coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोले काखको दुधे बालक खोस्यो

पहिरोमा पुरिएकाहरुको खोजी गर्दै प्रहरी र स्थानीय । तस्बिर : धनबहादुर बुढा/नागरिक

स्थानीय प्रशासनको निषेधाज्ञाका कारण पुन्नी शाहीले पसल नखोलेको एक साता भइसकेको थियो । जुम्लासँग सीमाना जोडिएको नाग्म बजारमा पुन्नीको परिवारले धनपति विकको घर भाडामा लिएर पसल गर्दथ्यो । पसल नखुल्ने भएकाले आइतबार विहान उनी दुई महिने छोरो अक्कललाई कोठाभित्र खेलाउँदै थिइन् । गडगड आवाजले घरै थर्कायो । नजिकै तीला नदी भएकाले उनले सुरुमा बाढी आएको अनुमान गरिन् । ‘ठम्याउन नपाउँदै घर पहिरोले लग्यो,’ पुन्नीले भनिन्, ‘काखको दुई महिने छोरो एकातिर म अर्कोतिर भएँ ।’  

कोखमा नौ महिना हुर्काएर जन्म दिएको छोरालाई पहिरोले काखैबाट खोल्दाको पीडाले पुन्नी अहिले पनि छटपटाइरहेकी छन् । पहिरोले मुन्नीलाई पुरै पुर्न पाएन् । टाउको तलको भाग मात्रै पु¥यो । दुई महिने छोरा अक्कलसँगै पुन्नीले ४० वर्षीय श्रीमान परेक, सात वर्षीया छोरी हिमा र पाँच वर्षीय छोरा निराजनलाई गुमाइन् । विहानको समय भएकाले उनको तत्कालै उद्दार भयो ।  

मुगुको रारा र जुम्ला सदरमुकाम जाने सडक खण्डमा पर्ने भएकाले नाग्ममा राम्रो व्यापार हुन्थ्यो । त्यहीँ भएर किराना पसल चलाउन शुभकालिका गाउँपालिका–७ मुम्राहबाट उनको परिवार नाग्म आएको थियो । किराना पसलको आम्दानीले छोराछोरी पढाउने पुन्नीको सपना आइतबारको सुख्खा पहिरोसँगै तुहियो । श्रीमान र तीन वटै सन्तान गुमाएकी पुन्नी जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा छटपटाइरहेकी छन् । उनको हातमा सामान्य चोट छ । अस्पतालले डिस्चार्ज गरेपनि उनको अव जाने ठाउँ छैन् । ‘बाँचेसँगै मरेसँगै मरौला भन्ने इच्छा थियो,’ अस्पतालको चौरमा बिलौना पोखिरहेकी पुन्नीले भनिन्, ‘पापी कालले सबैलाई लग्यो, मलाई मात्रै एक्लो बनायो ।’  

सुख्खा पहिरोले नाग्मका पाँच घर पु¥यो । पहिरोमा परेर आठ जनाको मृत्यु भएको छ । पुन्नीका तीन छोराछोरी र श्रीमानसँगै तिलागुफाका ३५ वर्षीय मनवीर कटुवाल, ३० वर्षीय टेकबहादुर दमाई, उनकी २५ वर्षीया श्रीमति छोइनु दमाई र छ वर्षीय छोरा गजेन्द्र दमाईको मृत्यु भएको छ ।  

पहिरोमा परेर सुर्खेतको भेरीगंगा नगरपालिका–१० का आइपी खड्का, अमृत थापासहित पाँच जना बेपत्ता छन् । पुन्नीसँगै उद्दार गरिएका १३ वर्षीय बालक अर्जुन हमालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उद्दार र बेपत्ताको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरु सक्रियताका साथ खटिएका छन् ।  

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामबाबु ओलियाले पहिरोमा पुरिएकाहरुको यकिन तथ्याङ्क नभएको बताए । ‘पहिरो आउँदा घरभित्र कति जना थिए र कति जना बाहिरबाट आएका थिए भन्ने खुलेको छैन्,’ उनले भने, ‘खोजीकार्य जारी छ ।’ उनले विहानको समय भएकाले अझै ठूलो मानवीय क्षति नभएको बताए । ‘धेरै जना पहिरो आएको थाहा पाएपछि घरबाट निस्केर सुरक्षित स्थानतर्फ लाग्नुभयो,’ उनले भने, ‘रातिको समय भएको भए अझ ठूलो मानवीय क्षति हुन्थ्यो ।’

डिएपसी ओलियाका अनुसार नाग्म बजार क्षेत्र पहिरो र कटानको उच्च जोखिममा छ । ‘तल तीला नदीले कटान गरिरहेको छ, माथिबाट पानी नपरे पनि पहिरो खस्छ,’ उनले भने, ‘यस्ता बस्तीहरु कालिकोटमा धेरै छन्, समयमै सुरक्षित स्थानमा नसारिए ठूलो मानवीय क्षति हुनसक्छ ।’

४० को मृत्यु, १० भन्दा धेरै बेपत्ता

बाढीपहिरोका कारण कालिकोटका असारयता ४० जनाले ज्यान गुमाएका छन् । १० जना भन्दा धेरै बेपत्ता छन् । ‘अघिल्ला वर्षहरु भन्दा यो वर्ष कालिकोटमा पहिरोले ज्यान गुमाउनेहरुको संख्या बढेको छ,’ उनले भने, ‘यहाँका केही ठाउँमा पानी नपर्दा पनि सुख्खा पहिरो जानेगर्छ ।’

मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको तिलागुफा नगरपालिका–१ स्थित नाग्म बजारमा गएको सुख्खा पहिरोमा परेर ठुलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन् । ‘पहिरोका कारण हालसम्म आठ जनाको निधन हुनुका साथै केही संख्यामा हराएका र दुई जना घाइते भएको घटनाले माननीय मुख्यमन्त्रीज्यू स्तव्ध हुनुहुन्छ,’ प्रमुख स्वकीय सचिव खेमवहादुर सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्राकृतिक विपद्मा परी निधन हुनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहनुभएका परिवारजनप्रति धैर्य गर्न आग्रह गर्छु ।’

मुख्यमन्त्री शाहीले पहिरोको खवर पाउने वित्तिकै उद्दार, खोजीकार्य एवम् घाइतेहरुको उपचारको व्यवस्था मिलाउन सम्वन्धित निकायलाई आवश्यक निर्देशन दिएको बताएका छन् । ‘कोरोना कहरकाबीच श्रृंखलावद्ध रुपमा भइरहेका प्राकृतिक विपद्का घटना र त्यसबाट भइरहेको मानवीय क्षतिले माननीय मुख्यमन्त्रीज्यूले गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्राकृतिक विपद्जोखिम क्षेत्रबाट बसोवास सार्न, आवश्यक सुरक्षा सतर्कता अपनाउन स्थानीयवासीहरुलाई आग्रह गर्छु ।’

प्रकाशित: १४ भाद्र २०७७ १४:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App