१५ चैत्र २०८० बिहीबार
समाज

कोरोना संक्रमण रोक्न निषेधाज्ञा जारी

कोरोना संक्रमण फैलिन नदिन सोमबारदेखि लागू हुने गरी एक साताको लागि सिन्धुपाल्चोकमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को शनिबार बसेको बैठकले बन्दाबन्दी (लकडाउन) कै ढाँचामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।  

छिमेकी जिल्लामा संक्रमण बढ्दै गइरहेको र जिल्लामा समेत फैलन सक्ने देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ को ६ (३) बमोजिम गतिबिधिहरु गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।  

उनका अनुसार निषेधाज्ञा जिल्लाभर सोमबार बिहान ५ बजेदेखि भदौ ७ गते मध्यराति १२ बजेसम्म लागू हुने छ । समितिले निषेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन र हिँडडुल गर्न रोक लगाएको छ । अत्यावश्यक बाहेर निजी तथा सार्वजनिक यातायातसमेत सञ्चालन गर्न नपाइने समितिले जनाएको छ ।  

‘खाद्य, तरकारी, दूध, पेट्रलपम्प, ग्याँस, मेडिकलबाहेक सबैखाले पसल बन्द गर्नुपर्ने छ,’ डिसिसिएमसीको निर्णयमा भनिएको छ, ‘सरकारी तथा गैरसरकारी संस्थाले आवश्यक मात्र सेवा दिनु पर्ने छ । बैँक तथा वित्तिय संस्था भने बिहान ११ देखि दिउँसो २ बजेसम्मा मात्र खोल्नु पर्ने छ ।’ सो अवधिमा होटल, रेष्टुँरा, शैक्षिक संस्था, सभा, सम्मेलन, तालिम, गोष्ठी, भेला, प्रदर्शन, सैलुन, ब्युटिपार्लर, पुस्तकालय तथा खेलकुद गतिविधि गर्न नपाइने निर्णय समितिले गरेको छ ।  

अत्यावश्यक सेवाका लागि जिल्ला प्रशासनले सवारी पास जारी गर्ने प्रजिअ ढकालले जनाए । उनका अनुसार स्वास्थ्य मापदण्ड पुरा गरेर उद्योग र निर्माणसँग सम्बन्धित काम भने गर्न पाइने छ । समितिले बाहिर गइ भिडभाड गरी औँशी र तीज मनाउनसमेत कडाइ गरेको छ । ‘यी चाड पारिवारिक रुपमा सामाजिक दूरी कायम गरी मनाउनु पर्ने छ,’ समितिले अनुरोध गर्दै भनेको छ । निषेधाज्ञा अवधिको अनुगमन गर्न सहायक प्रजिक बाबुराम ढकालको संयोजकत्वमा समितिसमेत बनाइएको छ ।  

स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमणबाट जिल्लामा तीनको मृत्यु भइसकेको छ । संक्रमितको संख्या ७६ पुगेको छ । ६७ निको भएर घर फर्केका छन् । ६ को आइसोलेसनमा उपचार भइरहेको छ । एक सय चार जना क्वारेन्टिनमा बसेका छन् भने स्वाब संकलन गरिएका दुई सय ३१ को नतिजा आउँन बाँकी छ । जिल्लामा हालसम्म दुई हजार तीन सय २६ को पिसिआर परीक्षण गरिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिए । 

प्रकाशित: ३१ श्रावण २०७७ १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App