१६ चैत्र २०८० शुक्रबार
समाज

बेनीमा एकतर्फी ‘नो पार्किङ’

एकतर्फी पार्किङस्थलमा मेयर हरिकुमार श्रेष्ठ । तस्बिर: हरिकृष्ण गौतम

वर्षौंदेखि अस्तव्यस्त रहेको बेनीको पार्किङको समस्यालाई समाधान गर्न सुरू गरिएको एकतर्फी पार्किङ प्रभावकारी देखिएको छ। 

बेनी नगरपालिकाको आर्थिक तथा जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालयको प्राविधिक, म्याग्दी उद्योग वाणिज्य संघको सहकार्यमा बेनीबजारको प्रवेशद्धार, बजारभित्र एकतर्फी पार्किङको काम सुरू गरिएको हो। साँधुरो बेनीबजारको मुख्य र गल्लीमा जथाभावी पार्किङ गर्दा दुर्घटनाको जोखिम र बेनीबजार नै कुरूप बन्दै जान थालेपछि आइतबारदेखि लागू गरिएको नयाँ नियमलाई कडाईका साथ लागू गरिएपछि सवारीधनीले नियम अनुसार नै पार्किङ गर्न थालेका छन्।

साँधुरो बजारमा दुवैतर्फ पार्किङ गर्दा पैदलयात्रीलाई आवतजावतमा कठिनाईका साथै बजारमा सवारीसाधनको चाप धेरै देखिन थालेपछि सार्वजनि तथा निजी खुल्ला स्थानलाई प्राथमिकता दिँदै बजारभित्र एकसाता बायाँ र अर्को साता दायाँतर्फ पार्किङ गर्न गर्ने गरी संकेत चिन्ह राखिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए। ‘एकतर्फी पार्किङले पैदल यात्रीलाई पनि सहज हुन्छ,‘सवारी जाम कम भएको छ’ प्रनाउ कुँवरले भने । उनले ट्राफिकसहित प्रहरीले पार्किङको नियमित अनुगमन गर्ने, नियमित मिच्नेलाई कारवाही तथा सचेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गर्ने बताए।  

फुटपाथका पसल, ठेला गाडा व्यवस्थापन तथा घुम्ती र चोकमा ऐना समेत थप गर्न आवश्यक रहेको प्रनाउ कुँवरको भनाई छ। एकसातासम्म एकतर्फी पार्किङका बारेमा स्थानीयको प्रतिक्रिया समेत लिने र आवश्यकताका बारेमा जानकारी गराउने गरी वडाका जनप्रतिनिधिले समेत आवश्यक सहयोग गर्ने मेयर हरिकुमार श्रेष्ठले बताए।

‘अव्यवस्थित पार्किङले ठूलो समस्या निम्त्याएको छ,‘प्रहरीसँगको साझेदारीमा बजारलाई व्यवस्थित बनाउने प्रयासमा छौ’ मेयर श्रेष्ठले भने। उनका अनुसार सडकको दुवैतर्फ पार्किङ गर्दा दुर्घटनाको खतरा बढेपछि बजारभित्र रहेको मन्दिरको खुल्ला जमिनलाई समेत पार्किङको रुपमा प्रयोग गरिने बताए। 

पार्किङका साथै नगरपालिकाले बस तथा जिप काउन्टरलाई समेत बहुउद्देश्यीय मैदानबाट सेवा सञ्चालन गर्ने गरी आवश्यक पूर्वाधार बनाउने मेयर श्रेष्ठको भनाई छ। बजारभित्रका भिडभाड हुने स्थानमा सिसी क्यामेराको जडान गरिने बताए। एकतर्फी पार्किङका लागि निकट भविष्यमा प्रहरीले सचेतनामुलक कार्यक्रमसहित पार्किङस्थलमा स्वयंसेवक समेत खटाउने योजना बनाएको छ।  

एक महिनासम्म दायाँ र बायाँ तर्फ एक सातामा परिवर्तन गरिने भएपनि व्यवस्थित भएपछि हरेक साताको पहिलो ३ दिन बायाँ र पछिल्लो ३ दिन दायाँतर्फ पार्किङ गर्ने गरी ट्राफिक प्रहरीले हेरफेर गर्ने प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले बताए। उनले व्यवस्थापन गर्ने र ट्राफिक चिह्न राख्ने गरी बनाएको योजनाका लागि बजेट विनियोजन गरिएको बताए। 

बजारभित्र विद्यालयको बस रोक्न स्थान, जेब्रा क्रस, कन्भेक्स लेन्सको मर्मतको आवश्यकता रहेको बताए। बजारभित्र अधिकांश स्थानमा मोटरसाइकल पार्किङ क्षेत्र तोकिएको छ भने बजार नजिकै रहेको बहुउदेश्यीय मैदानमा चारपांग्रे सवारीसाधन पार्किङ गरिने छ।  

नियमित उल्लंघन गर्नेलाई तत्काल सवारीसाधन नै चाबीले ‘लक’ गर्न मिल्ने उपकरण समेत ट्राफिकले प्रयोग गर्ने भएको छ। नियमित विपरित पार्किङ गरिएका सवारीसाधनलाई प्रहरीले भ्यानमा राखेर प्रहरी कार्यालयका जरिवाना तिराएर मात्रै छोड्ने गरी प्रहरी समेत परिचालन गरिएको छ ।

प्रकाशित: २९ श्रावण २०७७ ११:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App