६ वैशाख २०८१ बिहीबार
समाज

२ जना कोरोना संक्रमितकाे मृत्यु

विराटनगरस्थित कोसी अस्पतालको आइसोलेसनमा कोरोना भाइरस संक्रमित दुई जनाको बिहीबार मृत्यु भएको छ। सिराह विष्णुपुर र विराटनगरका  दुई पुरुषको कोरोनाबाट मृत्यु भएको हो। अस्पतालका अनुसार विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पुरुषको बिहीबार दिउँसो ४ बजे कोसी अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएको हो। मृतकको पहिलो पटक गरिएको स्वाब परीक्षणबाट ‘नगेटिभ’ र दोस्रो पटक गरिएको परीक्षणमा ‘पोजेटिभ’ रिपोर्ट आएको अस्पतालले जनाएको छ।  

ज्वरो आउने, रिँगाटा चल्नेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार बिहान १०ः३० बजेतिर अस्पताल भर्ना गरी ११ बजेतिर स्वाब संकलन गरियो।  उनको ४ बजे मृत्यु भयो भने साँझ ७ः १५ बजेतिर पहिलो रिपोर्ट ‘नेगेटिभ’ आएको थियो। मृतकको रिपोर्ट नेगेटिभ आए पनि चिकित्सकलाई चित्त बुझेर शंका लागेपछि पुनः राति ११ बजेतिर दोस्रो पटक परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।  

‘उनको पहिलो रिपोर्ट ‘नेगेटिभ’ आए पनि चित्त नबुझेपछि मृत्यु भइसकेपछि दोस्रो पटक संकलन गरिएको स्वाबको रिपोर्ट शुक्रबार बिहान ५ बजे पोजेटिभ आयो,’ कोसी अस्पताल कोरोना आइसोलेसनका संयोजक डाक्टर लक्ष्मीनारायण यादवले भने, ‘परिवारका सदस्यलाई शव जिम्मा नदिइकन पुनः शवबाट गरिएको स्वाब संकलनको रिपोर्ट भने पोजेटिभ आएकाले पुरुषको मृत्यु कोरोनाकै कारण भएको पुष्टि हुन गयो र पहिलो रिपोर्टका आधारमा शव परिवारलाई जिम्मा दिएको भए समुदायमा कोरोना फैलने ठूलो जोखिम हुन्थ्यो।’

पहिलो पटक संकलन गरिएको स्वाबलाई प्रयोगशालामा पटक–पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि दोस्रो पटक स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ।  त्यस्तै प्रदेश २ सिराहको विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुषको बिहीबार राति ८ बजेतिर कोरोना भाइरस कारण मृत्यु भएको कोसी अस्पतालले जनाएको छ।  

‘श्वासप्रश्वास, निमोनियाको समस्या र शरीरमा रगतको कमी पनि देखिएको गम्भीर अवस्थामा भर्ना गर्यौं,’ कोसी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले भने, ‘बिहीबार नै कोरोना पोजेटिभ देखिए र राति करिब सवा ८ बजे मृत्यु भयो।’ कोरोना पोजेटिभ देखिएपछि ती पुरुषलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन खोजिए पनि त्यहाँ बेड खाली नभएपछि कोसी कै आइसोलेसनमा राखिएको थियो।

विराटनगर महानगरपालिकाभित्रै मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। विराटनगर–९ का २ जना तथा वडा नम्बर ३, ५, १० र १५ का १–१ जनाको मृत्यु भइसकेको छ। मोरङको विराटनगरका ६, सुनबर्षी नगरपालिका, बुढीगंगा गाउँपालिका र रंगेली नगरपालिकाका समान १–१ जनाको कोरोना पोजेटिभका कारण मृत्यु भइसकेको छ।  

प्रकाशित: ३० श्रावण २०७७ ०५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App