१६ चैत्र २०८० शुक्रबार
समाज

‘यस कारण भत्कियो हाटबजार ट्रसको रिटेनिङ वाल’

बनेको केही हप्तापछि नै भासिएको अर्खौले बजारको ट्रसको रिटेनिङ वाल निरीक्षण गर्दै मेयर इवन राई र उपमेयर बिमला राई । तस्बिरः दमन राई/नागरिक

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा हाटबजारका लागि बनाइएको ट्रसको रिटेनिङ वाल प्रयोगमा नआउँदै भासिएपछि गठन गरिएको छानबिन समितिले प्रतिबेदन बुझाएको छ।  

अर्खौलेमा लाग्ने साप्ताहिक हाटबजारका लागि ४६ लाखमा बनाइएको फलामे ट्रसको रिटेनिङ वालको निर्माणमा भएको त्रुटीका विषयमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिकिरण आचार्य संयोजकत्वको छानबीन समितिले आफ्नो प्रतिबेदन तयार पारेर नगरपालिकालाई बुझाएको हो। छानबिन समितिले मुआव्जा लिए पनि जग्गा छाड्न अटेर गरिरहेका स्थानीय, डिजाइन स्टीमेट तयार पार्ने प्राविधिक, फिल्डमा खटाइएका प्रावधिक, अधिक वर्षा लगायतका कारण कृषि मार्केट आयोजनाको फलामे ट्रसको रिटेनिङ वाल प्रयोगमा नआउँदै भासिएको प्रतिबेदन पेश गरेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।  

मध्यपहाडी लोकमार्गको कालोपत्रेकाक्रममा मुआब्जा पाए पनि हालसम्म घर जग्गा नछाडेका अर्खौलेबजारकै केही स्थानीयले घर टहरा नहटाउँदा पर्याप्त बेस फाउण्डेसन खन्न नपुगेको र कृषि मार्केट बनेको केही समय नबित्दै जग भासिएको प्रतिबेदनमा उल्लेख छ। यस्तै, खटाइएका प्राविधिकले भौगोलिक अवस्थाका बारेमा अध्ययन नै नगरी डिजाइन स्टीमेट गरेको र निर्माण कम्पनीले फिलिङ माटोमाथि जग बनाएर काम गरेकाले ट्रसको रिटेनिङ वाल प्रयोगमा नआउँदै भासिएको छानबिन समितिले जनाएको छ।  

यस्तै, कृषि मार्केट आयोजना हेर्नेगरी वडामा खटाइएका प्राविधिकको समेत कमजोरी रहेको औंल्याइएको छ। फिल्डमा खटाइएका प्राविधिकले नियमित अनुगमन नगरेको, गुणस्तरिय सामग्री प्रयोगका लागि निर्माण व्यवसायीलाई निर्देशन नदिएको, कामको अवस्थाका बारेमा नगरपालिकालाई जानकारी गराउन बेवास्ता गरेको प्रतिबेदनमा भनिएको छ। छानबिन समितिको सिफारिसका आधारमा दुई प्राविधिकलाई ग्रेड रोक्का गरी कारबाही गर्ने निर्णय गरिएको मेयर राईले बताए।  

गत साउन ८ गते कृषि मार्केटको स्थलगत अनुगमनपछि अर्खौलेबजारमा बसेको मेयर राई र उपमेयर बिमला राईसहितको बैठकले ट्रसको रिटेनिङ वाल भासिएको विषयमा छानबिन गर्न समिति गठन गरेको थियो। गत असार २१ गते सम्पन्न गर्ने शर्तमा २०७७ साल बैसाख ३१ गते सम्झौता गरिएको कृषि मार्केट योजनाको ट्रस साउन ३ गते भासिएको हो। योजनाको एक ठाउँमा पर्खाल लगाउने काम अझै बाँकी रहेको देखिएको छ।  

मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन  

अर्खौलेमा हाटबजारका लागि बनाइएको ट्रसको रिटेनिङ वाल प्रयोगमा नआउदै भासिएपछि निर्माण कम्पनीलाई मर्मत थाल्न निर्देशन दिइएको छ। कृषि मार्केट आयोजनाको फलामे ट्रसको रिटेनिङ वाल प्रयोगमा नआउदै वर्षाका कारण भासिएपछि नगरपालिकाले तत्काल मर्मत गर्नका लागि निर्माण कम्पनी अनिल मल्टी कम्पनी प्रालि मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोकलाई निर्देशन दिएको हो। ट्रसको भासिएको रिटेनिङ वाल मर्मत गर्न र अन्य चर्किएका संरचना सच्याउन निर्माण कम्पनीलाई निर्देशन दिएको मेयर राईले बताए।  

