४ माघ २०७७ आइतबार
समाज

जिससले दिएको बजेट स्थानीय तहले लगेनन्

जिल्ला समन्वय समिति गोरखाले दिएको बजेट गोरखाका स्थानीय तहले उपभोग गर्न सकेका छैनन्।  गत वर्ष जिल्ला समन्वय समितिले जिससको मौजाद कोषमा रहेका १८ करोड ८४ लाख रकम मध्ये दुईवटा नगरपालिकालाई एक करोड ४० लाख, चुमनुब्री गाउँपालिकालाई एक करोड २० लाख र अन्य गाउँपालिकालाई एक करोड १० लाख दिने निर्णय गरेको थियो। तर अहिलेसम्म पालुङटार नगरपालिकाले ९८ लाख बाहेक अन्य गाउँपालिकाले रकम नलगेको निमित्त जिल्ला समन्वय अधिकारी दिनेश चापागाँईले बताए।  

गत वर्ष जिल्ला समन्वय समितिले सबै स्थानीय तहलाई योजना पेश गर्न अनुरोध गरेको थियो। भिमसेन थापा गाउँपालिकाले १,२,६ र ८ नम्बर वडा कार्यालय भबन निर्माण गर्ने योजना पेस गरेको छ। तर स्टमेट पेसा नहुँदा पहिलो किस्ता रकम समेत जान सकेको छैन। जिल्ला समन्वय समितिले दुई चरणमा गरी रकम निकासा दिने निमित्त समन्वय अधिकारी चापागाँईले बताए। ‘सम्झौता गरेपछि र सम्पन्न गरेपछि भुक्तानी दिन्छौँ’ उनले भने। बारपाक सुलिकोट गाउँपालिकाले गाउँपालिकाको भबन निर्माण गर्ने योजना अघि सारेको छ। गण्डकी गाउँपालिकाले वडा नम्बर ६ को भवन र खानेपानी आयोजना निर्माण गर्ने निर्णय गरेपनि बजेट लगेको छैन। ‘यी स्थानीय तहले योजना पेश गरेपनि स्टमेट गरेर बजेट निकासाको माग गरेका छैनन’ उनले भने।  

पालुङटार नगरपालिकाले कार्यालय भवन निर्माण गर्ने योजना पेस गरेको थियो। गोरखा नगरपालिकाले वडा नम्बर १२ को कार्यालय भबन पेश गर्ने योजना ल्याएपनि बजेट भने लगेको छैन। ८० लाखमा वडा भबन निर्माण गर्ने योजना पेश भएको र बाँकी रकमको योजना पेस हुन बाँकी रहेको उनले बताए। शहिदलखन गाउँपालिकाले गाउँपालिकाको भवन निर्माण गर्ने योजना पेस गरेको छ तर बजेट निकासा भएको छैन। भबन निर्माण अघि बढेको छैन।

अजिरकोट, सिरानचोक, धार्चे, आरुघाट र चमुनुब्री गाउँपालिकाले भने जिल्ला समन्वय मितिको मौजाद कोषमा रहेको रकम के मा खर्च गर्ने भन्ने यकिन गर्न सकेका छैनन्। यी स्थानी तहले योजना नै पेस नगरेको जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले बताए। ‘छिटो योजना पेस गर्न र सम्झौता गरेर काम गर्न पटक–पटक भनेका छौँ’ उनले भने ‘तर चासो दिएका छैनन्।’ योजना अनुगमनका क्रममा स्थानीय तहका प्रमुख, अध्यक्ष, प्रशासकिय अधिकृत सँग जिससबाट बिनियोजित रकम छिटो फस्यौट गर्न अनुरोध गरेपनि चासो नदिएको उनले बताए। ‘स्थानीय तहलाई आफ्नै बजेट  कहाँ खर्च गरुँ जस्तो भएको छ, यहाँबाट छुट्याएको बजेटमा खासै चासो दिएनन’ उनले भने।  

 

 

प्रकाशित: २९ श्रावण २०७७ १७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App