coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोले खोस्यो खुशी

कालिकोटको महावै गाउँपालिका–३ नकु गाउँका रजबहादुर र डिलबहादुर विष्ट दुई दाजुभाई हुन् । दुबैको आँगन जोडिएको छ । दुबै दाजु–भाईका छोराछोरी सुर्खेत र नेपालगञ्जमा सँगै अध्ययन गर्ने भएकाले विदामा घर जाँदा पनि उनीहरु छुट्टिदैनन् । बन्दाबन्दीका कारण सुर्खेतमा अध्ययनरत रजबहादुरका १८ वर्षीय छोरी सविना, १३ वर्षीय पुष्प, ११ वर्षीय प्रविण विष्टसँगै डिलबहादुरका १९ वर्षीया छोरी शान्ति र १० वर्षीया रेशा विष्टसँगै घर पुगे ।

रजबहादुर र डिलबहादुरको घर छुट्टाछुट्टै भएपनि छोराछोरी सधैं सँगै हुन्थे । बिहीबार राति साढे आठ बजेतिर खाना खाएपछि रजबहादुर र उनकी श्रीमती नैनकला तल्लो तलामा सुते । बाहिर पानी परिरहेको थियो । सविना, पुष्प, प्रविण र १५ वर्षीया आशा माथिल्लो तलामा उक्लिए । डिलबहादुरका छोरी शान्ति र रेशा पनि सुत्नका लागि त्यहीँ आइपुगे । साढे १२ बजेतिर घरमाथिबाट पहिरो खस्यो । घरको माथिल्लो तलामा सुतिरहेका छ छोराछोरीको एउटै चिहान भयो ।

‘राति साढे १० बजेसम्म छोराछोरी सुतेका थिएनन्, ओछ्यानबाटै सुत्नका लागि आवाज दिएँ,’ रजबहादुरले नागरिकसँग भने, ‘यस्तो घटना होला भन्ने थाहा पाएको भए छोराछोरीलाई तल्लो तलामा सुताएर बुढाबुढी माथिल्लोमा सुत्थ्यौं ।’ वडा सदस्यसमेत रहेका रजबहादुरले अघिल्लो वर्ष टिनले छाएको पक्की घर बनाएका थिए । 

दुबै दाजुभाईले छोराछोरीको राम्रो शिक्षादीक्षाका लागि प्रदेश राजधानी वीरेन्द्रनगरमा कोठा भाडामा लिएर राखेका थिए । पढाईमा सबै अब्बल थिए । ‘आर्थिक हैसियतले भ्याएसम्म छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउने लक्ष्य थियो,’ रजबहादुरले भने, ‘पहिरोले एकै छिनमा हाम्रो परिवारको सबै खुशी खोसेर लग्यो ।’ सबै सन्तानको मृत्यु भएपछि नैनकला होसमा आउन सकेकी छैनन् । विष्ट परिवारसँगै सिंगो गाउँ शोकमा छ ।  

पुरै गाउँ जोखिममा

महावै गाउँपालिका–३ को नकु गाउँमा ३५ घरधूरी छन् । वर्षाका कारण ठाउँठाउँमा पहिरो गएको छ । ‘सुरक्षित मानिएकै घर पहिरोले पुरेपछि सिंगो गाउँ अहिले त्रासमा छ,’ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको स्वकीय सचिवसमेत रहेका स्थानीय खेमबहादुर सिंहले भने, ‘समयमै बस्ती सारिएन भने झन दुर्घटना निम्तन सक्छ ।’ महावैमा अघिल्लो साता पहिरोमा परेर दुई जनाको मृत्यु भएको थियो ।

प्रकाशित: ३० श्रावण २०७७ १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App