८ वैशाख २०८१ शनिबार
समाज

श्रीमान् कोरोना संक्रमित, उपमेयरले पिसिआर परीक्षण गराउन मानिनन्

रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुनले कोरोना परीक्षणको लागि स्वाब दिन नमान्दा स्थानीयमा त्रासको वातावरण सिर्जना भएको छ। उपमेयर खातुनका श्रीमान् नसरुदीन अन्सारीमा कोरोना संक्रमण पुष्टि भएपछि पनि उपमेयर खातुनले आफ्नो कोरोना परीक्षण नमानेकी हुन्।  

श्रीमानको रिपोर्ट बलजफ्ती र षड्यन्त्रपूर्वक पोजेटिभ बनाएको आरोप लगाउँदै उपमेयर खातुनले आफूलाई केही पनि नभएको भन्दै आफूले कुनै पनि हालतमा पिसिआर टेस्ट नगराउने अडान लिएकी छिन्। आफूमा कोरोनाको कुनै पनि लक्षण नदेखिएकोले परीक्षण नगराउने उपमेयर खातुनको भनाई छ।  

श्रीमान् नै कोरोना संक्रमित पाइएपछि कन्ट्याक्ट ट्रेसिंगका आधारमा एकाघरका सबैको पिसिआर टेस्ट हुनुपर्ने आफूले आग्रह गर्दै आएको भए पनि उपमेयर खातुनले नमानेको मेयर सियाराम कुशवाहाले बताएका छन्। श्रीमानमा कोरोना संक्रमण पुष्टि भएको तथा पिसिआर टेस्ट गराउन समाजले भनिरहेकोमा उपमेयर खातुन बजारमा निस्फिक्रीसँग घुमिरहेकीले  नगरबासी त्रसित बनेको मेयर कुशवाहाको भनाइ छ।  

स्थानीयबासी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी समेतले सल्लाह दिँदा पनि उपमेयर खातुनले आफ्नो ढिपी नछाडेको स्थानीयको भनाइ छ। उपमेयर स्वस्थ्य भए पनि यदि उनमा कोरोनाको संक्रमण छ भने अन्यमा सर्ने सम्भावना रहेकोले स्थानीयमा त्रास रहेको बुझाइ छ।

कटहरिया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुनका श्रीमान् कोरोना संक्रमित भई दश दिनदेखि आइसोलेसनमा रहेको तर उपमेयर खातुनले आफ्नो पिसिआर टेस्ट गराउन नमानेको गुनासो आएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्वीकार गरेका छन्। कन्ट्याक्ट ट्रेसिङ भएकाहरुको पिसिआर गराउन इलाका प्रहरी कार्यालय गरुडालाई निर्देशन दिएको बताउँदै प्रजिअ यादवले पिसिआर नगराएमा उपमेयरको घर सिल गर्न प्रहरीलाई निर्देशन दिएको बताएका छन्।

कटहरिया नगरपालिका कन्ट्याक्ट ट्रेसिङका आधारमा गत हप्ता नौ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उपमेयरका श्रीमान् अन्सारीमा पनि कोरोनाको कुनै लक्षण देखिएको छैन।  

 

प्रकाशित: २ भाद्र २०७७ ०७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App