संरचना निर्माण गरेको वर्ष दिनसम्म मर्मत सम्भार गर्ने जिम्मा सम्बन्धित निर्माण कम्पनीकै भए अनुसार अर्खौले कृषि मार्केट आयोजनाको काममा भएको त्रुटी सच्याउन अनिल मल्टी कम्पनी प्रालिलाई निर्देशन दिइएको नगरपालिकाले जनाएको छ। हाटबजार ट्रसको रिटेनिङ वाल भासिएपछि प्राविधिकरुपमा स्थलगत अध्ययन गरेर भासिएको र बिग्रिएका संरचना पुनर्निर्माणका लागि साउन ६ गते पनि निर्माण कम्पनीलाई पत्राचार गरिएको थियो।  

हाटबजारका लागि बनाइएका १८ वटा ट्रसमध्ये केही दिन परेको वर्षाका कारण पुछार ग¥होमा बनाइएको प्रवेशद्धारतर्फको रिटेनिङ वाल पूर्णरुपमा भासिएको छ। सम्झौता मितिभन्दा केही दिन ढिलागरी बनाइएको योजनाको रिटेनिङ वालले एक स्थानीयको टहरा किचेको छ। २००७ सालदेखि नै हरेक सोमबार हाट लाग्ने अर्खौलेमा कृषि मार्केट योजनाका लागि भ्याट तथा पिएससहित ४६ लाख ४४ हजार ६८६ रुपैयाँमा ठेक्का लगाइएको थियो। बलियो जग खन्नुको सट्टा ठेकेदारले गत वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बनाइएको पर्खालको जगलाई नै ट्रसको जग बनाएको स्थानीयको दाबी छ। निर्माण कम्पनीका प्रतिनिधि रबि राईले भने सार्वजनिक जग्गा मिचेर टहरा बनाएका स्थानीयको अवरोधका कारण पर्खालका लागि बलियो जग खोतल्न नसकिएको बताए।  

वर्षाका कारण केही ट्रसका रिटेनिङ वाल तथा माथिल्लो कान्लामा उक्लिन र ओर्लनका लागि बनाइएको सिमेन्टेड सिँढी समेत चर्किएको छ। बलियो जग नभेट्दै फिलिङ माटोमाथि सिँढीको पर्खाल उठाइएकाले चर्किएको नगरपालिकाका इन्जिनियर नविन कौशलले बताए। यस्तै, हाटबजारको सिरान ग¥हामा बनाइएको ट्रसको कुनामा माथिबाट पहिरो खसेको छ। पहिरोले भित्ताका पर्खाल र ट्रसका केही पिलर पुरेको छ। पहिरोले सोभन्दा माथिका केही घर जोखिममा परेको छ। हाल पहिरोलाई प्लाष्टिकले ढाकिएको छ।  

ठेक्का अनुसार निर्माण कम्पनीले हाटबजार लाग्दै आएको स्थानका चार कान्लामा ट्रस निर्माण गरेको हो। नगरपालिकाकै एतिहासिक र कृषि उपज विनिमय गर्ने प्रमुख केन्द्रका रुपमा रहेको सो हाटबजारको स्तरोन्नतीका लागि नगरपालिकाले प्राथमिकताका साथ बजेट व्यवस्था गरेर आवश्यक संरचना निर्माण गरेको हो। केही स्थानीयले हाटबजार क्षेत्रमा पर्ने घर टहरा हटाउन अटेर गरेकाले निर्माण कम्पनीले बलियो जग खन्न नपाउँदा पर्खाल भासिन पुगेको वडाध्यक्ष ज्ञानबहादुर पुरीले बताए।  

गत माघ २६ गते अर्खौलेमै भएको बैठकमा मध्यपहाडी लोकमार्गको केन्द्रबाट १५ मिटर छाडेर कृषि मार्केट आयोजनाको काम थाल्ने निर्णय अनुसार सो क्षेत्रभित्र पर्ने घर र टहरा हटाउनका लागि अनुरोध गरिए पनि अटेर गरेको नगरपालिकाले जनाएको छ। बुधबार बसेको नगर कार्यपालिकाको बैठकले पुनः घर टहरा हटाउनका लागि १५ दिने सूचना जारी गर्ने निर्णय गरेको छ।

प्रकाशित: २९ श्रावण २०७७ १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App