coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नाममात्रको सीमा बन्द

सीमापारि भारतीय क्षेत्रका बजार खुलिसकेका छन् । दैनिक उपभोगका सामान किन्न पारिको बजार जानेको संख्या बढ्न थालेको छ । पारिबाट तस्करी गरी वारि सामान भित्र्याउने क्रम पनि बढेको छ । सीमाक्षेत्रमा बढ्दो ओहोरदोहोरले सामान्य अवस्थाको झल्को दिइरहेको छ ।

‘सीमामा कडाइ गरिएको’ सरकारी अभिव्यक्तिभन्दा फरक छ सीमाक्षेत्रको वास्तविक दृश्य । सीमाक्षेत्रमा चल्ने तस्करी धन्दा निरन्तर चलेकै छ । सीमावारिपारि ओहोरदोहोर बढेकै छ । यी सबै दृश्यका निरीह दर्शक प्रशासन, प्रहरी र स्थानीय सरकार बनेका छन् । प्रदेश २ को सीमावर्ती सहर र आसपासका क्षेत्रमा कोरोना संक्रमणको ग्राफ भयावह बन्नुका मुख्य कारण यिनै हुन् । यसको एउटा उदाहरण हो सप्तरीको तिलाठी कोइलाडी । यस गाउँपालिकाको एउटै वडाका करिब ५० सहित ९३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।  

‘यहाँका मानिस एक किलो चिनी र एक प्याकेट नुनका लागि पनि पारि नै पुग्छन्’, गाउँपालिकाका अध्यक्ष सतीश सिंह भन्छन्, ‘पारिबाट सामानसहित भित्रिएको संक्रमण यस गाउँमा फैलिएको छ ।’ यहाँका मानिसको दैनिकी पारिको कुनौली बजारमा निर्भर छ । गाउँभरि संक्रमण फैलिएपछि गाउँपालिकाले लौनिया गाउँमै आइसोलेसन केन्द्र सञ्चालन गरेको छ, जहाँ १४ जना सक्रिय संक्रमित रहेको अध्यक्ष सिंहले बताए ।

त्यस्तै सिरहाको सीमावर्ती माडर गाउँमा बिहीबारसम्म ६ जना संक्रमित भेटिएका छन् । यस गाउँको दैनिकी पनि भारतीय बजार जयनगरमा निर्भर छ । नुनदेखि सुनसम्म खरिदका लागि यस गाउँका बासिन्दा जयनगर बजार पुग्छन् । पछिल्लो समय जयनगर बजार खुला भएपछि यस गाउँका अधिकांश बासिन्दा उपभोग्य वस्तु खरिदका लागि पारि पुग्ने गरेका छन् । पारि ओहोरदोहोर गरेका एक संक्रमितको नजिकको सम्पर्कमा इतिहास केलाउँदै परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

भारतसँग सीमा जोडिएको सिरहाको भगवानपुर गाउँपालिकामा संक्रमणको उच्च जोखिम छ । सीमाबाट ओहोरदोहार र तस्करी बढेपछि यो गाउँमा संक्रमणको जोखिम बढेको हो । यस गाउँपालिकाको अभयनगर नाकाबाट मदिरा पारि तस्करी हुने र पारिबाट लागूऔषध वारि भित्रिने गरेको स्थानीय बताउँछन् । पारि लौकाहा बजार खुला भएपछि सीमामा ओहोरदोहार बढेको हो ।  

संघ सरकार मातहत रहेका प्रमुख जिल्ला अधिकारीले समन्वय नगरिदिँदा संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले लिएका कतिपय निर्णय कार्यान्वयनमा चुनौती देखिएको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए । सरकारको प्रवक्तासमेत रहेको मन्त्री यादवले भने, ‘केही जिल्लाका सिडिओले हामीसँग अत्यन्त सघन समन्वय गरेर काम गरिरहेका छन् ।  

केहीले निषेधाज्ञा लगाउँछन्, हटाउँछन्, हामीलाई बताउन समेत आवश्यक ठान्दैनन् ।’

केही सुरक्षा प्रमुखले समेत समन्वय नगर्दा सीमामा कडाइ हुन सकेको छैन । सीमामा कडाइ गर्न संघ सरकार मातहतको प्रहरी प्रशासन चुक्दा यस प्रदेशमा कोरोना संक्रमणले भयावह रूप लिएको यादवको भनाइ छ । ‘यस प्रदेशमा संक्रमण भयावह हुनुमा अरू कारण पनि छन तर प्रमुख कारण सीमामा भएको चुक नै हो’, उनले भने ।  

बढ्दै संक्रमण
प्रदेश २ मा कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएको छ । ज्येष्ठ नागरिक तथ दीर्घरोगी कोरोना संक्रमणको पहिलो सिकार बन्ने गरेको पाइएको छ । लक्षणसहितका संक्रमितको संख्या बढ्दै गएपछि आइसियू र भेन्टिलेटर अभाव चुलिएको छ । आइसोलेसन भरिएपछि होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दैछ । बुधबारसम्म यस प्रदेशमा संक्रमित ९ हजार ५ सय ५१ जना पुगेका छन् । मृतकको संख्या ७२ पुगेको छ । चार हजार ४ सय ९६ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित: १३ भाद्र २०७७ ०२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App