coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लकडाउनमा शिशु मृत्युदर बढ्यो

कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउन अवधिमा स्वास्थ्य संस्थामा हुने शिशुको जन्ममा ५२।४ प्रतिशतले कमी आएको छ। नवजात शिशु मृत्युदर र र मृत शिशु जन्मदर भने बढेको छ। यो अवधिमा गर्भवतीलाई आवश्यक स्वास्थ्य सेवाको गुणस्तरमा पनि ह्रास आएको छ।  

स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल ल्यानसेटमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनअनुसार यो अवधिमा प्रतिएक हजार नयाँ जन्ममा ४० जनाको मृत्यु भएको छ। लकडाउनअघि प्रति १ हजार जन्ममध्ये १४ जनाको मृत्यु हुन्थ्यो। प्रतिशतका हिसाबले नवजात शिशुको मृत्युदर १३ बाट ४० प्रतिशतमा उक्लेको छ। अध्ययनले स्वास्थ्य संस्थामा हुने मृत शिशु जन्मदर पनि पहिला प्रति १ हजारमा १४ रहेकोमा लकडाउनका बेला प्रतिएक हजारमा २१ पुगेको देखाएको छ।  

अध्ययनले गर्भमा शिशुको मुटुको चाल मापन गरिने जाँचमा १३ दशमलव ४ प्रतिशतले कमी आएको र जन्मेको १ घन्टाभित्र गर्नुपर्ने स्तनपानमा ३ दशमलव ५ प्रतिशतले कमी आएको पनि देखाएको छ।  

लकडाउन अवधिमा स्वास्थ्यकर्मीको हात धुने बानीमा १३ प्रतिशतले वृद्धि भएको छ भने बच्चालाई स्पर्शबाट गरिने हेरचाहमा १३ प्रतिशतले सुधार भएको देखिएको छ।  

नेपालका नौवटा अस्पतालमा गरिएको यो अध्ययनले लकडाउन सुरु हुनुभन्दा १२।५ साताअघिको र लकडाउन लागू भएको अवधिको ९।५ साताको समयलाई समेटेको थियो। अध्ययनका लागि २१ हजार ७ सय ६३ गर्भवती समावेश थिए। यसैगरी कुल १० हजार ४ सय ५३ जन्मको अवलोकन गरिएको थियो।

नेपाली तथा विदेशी अनुसन्धानकर्ताले गरेको सो अध्ययनले स्वास्थ्य संस्थामा हुने बढ्दो मृत्युदर घटाउन र गर्भवतीको हेरचाहमा ध्यान दिनुपर्ने सुझाव दिएको छ। पछिल्ला दुई दशकमा नेपालले मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा उल्लेख्य सुधार गरेको छ। सन् २०१९ तुलनमा सन् २००० मा मातृ मृत्युदर ७६ प्रतिशत, नवजात शिशु मृत्युदर ६२ प्रतिशत र मृत शिशु जन्म दर ५८ प्रतिशतले कमी आएको छ। यसैगरी सन् २००१ को तुलनामा सन् २०१६ मा स्वास्थ्य संस्थामा हुने जन्ममा चारगुणाले बढेको छ।

प्रकाशित: ३० श्रावण २०७७ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App