८ वैशाख २०८१ शनिबार
समाज

जेष्ठ नागरिकको स्वास्थ्य बुझ्न घरघरमा स्वास्थ्यकर्मी

जेष्ठ नागरिकलाई घरैमा पुगेर स्वास्थ्य जाँच गर्दै शहिदलखन गाउँपालिका ७ का स्वास्थ्यकर्मी।

कोभिड १९ को त्रास वृद्धवृद्धा र बालवालिकालाई धेरै छ। संक्रमित मध्ये पनि कोभिडका कारण मृत्यू भएका अधिकाशं वृद्धवृद्धा छन्। वृद्धवृद्धालाई जोखिम धेरै हुने भएपछि गोरखाको शहिदलखन गाउँपालिकाले पालिका भरीका ७० वर्ष उमेर नाघेकालाई घरघरमा पुगेर स्वास्थ्य जाँच सुरु गरेको छ।

‘स्वास्थ्य अवस्था के छ, जोखिम कस्तो छ, दिर्घ रोग छ या छैन भन्ने बारे हामीले जाँच गरेर पहिचान गर्छौँ’ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले भने ‘भदौ पहिलो सातादेखि सुरु भएको सेवा हरेक स्वास्थ्य संस्थाले आफू अनुकुल संचालन गरिरहेका छन्।’ गाउँपालिका भित्र करिब दुई हजार पाँच सय जना ७० वर्ष उमेर कटेका जेष्ठ नागरिक रहेका छन्। गाउँ सभाले नीति तथा कार्यक्रममा चालु वर्षदेखि जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिने योजना अनुसार कार्यक्रम संचालन भएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए। ‘वृद्धवृद्धाको स्वास्थ्य अवस्था बारे जानकारी लिएर उनीहरुलाई कसरी सहज सेवा दिन सकिन्छ भन्ने बारे हामीलाई थाहा हुन्छ’ अध्यक्ष थापा मगरले भने ‘स्वास्थ्यमा दिर्घकालीन योजना बनाउन समेत मद्धत पुग्छ।’ जेष्ठ नागरिकलाई उपचार गर्न जान समस्या हुने, खर्च धेरै लाग्ने सोचले रोग पालेर बस्ने समस्या पनि छ।  

गाउँपालिकाले दिर्घरोग रहेका जेष्ठ नागरिक कसले कुन प्रकारको औषधि सेवन गर्छन् भन्ने यकिन गरेर निःशुल्क बितरण गर्ने योजना बनाएको छ। नौ वटा वडा रहेको शहिदलखनमा हरेक वडामा स्वास्थ्य संस्था छ। वडामा रहेको स्वास्थ्य संस्थाका कर्मचारीले आफ्नो सेवा क्षेत्र भित्र रहेका जेष्ठ नागरिकलाई घरघरमा पुगेर भेट्ने, स्वास्थ्य जाँच गर्ने गर्छन्। ‘सुगर, प्रेसर जाँच पनि गर्छौँ’ स्वास्थ्य संयोजक श्रेष्ठले भने ‘स्वास्थ्य संस्था सम्म जान नसक्ने जेष्ठ नागरिकलाई पनि सजिलो हुन्छ।’ स्वास्थ्यमा भएका समन्य समस्यालाई बेवास्था गरेर बसेका जेष्ठ नागरिकलाई सचेत गराउँदै केही केही लऔषधी पनि निशुल्क दिइने गरेको उनले बताए। जेष्ठ नागरिकको स्वास्थ्य अवस्थाको बारेमा परिवारलाई जानकारी दिँदा समयमै उपचार गराउन र हेरचाह, खानपिनमा पनि सहजता आउने अपेक्षा गाउँपालिकाको छ।  

बुधवार शहिदलखन गाउँपालिकाको वडा नम्बर ७ मा बुङ्कोट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले टोलटोलमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य जाँच गरेका वडा अध्यक्ष शरण श्रेष्ठले बताए। ‘वडाबासी वृद्धवृद्धा घरैमा स्वास्थ्यकर्मी पुगेपछि खुसी भएका छन’ उनले भने।

 

 

 

 

प्रकाशित: ११ भाद्र २०७७ ०८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App