७ वैशाख २०८१ शुक्रबार
समाज

पहिरोले छिया–छिया पार्‍यो गुल्मीका गाउँ

गुल्मी इस्मा गाउँपालिका हस्तिचौरमा गएको पहिरो । फाईल तस्विर

यो वर्षको वर्षाका कारण पहाडी क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ। अविरल वर्षापछि आएको पहिरोका कारण सिंगो गाउँ नै विस्थापित भएको छ। गुल्मी जिल्लामा यो वर्ष पहिरोले दर्जनौ गाउँ विस्थापित भएका छन्। स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि गाउँसम्म सडक खुलेसँगै बस्तीको विकास हुने अपेक्षा गरेका बेला पहिरोले विस्थापित बनाएपछि सर्वसाधरणको विचल्ली भएको छ।  

गुल्मीको इस्मा गाउँपालिका पहिरोले सबैभन्दा बढि प्रभावित बनेको छ। गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्टका अनुसार इस्माको वडा न.१ हस्तिचौरका मात्रै १ सय ५० घर पहिरोले विस्थापित भएका छन्। असार १९ गते राति पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो। त्यसयता सो क्षेत्रका बासिन्दाहरुको विद्यालय र शिविरको बास भएको छ। पहिरोले कसैको आँगन, कसैको घरको पछिल्लो भाग त कसैको घर नै चर्किएको छ।

‘इस्मा सिंगो गाउँपालिका भित्र नै पहिरोको असुरक्षा देखिएको छ’ अध्यक्ष विष्टले भने। उनका अनुसार इस्मा गाउँपालिका भित्र २ सय ५ घर विस्थापित भएका छन्। विस्थापित परिवारलाई विद्यालय र गाउँपालिकाले निर्माण गरेका विभिन्न अस्थायी टेन्टहरुमा राखिएको उनले बताए। ‘पानी परिरहेकाले अहिले नै अन्यत्र व्यवस्थापन गर्न सकिदैन, अस्थायी व्यवस्थापन नै हो’ उनले भने ‘प्रदेश र संघीय सरकारसँग समन्वय गरेर पर्नुस्थापनाको काम पनि भइरहेको छ।’ इस्मामा मात्रै करिव एक हजार मानिसहरु विद्यालय, आफन्त र टेन्ट मुनी रात विताउन बाध्य छन्।  

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार यो वर्ष पहिरोले मानवीय तथा भौतिक दुवै क्षति गराएको छ। प्रहरीको तथ्यांकमा साउन महिनामा मात्रै २२ घरका १ सय ४४ परिवार पूर्ण रुपमा विस्थापित भएका छन्। पहिरोमा परेर ५ जनाले ज्यान गुमाएका छन् भने ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक एंव प्रहरी प्रवक्ता केदारराज पन्तले बताए। जिल्ला भरी बाढी, पहिरोका कारण ३० लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले बताएको छ।  

केहि खोला र नदीमा आएको बाढीले पनि गुल्मीमा क्षति पुर्‍याएको छ। बिशेष गरि यो वर्ष इस्मा, मुसिकोट, सत्यवती, रुरु क्षेत्रमा पहिरोका कारण प्रभावित बनेको छ। मुसिकोट नगरपालिकामा पनि पहिरोका कारण झन्डै एक सय घर विस्थापित भएको नगरपालिकाका उपप्रमखु कमला गौतमले बताईन्।  

मुसिकोटको वडा न.२ मा मात्रै ३१ घरपरिवारलाई सुरक्षित ठाउँमा राखिएको छ। यस्तै वडा न.२,३,८ र १ मा गरि पहिरोकै कारण सुरक्षित ठाउँमा राख्नेहरुको संख्या थपिनेक्रम रहेको उपप्रमुख गौतमले बताईन्। ‘यो वर्ष असाध्यै पहिरोले दुःख दियो, कतिखेर क्षति हुन्छ केही भन्न सकिएन’ उनले भनिन्। नगरपालिकाले विस्थापितहरुलाई सुरक्षित स्थानमा राख्ने, राहत उपलब्ध गराउने काम गरिरहेको बताईन्। बाढी पहिरो र विपदमा परेकाहरुलाई प्रतिपरिवार ५ हजारका दरले सहयोग समेत गरेको उनको भनाई छ।  

जनप्रतिनिधिको प्रमुख प्राथमिकतामा सडक पर्ने र डोजरका कारण विकास निर्माणका काम हुने भएकाले पनि पहिरोले क्षति पु¥याएको विश्लेषण गरिएको छ। चारैतिरबाट सडक जादा बीचमा रहेका बस्ती नै अहिले पहिरोको उच्च जोखिममा परेका हुन्। असार लागेसँगै गुल्मीका ग्रामिण भेगका सडकहरु प्राय अवरुद्ध छन्। कतिपय ठाउँमा पहिरोले मानवीय क्षति गराउदा पनि उद्धारका लागि जान समेत कठिन हुने गरेको सरकारी अधिकारीहरु बताउँछन्।  

पहिरोकै कारण गुल्मीका नागरिकले सास्ती पाएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए। उनका अनुसार विपदमा परेकाहरुको उद्धार तथा राहत व्यवस्थापनका लागि स्थानीय तहसँगको समन्वयमा काम गरिएको छ। नेपाल आर्मी, सशस्त्र प्रहरीसँग समन्वय गरेर उद्धारको काम गर्ने गरिएको प्रजिअ शर्माले बताए।  

पहिरोले ट्रक बगायो  

गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोसहित आएको बाढीले मालवाहक ट्रक बगाएको छ। बुटवलदेखि बागलुङको हटियातर्फ सिमेन्ट, छड बोकेर जाँदै गरेको लु १ ख ७४०६ नम्बरको ट्रक सत्यवती गाउँपालिका वडा ६ स्थित डहरे ठाडो खोलामा आएको बाढीले करिब २० मिटर तल बगाएको हो।  

ट्रक बिग्रिएर खोला किनारमै रोकेर राखेको अवस्थामा बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले बताए।

प्रकाशित: ३० श्रावण २०७७ ११:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App