१६ चैत्र २०८० शुक्रबार
समाज

कर्णालीमा ४६ हजार बढीको कोरोना परीक्षण

कर्णालीमा (कोभिड–१९) कोरोना भाइरसको परीक्षणका लागि ४६ हजार ६ सय ४३ जनाको स्वाब परीक्षण गरिएको छ । प्रदेश बाहिरबाट आएका र केही समुदायका व्यक्तिको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको हो ।

सबैभन्दा बढी प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परीक्षण गरिएको छ । यहाँ २१ हजार चार सय ८७ जनाको स्वाब परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । उक्त शाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १९ हजार सात सय ५१, दैलेख अस्पतालमा दुई हजार आठ सय ७३ र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा दुई हजार पाँच सय ३२ जनाको स्वाब परीक्षण गरिएको छ । जसमध्ये दुई हजार ५७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए ।

हुम्लामा पाँच, मुगुमा १०, डोल्पामा चार, जुम्लामा ४६, कालीकोटमा ७६, जाजरकोटमा ३२, दैलेखमा नौ सय ६९, सुर्खेतमा पाँच सय ८४, रुकुम पश्चिममा २७ र सल्यानमा दुई सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै प्रदेश बाहिरका ६२ जनामा पनि कोरोना संक्रमण देखिएका स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा महाशाखाका अनुसार हालसम्म एक हजार नौ सय आठ जना उपचारपछि घर फर्किएका छन् । अहिले कर्णालीका आइसोलेसनमा हाल एक सय ४३ जना मात्र सक्रिय बिरामी छन् । रोजगारीका लागि भारत गएका र रोजगारी गुमेपछि ठूलो मात्रामा उनीहरु घर फर्किएका थिए । सामाजिक विकास मन्त्रालयका अनुसार करिब ५० हजारभन्दा बढी सर्वसाधारण घर फर्किएका छन् ।

रोजगारीका लागि भारत गएका फर्किएपछि कर्णालीमा कोरोना संक्रमण बढी देखिएको छ । पछिल्लो समय बजारमा भीडभाड बढ्दा पनि कोरोना संक्रमण बढेको स्थानीय गीता चपाइँको भनाइ छ । प्रदेश सरकारले कर्णाली भित्रिने मुख्य नाकामा आरडीटी परीक्षण गरेको थियो भने हेल्थ डेस्क स्थापना गरेको थियो । ‘सर्वसाधारण कर्णाली भित्रिँदा नै हामी गम्भीरताका साथ स्वास्थ्य परीक्षणलाई व्यवस्थित बनाएका थियौं,’ कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीले भनिन्, ‘प्रदेशमा बन्दाबन्दी (लकडाउन) पनि व्यवस्थित गर्दा कम संख्यामा मात्र कोरोना देखियो ।’ यसलाई प्रदेश सरकारले सामान्यरूपले बुझेको भए भयावहस्थिति हुने भन्दै उनले पहिलो प्राथमिकता कोरोना न्यूनीकरणलाई दिएको बताइन् । प्रदेश सरकारले स्वास्थ्यकर्मीको मनोबल बढाउन प्रोत्सान भत्तासमेत व्यवस्था गरेको उनको भनाइ छ ।

कोरोना न्यूनीकरणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेको थियो । प्रदेश सरकारले कोरोना रोकथामका लागि चेतनामूलक र उपचारात्मक कार्यक्रम गरेको सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालले जानकारी दिए । उनका अनुसार सुरक्षा अपनाउने खालका नयाँ कार्यक्रम निर्माण भइरहेका छन् । अहिले क्वारेन्टिनमा रहेको मात्र स्वाब परीक्षण गरिएको स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकल पर्सन केएन पौडेलले जनाए । केही उद्योगी व्यवसायी र सांसदलाई देखिँदा मात्र सर्वसाधारणको कोरोना परीक्षण गरिएको उनले बताए ।

प्रकाशित: ३० श्रावण २०७७ १२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App