coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गाउँमा रित्तिँदै क्वारेन्टिन, सहरमा बढ्यो त्रास

कोरोना संक्रमणले तीव्र गति लिन थाल्दा तराईका क्वारेन्टिन भरिभराउ थिए। नाकाबाट आउजाउ सहज भएपछि पहाडमा पनि भारतबाट आउने युवाहरूको संख्या थपिँदा क्वारेन्टिन खचाखच भए। गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, बागलुङ, तनहुँ, गोरखालगायत जिल्लाका स्थानीयस्तरमा रहेका क्वारेन्टिनमा भारतबाट फर्किएका युवाहरूको दुई महिनाअघिसम्म ठूलो भीड थियो। तर अब ती क्वारेन्टिन रित्तिँदै जान थालेको प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ।

निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार हाल प्रदेशभित्र क्वारेन्टिनमा रहेकाको संख्या ११ सय ५० मात्र रहेको छ। अहिलेसम्म प्रदेशका विभिन्न जिल्लामा भारतबाट आउनेको संख्या १२ हजार ९ सय १५ रहेको छ। त्यस्तै भारतबाहेक तेस्रो मुलुकबाट प्रदेशमा भित्रिनेको संख्या ६ हजार १ सय ९८ रहेको छ। अहिलेसम्म नेपालबाहिरबाट गण्डकीमा भित्रिएकाहरूको कुल संख्या १९ हजार १ सय १३ रहेको निर्देशक शर्माले बताए।

‘अहिले भारतबाट आउनेको संख्या कम छ,’ उनले भने, ‘आन्तरिक आउजाउले भने संक्रमण बढाएको देखिन्छ।’ पोखरा सबैतिरको ट्रान्जिट सहर भएकाले पनि पछिल्लो समय संक्रमण बढिरहेको उनले बताए। ‘सुरुसुरुमा त गाउँमा निकै नै डर भयो तर अहिले अधिक त्रास सहरमा छ,’ उनले भने, ‘क्वारेन्टिन खालि हुँदै गएकोले गाउँमा केही जोखिम घटेजस्तो देखिए पनि पुरै ढुक्क हुने अवस्था भने छैन।’

आइसोलेसनमा २५० बेड थपिने

कोरोना संक्रमण बढ्दै जान थालेपछि यहाँका विभिन्न अस्पतालमा आइसोलेसन बेडको संख्या थप्ने तयारी भएको छ। यसअघि विभिन्न अस्पतालमा रहेका आइसोलेसन बेड बिरामीले भरिएपछि थप २ सय ५० बेड संख्या थप्ने तयारी भएको हो। भदौ १५ गतेभित्र ती बेड थपिसक्ने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ।

निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज शर्माका अनुसार अहिले पोखराका तीन ठाउँमा आइसोलेसन बेड राखेर बिरामीको उपचार भइरहेको छ। तर संक्रमण बढ्दै जाँदा ती अस्पतालका आइसोलेसनले अपुग हुने देखिएपछि बेड संख्या थप्न थालिएको शर्माले बताए। शर्माका अनुसार लेखनाथस्थित संक्रमण तथा सरुवा रोग अस्पतालमा अहिले ४० बेड रहेकोमा त्यहाँ ५० बेड थपेर ९० पु¥याउने तयारी भएको छ। त्यसैगरी कृषि तालिम केन्द्रमा पनि ५० बेड थप्ने तयारी भएको छ। कृषि तालिम केन्द्रमा पनि ४० बेड रहेकोमा थपेपछि ९० पुग्नेछ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भने अहिलेसम्म ४० वटा आइसोलेसन बेड रहेकोमा अब ७० वटा थपेर १ सय १० पु¥याउने तयारी भएको शर्माले बताए। ‘पोखराभित्र १ सय ७० संख्यामा आइसोलेसन बेड थप्ने तयारी भएको छ,’ उनले भने, ‘बाँकी केही अन्य जिल्लाका अस्पतालमा पनि थप हुनेछन्।’ विभिन्न जिल्लामा संक्रमण बढ्दै जान थालेपछि आइसोलेसन बेड अभाव हुने सम्भावना रहेपछि अरु बेड थप्नुपरेको उनले बताए। ‘अप्ठेरो प¥यो भने प्रदेशको सबैभन्दा ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नै पूर्ण रूपमा प्रयोगमा ल्याउनुपर्ने हुन्छ,’ उनले भने, ‘अरू बिरामीलाई मर्का नपरोस् भनेर क्षेत्रीय अस्पताललाई सकेसम्म कम प्रयोगमा ल्याउन खोजिएको हो।’ क्षेत्रीय अस्पताल ५ सय बेडको छ।

नयाँ आइसोलेसन बेड थपिँदा भौतिक पूर्वाधार थप्नुपर्ने उनको भनाइ छ। आइसियुसहित बेड, कर्मचारीसहितका भौतिक पूर्वाधार आवश्यक पर्ने र दुई साताभित्र ती संरचना थपिसक्ने उनले बताए। प्रदेशभरि अहिले २ सय ९ जना सक्रिय संक्रमित आइसोलेसनमा छन्। अहिले पोखराका २० संक्रमित घरमै आइसोलेसनमा छन्। त्यस्तै पाँचजना होटलका आइसोलेसनमा छन्। सरकारले तोकेको स्वास्थ्य प्रोटोकलअनुसार पूर्वाधार भए घरमै पनि आइसोलेसनमा बस्न सकिने भएकाले २० जना घरमै आइसोलेसनमा रहेको शर्माले जानकारी दिए। त्यही अवस्था होटलमा पनि लागु हुने उनले बताए। त्यस्तै तनहुँमा पनि दुईजना संक्रमित घरमै आइसोलेसनमा छन्।

प्रकाशित: ५ भाद्र २०७७ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App