१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जसले कोरोना संक्रमितको उपचार गर्दै तीज मनाए

लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरुले कोरोना सम्बन्धी सचेतनामूलूक तीज गीत गाउँदै।

शुक्रबार हिन्दु नेपालीहरुको महत्वपूर्ण पर्व तीज।  तर, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नर्सिङ इच्जार्ज ज्योती पौडेललाई भने तीजको कुनै प्रवाह थिएन। बरु बुटवल धागो कारखाना स्थित कोरोना बिशेष अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीकै चिन्ता थियो।  त्यसैले शुक्रबार एकाविहानै अस्पताल पुगिन्।  आइसियूमा रहेका प्यूठानका कोरोना संक्रमित ६४ वर्षिय विरामीलाई निको पार्न   विहानै उपचारमा खटिएकी थिईन उनी।  

‘मैलै त आज तीज हो भन्ने पनि हेक्का राखिन, एका विहानै कोरोना संक्रमित बिरामीको मृत्यू भयो, यसैको व्यवस्थापनमा दिन बित्यो’ पौडेलले भनिन।  उनी नर्सिङ इन्चार्ज भएकाले कोरोना संक्रमित बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मी (नर्सहरु) को व्यवस्थापन गर्नुपर्छ।  त्यसैले राती अबेर र विहान सबेरै अस्पताल पुग्नु उनको नियमित काम भित्र पर्छ।  

समु्दाय तहमा कोरोना फैलिन थालेपछि हाम्रो जिम्मेवारी बढेको छ, तीज अर्को वर्ष मनाए पनि हुन्छ, तर कोरोना संक्रमितको सेवा रोक्न मिल्दैन नर्सिङ इन्चार्ज पौडेलले भनिन –‘दर खाने दिन विहिबार पनि रातीसम्म सेवामै थियौं। ’  

पौडेलले एक वर्षको दुधे बच्चालाई घरमा छाडेर कोरोना संक्रमितको उपचारमा खटिएकी छन्।  ‘अघिल्ला वर्षहरुमा तीजले एक महिना अगाडिदेखि छुन्थ्यो, तर यो वर्ष त दिमागमा पनि तीज भन्ने सम्झना आएन, बिरामीसँगै बित्यो यो वर्षको तीज’ उनले भनिन।  बुटवल धागो कारखाना स्थित कोरोना बिशेष अस्पतालमा मात्रै ३७ जना नर्सहरु छन्।  यसमध्ये २० जना नर्सहरु अहिले नियमित डयूटीमा छन्।  अस्पतालमा दुई हप्ता काम गरेपछि एक हप्ता क्वारेन्टीन बसेर फेरी नियमित सेवामा खट्ने गरेका छन्।  ‘आमाले तीज आयो भनेर त फोन गर्नुभएको थियो, तर मेरो लागि विरामीको सेवा नै ठूलो हो’ कोरोना बिशेष अस्पताल आइसियू कक्षमा खटिएकी नर्स लक्ष्मी ज्ञवालीले भनिन्।  

आइसियू कक्षमा पछिल्ला दिनमा बिरामीको संख्या समेत बृद्धि हुँदै गएकाले सेवामै नियमित खटिएको उनले बताईन।  तीजको बेलामा नियमिति डयूटीमा खटिएकी लक्ष्मीले ३ वर्षको बच्चालाई छाडेर १० दिनदेखि लगातार अस्पतालमै सेवामा खटिएको बताईन।  १४ दिन लगातार डयूटी गरेपछि एक आइसोलेशन र एक हप्ता घरमा बस्न पाउने नियम छ।  बैशाखदेखि लक्ष्मी कोरोना अस्पतालमै खटिएकी छन्।  माईती सिमलार र घर बुटवल लक्ष्मीनगर हो।  

‘तीज वर्षदिनमा आउने चाड त हो तर अहिले अस्पतालमा कोरोना संक्रमित बढेका छन, त्यसैले यस्तो बेलामा आफ्नो बारेमा सोँच्ने त फुर्सद पनि भएन’ उनले भनिन्।  कोरोना अस्पतालमा अग्रपंक्तीमा नर्सहरु नै खटेका छन्।  

यो वर्ष नर्सहरुले बिरामीको सेवा गरेरै तीज मनाएका छन्।  कोरोना बिशेष अस्पतालमा कार्यरत नर्सहरुले कोरोना संक्रमिति बिरामीको सेवा गर्दै दर खाएका छन् भने लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरुले पनि विरामीको उपचारमा खटिएरै तीज मनाएका छन्।  लुम्बिनीमा करिव २ सय नर्सहरु छन्।  प्रदेश ५ का अधिकांश आइशोलेनशन र कोरोना बिशेष अस्पतालमा खटिएका नर्सहरुले आफ्नो परिवारलाई भन्दा कोरोना संक्रमितको सेवालाई प्राथमिकता राखेका छन्।  जसका कारण तीजमा पनि विरामीकै सेवामा समर्पित भएर तीन पर्व मनाए।  

समाजमा कोरोना संक्रमितलाई तिरस्कार गर्ने गरेको खबर आइरहेको बेला बुटवलका नर्सले भने सचेतना जगाउँदै गीत समेत गाएका छन।  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कार्यरत नर्सहरुले कोरोना सम्बन्धी सन्देशमूलक तीज गीत समेत गाएका छन्।  

कोरोना संक्रमितको उपचारमा खटिएका नर्सिङ इन्चार्ज ज्योती पौडेल, नर्सहरु टिका भट्टराई, मिना पौडेल र जमुना पन्थीको रचनामा कमला ज्ञवाली, विष्णु पन्थी, प्रतिमा श्रेष्ठ, कमला कार्की, माधुर्य ज्ञवालीको सहभागितामा कोरोना सम्बन्धी सन्देश दिने गरि भिडियो गीत समेत निर्माण गरिएको छ।  उक्त भिडियोलाई प्रदेश ५ सामाजिक विकास मन्त्रालयको नियमित कोरोना अपडेटमा समेत देखाइएको थियो।  

 

 

 

 

प्रकाशित: ५ भाद्र २०७७ ११:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App