कोरोना संक्रमण फैलिन नदिन मुलुकका विभिन्न जिल्लामा अत्यावश्यकबाहेकका गतिविधि निषेध गरिए पनि पूर्णतः कार्यान्वयन हुन सकिरहेको छैन । मानिसका लापर्बाहीले संक्रमण रोक्ने सरकारी अभियानमा नकारात्मक असर परिरहेको छ ।
काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार जानकारी हुँदाहुँदै पनि मानिसले सरकारी आदेश र स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने गरेको पाइएको छ ।
जथाभाबी हिँडडुल गर्नेदेखि अनावश्यक रूपमा सवारीसाधन चलाउने देशभर नै भेटिएका छन् । कतिपय भने मास्क नै नलगाई हिँड्ने गरेको समेत पाइएको महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।
मानिसको अटेरीपनका कारण जोखिम बढ्ने भएकाले त्यसविरुद्ध थप कडाइ गरिएको उनले बताए । ‘निषेधाज्ञाको समयमा अत्यावश्यक कामका लागि सहजीकरण गरिएको छ, यस्तो अवस्थामा अत्यावश्यकका नाममा अनावश्यक घुमफिर भएकोसमेत पाइयो, त्यस्ता गतिविधि रोक्न छड्के जाँच सुरु गरिएको छ,’ महाशाखा प्रमुख ढकालले रासससँग भने ।
निषेधाज्ञा उल्लङ्घन हुन थालेपछि ३ दिनदेखि उपत्यकाका १ सय २० स्थानमा हुने छड्के जाँचका लागि १ सय २० प्रहरी परिचालन गरिएको छ । उक्त टोलीले अत्यावश्यक सेवाका लागि हिँडेकाहरूको गतिविधिसमेत निगरानी गर्नेछ ।
त्यस्ता गतिविधि गर्ने २ हजार १४ जना कार्बाहीमा परेका छन् । मुख्यगरी प्रहरीको उपस्थिति नभएका ठाउँबाट अत्यावश्यक भनेर अनावश्यक रूपमा गाडी चलाउने पाइएको छ । नक्कली परिचयपत्र बनाएर हिँड्ने, अत्यावश्यक कामका लागि हिँडेको भनेर ढाँट्ने र बन्दाबन्दीका बेलाको सवारी पास बोकेर हिँड्नेसमेत फेला परेका छन् ।
काम नभईकन बैंकको कार्ड भिरेर अन्तै घुम्न हिँडेका व्यक्तिसमेत फेला परेको महाशाखाले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक ढकालले ट्राफिक प्रहरीले उपत्यकामा सामाजिक सचेतनाका कार्यक्रमलाई समेत सँगै अघि बढाएको जानकारी दिए ।
ट्राफिक नियम पालना गर्न, अनिवार्य मास्क प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न अनुरोध गर्दै विभिन्न चोकमा प्रचारात्मक साइन बोर्ड राख्न थालिएको छ । महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा निषेधाज्ञाको एक सातामा ७ हजार १ सय ६३ सवारीसाधनलाई ‘होल्ड’ मा राखेर कार्बाही गरिएको छ ।
त्यसमा ८० प्रतिशत मोटरसाइकल रहेको प्रहरीले जनाएको छ । दुई दिनमा मात्रै अत्यावश्यक काम भनेर अनावश्यक रूपमा हिँड्ने १ हजार १ सय २ जनालाई कार्बाही गरिएको छ । बिहीबार मात्रै ३ सय ६ जनालाई नियन्त्रणमा लिइसकिएको छ ।
निषेधाज्ञा उल्लङ्घन रोक्न उपत्यकाका ४५ स्थानमा संयुक्त रूपमा अस्थायी सुरक्षा चौकी स्थापना गरी निगरानी गरिएको छ । यस्ता गतिविधिले कोभिड–१९ फैलिने भएकाले संयम हुन र अत्यावश्यक काम नपरी बाहिर ननिस्कन प्रहरीले सबैमा अनुरोध गरेको छ ।
उपत्यकाका तीन जिल्लामा यही भदौ १७ गतेसम्मका लागि निषेधको आदेश जारी गरिएको छ । निषेधाज्ञाका समयमा अत्यावश्यकबाहेक गतिविधि पूर्ण रोक लगाइएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आदेशको पूर्ण पालना गरी रोगको संक्रमण रोक्ने सरकारी अभियानमा सहयोग गर्न सबैमा आग्रह गरे ।
पछिल्लो समय नेपालमा कोभिड–१९ को संक्रमण बढिरहेको छ । उपत्यकामा समेत संक्रमण दर बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा दैनिक २०० देखि ३०० को हाराहारीमा नयाँ सङ्क्रमित थपिइरहेका छन् । सरकारले गत साउन ६ गतेदेखि बन्दाबन्दी अन्त्य भएको घोषणा गरेको थियो । त्यसपछि मानिसको आवागमन ह्वात्तै बढ्दा संक्रमण बढेको जनस्वास्थ्यविज्ञको भनाइ छ । एक महिनाका अवधिमा नजानिँदो रूपमा संक्रमण र मृत्युदर बढिरहेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मास्क अनिवार्य लगाउने, सामाजिक दूरी कायम गर्ने, भीडभाडमा नजाने र राम्ररी साबुनपानीले हात धुने गर्दा कोभिड–१९ बाट बच्न सकिने बताए । आफूबाहेक अरू सबै सङ्क्रमित छन् भन्ने सोचेर सावधानी अपनाउने हो भने संक्रमण फैलनबाट रोक्न सकिने उनको भनाइ छ ।
प्रकाशित: ११ भाद्र २०७७ ११:५८ बिहीबार