६ वैशाख २०८१ बिहीबार
समाज

कोरोनाको बहानामा मजदुर र गाडी चालकमाथि दुर्व्यवहार

देशकै प्रमुख औद्योगिक करिडोरको रूपमा रहेको वीरगन्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत सिमरामा सञ्चालित उद्योगमा काम गर्न आउने मजदुर र कच्चा पदार्थ लिएर आउने गाडीका चालकमाथि दुर्व्यवहारका घटना बढ्दै गएपछि उद्योग सञ्चालनमै समस्या आएको उद्योगीको गुनासो आउन थालेको छ।

कोरोना भाइरस संक्रमण फैलाएको बहानामा उद्योगमा काम गर्ने आउने नेपाली मजदुरलाई भारतीय नागरिक भनेर नियन्त्रणमा लिने र भारतीय गाडीका चालकलाई पनि नियन्त्रणमा लिएर जबरजस्ती क्वारेन्टिन गर्न बाध्य बनाइँदा सिमरामा उद्योग सञ्चालन गर्नमा समस्या आएको हो।

सिमराका केही स्थानीयले दिनहुँ मजदुर र कच्चा पदार्थ ढुवानी गर्ने भारतीय गाडीका चालकमाथि दुर्व्यवहार गर्दै आए पनि स्थानीय प्रहरी प्रशासन मौन बस्दै गरेको अरोप उद्योगीहरूले लगाएका छन्। भदौ ५ गते हुलास स्टिल उद्योगका लागि भारतबाट कच्चा पदार्थ लिएर आएका पाँचवटा भारतीय गाडीलाई सिमराका केही स्थानीयले उद्योगको गेटमै घण्टाैं रोकेका थिए।

हुलास स्टिलका प्रशासन प्रबन्धक अखिलेश सिंहले कच्चा पदार्थ लोड गरेर आएको गाडी गेटमै रोक्नुका साथै उद्योगभित्रसमेत स्थानीय प्रवेश गरेको बताए। बाहिरबाट आउने गाडीलाई सेनिटाइज गरेर मात्रै छाड्ने व्यवस्था गरेको देखाएपछि बल्ल स्थानीय उद्योगबाहिर निस्केको सिंहले बताए। भदौ ४ गते राति जगदम्बा स्टिल उद्योगका लागि भारतबाट कच्चा पदार्थ लोड गरेर आएका पाँचवटा भारतीय गाडीका चालकलाई सिमराका केही स्थानीयले नियन्त्रणमा लिएर क्वरेन्टिनसमेत  गरेका थिए।

भारतबाट आएकै बहानामा भारतीय गाडी चालकलाई जबरजस्ती क्वरेन्टिन गरेको भन्दै विरोध सुरु भएपछि शुक्रबार दिउँसो आफंै ती चालकलाई छोडिएको जगदम्बा स्टिलका प्रशासन प्रबन्धक कुमुदराज ढकालले बताए। साउन २८ गते बुधबार राति जगदम्बा स्टिलमा सुक्खा बन्दरगाहबाट ट्रकमा लोड गरिएको कच्चा पदार्थ अनलोड गर्न ती ट्रकमै चढेर आएका २७ जना नेपाली मजदुरलाई भारतीय मजदुर भनेर रातभर नियन्त्रणमा राखिएको गुनासो ढकालले गरे।

भारतीय भनेर नियन्त्रण राखिएका मजुदर जितपुरसिमरा उपमहानगरपालिका बलुवा, हरिपुर टोलका र परवानीपुर गाउँपालिकामा घर  भएका थिए।

मधेसी समुदायका मजदुरलाई भारतीय भनेर नियन्त्रणमा लिएको कुरा थाहा पाएपछि सो क्षेत्रबाट निर्वाचित सांसद रामएकवाल मियाँले विरोध गरेका थिए। त्यसपछि उनीहरूलाई बिहान मात्रै  छाडिएको थियो।  

सिमराका स्थानीयले कोरोनाको बहानामा मधेसी समुदायका मजदुरलाई भारतीय भनेर नियन्त्रणमा लिने र भारतीय गाडी रोकेर चालकलाई दुव्र्यवहार गर्ने यी घटना उदाहरण मात्रै हुन्। जगदम्बा स्टिल प्रालिका सञ्चालक पनवबाबु गुप्ताले उद्योगमा काम गर्ने मजदुर र भारतबाट कच्चा पदार्थ लिएर आउने गाडीलाई जसरी भए पनि कुनै न कुनै बहाना गरेर रोक्ने र दुव्र्यवहार गर्ने काम गर्ने सिमरामा भइरहेका  गुनासो गरे।

उद्योग चलेन भने तीन हजार जति मजदुरहरूलाई बसाएरै तलब दिनुपर्ने र चलायो भने स्थानीयले मजदुर र गाडी चालकलाई नियन्त्रणमा लिने कार्यले नयाँ समस्या थपिएको गुप्ताले बताए। सरकार र स्थानीय प्रशासनले दिएको निर्देशिका पालना गरेको अवस्थामा पनि उद्योग सञ्चालनको वातावरण नभएको गुप्ताले बताए।  

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले उद्योगमा काम गर्ने मजदुर र कच्चा पदार्थ लिएर आउने भारतीय गाडीका चालकलाई सडकमै रोक्ने र उद्योगसम्म प्रवेश गर्न समस्या दिनेलाई कारबाही गरिने बताएका छन्। सिमराका केही स्थानीयबाट त्यस क्षेत्रमा रहेको उद्योगमा काम गर्ने मजदुर, भारतीय गाडीका चालकसँग नराम्रो व्यवहार गरेको सुन्नमा आएको र त्यसबारे बुझ्ने काम सुरु गरिएको प्रजिअ पण्डितले बताए।

उद्योगहरू रहेको जितपुरसिमरा उपमहानगरपालिका प्रमुख डा. कृष्ण पौडेलले उद्योगले कोरोना नियन्त्रण गर्न लागु गरिएको मापदण्ड पूरा गरे वा नगरेको अनुगमन गर्ने अधिकार स्थानीय तहलाई भए पनि सिमरामा स्थानीयले आफैं अनुगमन गर्ने गरेको बताएका छन्। कतिपय  उद्योगले मापदण्ड पूरा नगरी उद्योग सञ्चालन गरेको र त्यसलाई स्थानीयले रोक्न खोज्दा यस्तो समस्या आएको उनले बताए। उद्योगी र स्थानीयबीच राम्रो सम्बन्ध नभएकै करण अहिले सिमरामा यस्ता घटना भइरहेको उनको भनाइ छ। कोरोना भाइरस र प्रदुषण नियन्त्रण गर्न स्थानीयले उद्योगलाई र उद्योगले स्थानीयलाई सहयोग गरेर अगाडि बढनुपर्ने प्रमुख पौडेलले बताए।

प्रकाशित: ७ भाद्र २०७७ ०१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App