coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खाद्यान्न सकिएपछि गाउँ घुम्न बाध्य

रोगभन्दा भोक ठूलो

‘घरमा एक मुठ्ठी अन्न छैन, खेतबारीमा लगाएको धान, कोदो र मैकै पाक्ने समय भएको छैन। किन्नलाई पैसा छैन, साहुले उधारो दिँदैनन्,’ कोरोना भारइसभन्दा ठूलो भोक ठानेर रोगको प्रवाह नगरी आफ्नै हातले बुनेका डोका बोक्दै घर दैलोमा बेच्न हिँडेको मष्टा गाउँपालिका–२ तुतिकी ४३ धनसारा बोहराको दुखेसो छ, ‘कोरोना लागेर मान्छे मरेको खबर नसुनेको पनि होइन। गाउँमा कोरोनाको त्रास छ। रोग लाग्ने डर मानुँ भने खानलाई अन्न छैन।’ उनले आलु र फर्सी खाँदै चार दिन कटाएको भए पनि त्यो पनि सकिएपछि सातजनाको परिवारमा केही खानेकुरा नभएको बताइन्। उनले भनिन्, ‘सापटी माग्दा कसैले पत्याउँदैन, गाउँमा अन्य रोजगारी छैन।’

विकटको गाउँमा उब्जनी पनि राम्रो हँुदैन। गाउँमा रोजगारी नपाइए पनि गएका वर्षमा लेकमा गएर जडिबुटी संकलन गरेर खाद्यान्न र औषधि उपचारका लागि खर्चको जोहो गर्दै आएको भए पनि यो वर्ष गाउँपालिकाले लेकमा जान रोक लगाएपछि आम्दानीको बाटो बन्द भएको स्थानीय बीना धामीले बताइन्। उनले भनिन्, ‘हामी गरिबका लागी सरकार छैन। हुने खाने र पुहँचबालाको हालीमुहाली छ। चुनावको समयबाहेक अन्य समयमा हामीसँग पीडा बुझ्न कोही आउँदैनन्।’ उनले पहिरोले आफ्नो गोठ र कोदो बाली बगाउँदासमेत कसैले चासो नदिएको बताइन्। उनले भनिन्, ‘आफ्नो ज्यान जोखिममा राखेर भए पनि परिवार पाल्न कहिले जंगल त कहिले सहर र गाउँ डुल्नुपरेको छ। खेतबारीबाट उब्जेको अन्नले तीन महिना पनि खान पुग्दैन।’

बझाङमा कोरोना पोजेटिभको संख्या ३ सयभन्दा बढी पुगेको छ। तर गरिबको चुह्लो नबोलेपछि उनीहरू रोगको वास्ता नगरी गाउँ घुम्न थालेका छन्। कोरोनाका कारण चैतदेखि विद्यालय बन्दा हँुदा स्कुले बालबालिकासमेत आमासँगै डोको बिक्रीका लागि गाउँगाउँ जाने गरेको उनीहरूको भनाइ छ।  

धनसरा र बीना त उदाहरण मात्र हुन्। उनी जस्तै धेरैजना जंगलबाट निगालो ल्याउने र घरमा आए आफू वा परिवारको सहयोगमा डोका, डालालगायतका सामग्री बनाएर जीविका गरिरहेका छन्। उनीहरूलाई स्थानीय, प्रदेश र केन्द्र सरकारले कुनै पनि सहयोग गरेको छैन। जसका कारण उनीहरूमा गाउँ डुल्दा कोरोनाले नभेट्ला भन्न सकिँदैन। जिल्ला प्रशासन र स्थानीय सरकार थलारा गाउँपालिकाले वडा नम्बर ५ र केदारस्यु गाउँपालिकाले ६ र ७ लाई साउन १८ देखि ३२ सम्म प्रतिबन्ध गरेको थियो। जिल्लामा रोगारीका लागि भारत गएका बझाङवासी विभिन्न नाका भएर अहिलेसम्म १२ हजारजना जिल्ला भित्रिइसकेको र उनीहरूका कारण कोरोना रोगको खतरा निकै बढेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमले बताए।

प्रकाशित: ११ भाद्र २०७७ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App