जनासम्मको शल्यक्रिया गर्न सकिने अस्पतालले जनाएको छ।  

प्रदेश राजधानीमै सुविधासम्पन्न अस्पताल भएको भनिएपनि संक्रमितको शल्यक्रिया नहुँदा सर्वसाधरण मर्कामा परेका थिए। सोमबारबाट भने लुम्बिनी प्रादेशिकमा शल्यक्रिया हुन थालेकाले संक्रमितलाई राहात पुग्ने सामाजिक विकास मन्त्रालय प्रदेश ५ का सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए। उनका अनुसार प्रदेश ५ मा नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेज र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल कोरोना संक्रमितको शल्यक्रिया हुने अस्पताल हुन। प्रदेशका पूश्चिम क्षेत्र र पूर्वी क्षेत्रका नागरिकलाई पायक हुने गरि तत्तकाल दुई अस्पतालबाट संक्रमितको शल्यक्रिया शुरु हुन सुखद भएको उनको भनाई छ। साविक लुम्बिनी अञ्चलमा कोही कोरोना संक्रमित देखिएको खण्डमा अपरेशनका लागि नेपालगञ्ज र काठमाडौं जानुपर्ने बाध्यता थियो।  

प्रदेश ५ मा अहिलेसम्म ७ जना कोरोना संक्रमितको शल्यक्रिया भएको छ। यसमध्ये ६ जनाको कोहलपुर मेडिकल कलेजमा भएको हो। ३ जना गर्भवती महिला र अन्य ३ जना आन्द्रामा समस्या देखिएका र एक जना हातभाँच्चिएको संक्रमित भएको मन्त्रालयका सूचना अधिकारी डा. पौडेलले बताए। डायलासिस गराउने कोरोना संक्रमितलाई समेत लक्षित गरि सेवा सुचारु गर्नुपर्ने खाँचो देखिएको छ।

प्रकाशित: १६ भाद्र २०७७ ०७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App