coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कार्यालय सहयोगी र चालक बढी जोखिममा

तल्लो तहका कर्मचारी, कार्यालय सहयोगी, चालक, कूचीकार तथा सरसफाइका कर्मचारीमा कोरनाको बढी जोखिम देखिएको छ। हाल देशभर अस्थायी, ज्यालादारी तथा करारमा गरी २० हजारभन्दा बढी कार्यालय सहयोगी तथा ड्राइभर देशभर विभिन्न सकारी कार्यालयमा कार्यरत रहेको संघीय मामिला मन्त्रालयको तथ्यांक छ।

कोरोना संक्रमणको महामारीबाट जोगिन माथिल्लो तहका कर्मचारीलाई विभिन्न किसिमका सुविधा दिइएको हुन्छ। माक्स, स्यानिटारइजर, पन्जा र आवश्यक प¥यो भने पिपिई (स्वास्थ्य सुरक्षा सामग्री) समेतको सुविधा माथिल्लो तहका कर्मचारीलाई उपलब्ध गराइए पनि तल्लो तहका कर्मचारीलाई यस्तो सुविधा सकेसम्म दिइन्न। तर, तल्लो तहकै कर्मचारी कार्यालयमा बढी सम्पर्कमा आउँछन्। उनीहरू कार्यालयका कोठाकोठामा तथा टेबुलटेबुलसम्म पुग्छन्। हाकिमलाई चिया पु-याउने नाममा कार्यालय सहयोगी हाकिमका टेबुलसम्म पुग्नुपर्ने हुन्छ। यसैगरी, कोठा सफा गर्न उनीहरू प्रत्येक कोठामा पुगेका हुन्छन्।

सरसफाइ कर्मचारी पनि सरसफाइको काममा कोठाकोठमा पुगेका हुन्छन्। संघीय मामिला मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी स्वाभाविक रूपमा कार्यालय सहयोगी तथा ड्राइभर कोरना संक्रमणको उच्च जोखिममा रहेको बताए। ‘कार्यालय सहयोगी तथा ड्राइभरहरू कार्यलयका कोठा, टेबुलमा पुग्नुपर्छ। त्यसैले स्वाभाविक रूपमा उहाँहरू कोरना सक्रमणको उच्च जोखिमा हुनुहन्छ,’ अधिकारीले भने, ‘त्यसैले संक्रमणबाट जोगिन उहाँहरू आफैं पनि सचेत हुनुपर्छ।’

कार्यालय सहयोगी तथा ड्राइभरलाई पर्याप्त माक्स, स्यानिटाइजर तथा पञ्जा उपलब्ध नगराइएको भन्ने कुरा भने उनले अस्वीकार गरे। ‘आवश्यक परेमा हामीले सबैलाई माक्स, पञ्जा तथा स्यानिटाइजर उपलब्ध गराउने गरेका छौं,’ उनले भने।

बिहीबार गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंले नाकामा कडाइ गर्न प्रहरीलाई निर्देशन दिएका थिए। प्रहरीले एम्बुलेन्स, खाद्यान्न, खानेपानी र अत्यावश्यकबाहेकका सबैजसो सवारी रोकेको छ।

तर अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादरी श्रमिक संघकी अध्यक्ष विमला आचार्यले भने तल्लो तहका कर्मचारी र माथिल्लो तहका कर्मचारीमा गम्भीर भेदभाव हुने गरेको बताइन्। ‘माथिल्लो तहका कर्मचारीलाई सबै किसिमको सुविधा हुन्छ। हामीहरूलाई भने सकेसम्म सुविधा दिन माथिल्लो तहका कर्मचारी हिचकिचाउँछन्,’ उनले भनिन्, ‘कतिपय कार्यालयमा पञ्जा, माक्ससमेत दिइन्न।’ कार्यालय सहयोगीले माथिल्लो तहका कर्मचारीलाई टेबुलमा पुगेर चिया खाजा उपलब्ध गराउने गर्छन् तर उनीहरूको सुरक्षाबारे माथिल्लो तहका कर्मचारीहरू सचेत हुँदैनन्। ‘उहाँहरू (हाकिम) ले आफ्नो सुरक्षा हेर्नुहुन्छ तर उहाँकै टेबुलमा खाजा, चिया पु¥याउने कार्यालय सहयोगीको सुरक्षा हेर्नुहुन्न,’ संघीय मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगी गुनासो पोख्छन्।  

माथिल्लो तहका कर्मचारीलाई अधिकांश कार्यालयमा आलोपालो सुविधा दिइएको हुन्छ। त्यसैले अधिकांश माथिल्लो तहका कर्मचारीहरू एक दिन कार्यालय आउने र एक दिन घर बस्ने गर्छन्। कार्यालयमा आए पनि उनीहरू पूरा समय कार्यालयमा बस्दैनन्। तर तल्लो तहका कर्मचारीलाई सकेसम्म यस्तो सुविधाबाट वञ्चित गर्ने गरिएको छ। ड्राइभरहरूलाई पनि हरेक दिन कार्यालयमा बोलाइन्छ। संघीय मामिला मन्त्रालयका प्रवक्ता अधिकारीले भने आलोपालो प्रणालीको सुविधा कार्यालय सहयोगी, ड्राइभरसहित सबै तहका कर्मचरीलाई उपलब्ध गराइएको दाबी गरे।

तल्लो तहका कर्मचारीहरूले कतिपय सरकारी कार्यालयमा पर्याप्त पानी नभएको गुनासो गर्छन्। साबुनपानीले हात धुन तथा सरसफाइ गर्न साबुन पनि पर्याप्त समेत उपलब्ध नगराइएको गुनासो कार्यालय सहयोगीले गर्ने गरेका छन्। तर यसतर्फ माथिल्लो तहका कर्मचारीले चासो राखेको पाइँदैन। ‘आफ्नै कार्यालयभित्र कोरनाको जोखिम छ। तर कार्यालयका उच्च कर्मचारी आफ्नो कार्यालयभित्रको जोखिमबारे जानकार छैनन्,’ अर्का एक कार्यालय सहयोगीको गुनासो छ। उनका अनुसार पिसिआर परीक्षण गर्न गर्न चाहेमा माथिल्लो तहका कर्मचारीले सजिलै परीक्षण गर्न पाउँछन्, तर तल्लो तहका कर्मचारीलाई यसमा पनि भेदभाव हुने गरेको छ।

प्रकाशित: ३१ श्रावण २०७७ ०२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App