८ वैशाख २०८१ शनिबार
समाज

कोरोनाको उच्च जोखिममा सडक सफाइ कर्मचारी

वीरेन्द्रनगरको फोलेन सडकमा सडक सफाइ गर्दै बलबहादुर खत्री । तस्बिरःगणेश विशु/नागरिक

वीरेन्द्रनगर–१० पिपिराका ३४ वर्षीय बलबहादुर खत्रीले वीरेन्द्रनगरको चार लेन सडक सफाइ गर्दै आएका छन् । उनको मुखमा पुरानो माक्स छ । हातमा पन्जा छैन । सडक छेउ तथा नालामा गुट्का खाएर यत्रतत्र फालिएका फोहोर र माक्स छन् । उनले उक्त फोहोर उठाउनै पर्छ । विश्वभरि फैलिएको कोरोना भाइरस संक्रमित व्यक्तिले प्रयोग गरेका माक्स वा अन्य फोहोर त्यहाँ फालेको भए उनलाई पनि संक्रमण हुने निश्चित जस्तै छ । किनकी उनले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्ने कुनै पनि स्वास्थ्य सुरक्षा अपनाएर काम गरिरहेका छैनन् ।

उनी मात्र होइन वीरेन्द्रनगरका सडक सफाइ कर्मचारी (लेन्थ वर्कर) कोरोना भाइरसको उच्च जोखिममा छन् । सडक डिभिजन कार्यालयले स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध नगराउँदा उनीमा जोखिम बढी भएको हो । ‘सडकमा को कति बेला कसरी हिँड्न थाहा हुँदैन,’ सडक सफाइ कर्मचारी बलबहादुरले भने, ‘काम गर्दै गर्दा कतिपय नजिकै भएर जान्छन् ।’ सडकमा फालिएका फोहोर घाँसपात सफा गर्दा कोरोना संक्रमण जोखिम बढेको उनले बताए । उनका अनुसार सडक डिभिजन कार्यालयले हालसम्म दुईवटा मात्र सर्जिकल माक्सबाहेक अन्य स्वास्थ्य सुरक्षा सामग्री दिएको छैन ।

वीरमले नेपाली पनि बिहान ८ देखि साँझ ५ बजेसम्म सडक सफाइको काम गर्छन् । उनलाई कोरोना भाइरसबाट बच्न सामाजिक दूरी कायम गर्नुपर्ने, कुनै वस्तु वा सामान छुँदा साबुनपानीले हात धुनुपर्ने वा त्यो सम्भव नभए सेनिटाइजर लगाउनुपर्ने, बेलाबेलामा साबुन पानीले मिचिमिची हात धुनु पर्ने, खाना वा खाजा खाँदा अनिवार्य साबुनपानीले हात धुनुपर्ने कुराको जानकारी छ । तर विडम्बना दिउँसो खाजा खाँदा साबुनपानीले हात धुन पाउँदैनन् । ‘दिनमा खाजा खाँदा राम्रो सँग हात धुन पाइँदैन,’ उनले भने, ‘बाटोमा पानी हुँदैन । खाजासँग खान ल्याएको पानीले हात मात्र भिजाएर खान्छु ।’ यसरी खाजा खाँदा जोखिम हुन्छ भन्ने थाहा पाए पनि उनी असुरक्षित भएर खान बाध्य छन् । ‘साँझ घर जाँदा भने कपडा फेरेर नुहाउँछु,’ उनले भने, ‘तर डर भने लाग्छ ।’

कार्यालयमा कर्मचारीले पर्याप्त माक्स, सेनिटाइजर पाउने तर आफूहरूलाई केही वास्ता नभएको सडक सफाइ कर्मचारीको भनाइ छ । सरकारले आफूहरूलाई उपेक्षा गरेको उनीहरूले दुखेसो पोखे । यस्तो महामारीका बेला पनि असुरक्षित काम गर्नुपर्दा जोखिम बढेको अर्का सडक सफाइ कर्मचारी दलबहादुर रुचालले बताए । उनीहरूले बन्दाबन्दीको समय चैत ११ गतेदेखि वैशाख २५ गतेसम्म बिदा पाएका थिए ।

सडकमा सबैले जथाभावी फोहोर फाल्ने हुँदा सफाइ कर्मचारी कोरोनाको उच्च जोखिममा रहेको उनको भनाइ छ । ‘सरकारले स्वास्थ्य सुरक्षाका सामग्री दिनुपर्छ,’ वीरमले नेपालीले भने, ‘नत्र भने हामलाई बिदा दिनुपर्छ ।’ सडक सफाइ कर्मचारी एउटाले करिब तीन किलोमिटर सडक सफाइ गर्छन् । वीरेन्द्रनगरमा निधेषाज्ञा भए पनि उनीहरू जोखिम मोलेर काम गर्न बाध्य छन् । यहाँ समुदायस्तरमै कोरोना संक्रमण देखिएकाले सडक सफाइ कर्मचारीहरू त्रासमा छन् ।

 लकडाउनका बेला केही मास्क दिएको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी देवेन्द्र भट्टराईले जानकारी दिए । ‘हामीले सुरक्षित भएर काम गर्नुहोला भनेका छौं,’ उनले भने, ‘माक्स घरमा बस्दा पनि चाहिने भएकाले कर्मचारी आफैँले व्यवस्था गर्नुहोला भन्ने आशा राखेका छौं ।’ सडक विभागले पन्जा, हेलमेट, पानीमा लगाउने बुट र जुत्ता अरु बेलामा पनि उपलब्ध गराइरहेको उनले बताए । काम गर्दा आस्वस्त भएपछि कार्यालयमा जानकारी गराउन सडक विभागले सडक सफाइ कर्मचारीलाई भनेको छ।

प्रकाशित: ५ भाद्र २०७७ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App