सुस्तायो मनको वेग छटपटिई छोरी यता,
बाबाको सम्झिई माया भित्रभित्र कताकता ।
मान्छे हो जिन्दगी बाँच्ने सम्झँदै सम्झिएर आत्मीयता,
आशीर्वाद दिनुस् बाबा कोरोनाले फसेँ म त ।
कोरोनाको बढ्दो संक्रमणसँगै यातायात प्रभावित भएपछि माइती जान नपाएकी काठमाडौं नरदेवीकी चारुभा घिमिरेले कविताका पंक्तिमार्फत आफ्ना भावना व्यक्त गरिन् । स्थिति सामान्य भएको भए बुधबारको कुशेऔँसीका लागि उनी काठमाडौंबाट रामेछापको मन्थलीस्थित बाबा रामचन्द्र घिमिरेको साथमा हुन्थिन् । कुसेऔंसी हिन्दू परम्परामा भदौको अमावस्या तिथिका दिन मनाइने पर्व हो । यस तिथि बुवाको मुख हेर्ने दिनले चिनिन्छ ।
‘बाबाका चार सन्तान सबै काठमाडौंमै छौँ,’ उनले भनिन्, ‘सवारी साधन नचल्दा यसपटकको औँसीमा मुख हेर्न जान पाएनौँ ।’ चाडपर्व परिवार जोड्ने माध्यम बन्दै आएकामा यसपटक कोरोनाले त्यसमा अवरोध ल्याइदिएको उनले सुनाइन् ।
वैशाखमा आमाको मुख हेर्न समेत जान नपाएकी उनी यसपटक भने जान पाउनेमा आशावादी थिइन् । लामो समयसम्म कोरोनाको समस्या समाधान नहुँदा उनको यो आशा पूरा हुन सकेन । ‘माइतीमा गएर बाबा–आमाको मुख हेर्दा मात्र पनि वर्षभरिलाई पुग्ने खुसी मिल्थ्यो,’ उनले भनिन्, ‘यसपटक त्यो पूरा हुन पाएन । बाबा फेसबुकमा अभ्यस्त नभएका कारण भिडियोमा समेत अनुहार हेर्न मुस्किल पर्ने उनले सुनाइन् ।
मन्थलीमा रहेका रामचन्द्र घिमिरे छोरी आउन नपाउने खबरले दुःखी तुल्याएको सुनाउँछन् । ‘चेलीबेटी भनेका घरका उज्याला हुन्,’ उनले भने, ‘उनीहरू नआउने खबरले मात्र पनि घर अँध्यारो भइसकेको छ ।’ छोरीहरू आशा र भरोसा समेत भएको बताउँदै उनले उनीहरू नआउने खबरले नरमाइलो लागेको सुनाए । ‘कोरोनाका बेला झन् छोरीहरूले दिएको भरोसाले साहस बढाउँथ्यो,’ उनले थपे, ‘तर समयले त्यो पनि सम्भव बनाएन ।’
दाङ माइती भएकी सीता एमसीको समस्या पनि चारुभाको जस्तै छ । काठमाडौंको मूलपानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत उनको माइती जाने रहर पनि कोरोना कहरले पूरा हुन सकेन । ‘एक वर्ष भइसक्यो, माइत जान नपाएको,’ उनले भनिन्, ‘चाड–पर्वमा जाने रहर यसपटक पूरा हुन पाएन ।’ औँसीमा घरमै पुगेर बुवाको अनुहार हेर्न नपाए पनि दशैँमा टीका लगाएर आशीर्वाद लिने उनको आशा छ ।
‘यसपटक बाबाको अनुहार भिडियो कलमा हेर्ने तयारीमा छु,’ उनले भनिन्, ‘आशा गरौँ, कोरोनाको समाप्तिसँगै छिटै माइतीको आँगनमा पुग्नेछु ।’ विराटनगर माइती भएकी रोशनी दाहालले पनि बुबालाई भेट्न नपाएको एक वर्ष हुन लाग्यो । पोहोर दशैँमा टीका लगाएपछि बुबासँग भेट्न नपाएकी उनलाई पनि यही औँसीमा माइती पुग्ने रहर थियो । औँसीमा माइत पुगेर तीजसम्म रमाउने गरेकी उनी अहिले त्यो खुसीबाट वञ्चित बनेकी छिन् । त्यसो त भिडियो कलमार्फत बुवासँग कुरा गर्दै आएकी उनले औँसीको दिन बुबाको अगाडि बसेर आशीर्वाद लिनुको खुसी बेग्लै रहने सुनाइन् । बुवालाई मनपर्ने परिकार लिएर बुवाकै अगाडि बसेर खुवाउन पाउनु जीवनको सबैभन्दा ठूलो खुसीमध्येको एक रहने उनको बुझाइ छ ।
‘तर यसपटक कोरोनाका कारण प्रत्यक्ष भेट्ने अवसर जुरेन,’ भक्तपुर कौशलटारकी उनले भनिन्, ‘अब भिडियोमै बुवाको अनुहार हेरेर चित्त बुझाउनेछु ।’
‘पितृदेवो भवः’ भन्ने धार्मिक मान्यताअनुरूप कुसेऔँसीका दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाइ आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने मान्यता छ । तर यसपटक सवारी साधन नचल्दा तथा कोरोनाका कारण भीडभाडबाट जोगिन माइती नजाने निर्णय गरे ।
नुवाकोट माइती भएकी मूलपानीकी सरिता सापकोटाले पनि यसपटक भिडियो च्याटमार्फत नै बुवाको अनुहार हेर्ने निधो गरिन् । ‘जान त बाइकमा पनि सकिन्थ्यो, तर क्वारेन्टाइनमा बस्नुपर्ने हल्ला छ,’ उनले भनिन्, ‘त्यसैले नजाने निर्णय गरेँ ।’ बुवालाई पेडा निकै मनपर्ने उनले सुनाइन् । माइती नाजने निर्णय रहरको नभएर बाध्यताको भएको उनले बताइन् ।
छोरी नआउने खबरले दुःख लाग्ने सरिताका बुवा फणिन्द्रराज ढुंगानाले सुनाए । चेलीहरू आउँदा घरमा रौनक छाउने बताउँदै त्यो अहिले सम्भव नभएको बताए । ‘औँसीमा आउने छोरीले तीजको रौनक पनि बोकेर आउँथिन्,’ उनले भनिन्, ‘अहिले त तीज पनि छोरीकै घरमा छुट्यो ।’
बुबा पर भए पनि आफूहरूले आशीर्वाद पाइरहने उनको विश्वास छ । तर, बुबाको सामीप्य रहनुको खुसी अर्कै हुने उनले बताइन् । ‘बुबाको नजिक बस्नु सबैका लागि सधैँ सुखको क्षण हो,’ सरिताले थपिन््, ‘यसपटक हामीजस्ता कैयौँ छोरीहरूले यो सुखबाट वञ्चित हुनुपरेको छ ।’
प्रकाशित: ३ भाद्र २०७७ ०२:५९ बुधबार