८ वैशाख २०८१ शनिबार
समाज

प्रदेश राजधानीमा बढ्दै जोखिम

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको जोखिम बढ्दै गएको छ। सरकारले लगाएको बन्दाबन्दी(लकडाउन) खुलेसँगै बजारमा सर्वसाधारणको भीडभाड बढ्नु र सरकारले निर्धारण गरेको जोखिम न्यूनीकरणका उपायन अपनाउँदा यहाँ जोखिम बढेको हो।

वीरेन्द्रनगरमा मंगलबार १९ र बिहीबार १७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य सुरक्षाका विधि नअपनाउँदा कोरोना संक्रमणको जोखिम बढेको स्थानीयको भनाइ छ। प्रदेश राजधानीमा कोरोना संक्रमित बढ्दै गएपनि प्रशासनले भने कुनै कदम चलाउन सकेको छैन। बजारको भीडभाड नियन्त्रण गर्नुको साटो जिल्ला प्रशासन कार्यालयले २५ गतेदेखि आफ्नो सेवा बन्द गरेको छ। ‘बजारमा कोरोना न्यूनीकरणका कुनै पनि उपाय नअपनाइ सर्वसाधारण हिँड्डुल गरिरहेका छन्,’वीरेन्द्रनगरका गगन खड्काले भने, ‘व्यापारी पनि स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदैनन्।’जसले गर्दा एकपछि अर्काे गरी संक्रमण फैलन सक्ने उनको भनाइ छ।

‘बजारको स्थिति नियन्त्रण हुन सकेको छैन,’ वीरेन्द्रनगरका स्थानीयले भने, ‘प्रशासनभने कुनै मतलब नराखी बसेको छ।’ यो भीडलाई नियन्त्रण गर्न नसके वीरेन्द्रनगरमा कोरोना संक्रमण भयावह स्थिति हुने उनको भनाइ छ। वीरेन्द्रनगरमा कोरोना संक्रमित बढ्दै जाँदा सर्वसाधारणहरुले तत्काल सिल गर्नुपर्ने बताउँदै आएका छन्। वीरेन्द्रनगरमा समुदायस्तरका कोरोना देखिएकाले परीक्षणको दायरा बढाउनु पर्ने स्थानीयको माग छ।

वीरेन्द्रनगरमा मात्रै एक हजार पाँच सय ९१ जनाको स्वाब परीक्षण गरिएको छ। जसमध्ये एक सय ७६ जनामा कोरोना देखिएको वीरेन्द्रनगर नगरपालिकाका सिनियर अहेब पर्शुराम खड्काले जानकारी दिए। तत्काल क्वारेन्टिन, आइसोलेसन र होम आइसोलेसनकालाई परीक्षण गरिएको नगरपालिकाले जनाएको छ। कोरोना संक्रमित बढ्दै गएपछि नगरपालिका र नगरका सबै वडाहरु एक हप्ताका लागि बन्द गरिएको नगरपालिकाका सिनियर अहेब खड्काले बताए। वीरेन्द्रनगरमा कोरोना संक्रमण बढ्दै गएपनि बजार व्यवसाय खुला छन्। यसले जोखिम झन निम्त्याउने स्थानीयको भनाइ छ।  

कर्णालीमा बिहीबार १८ जनामा कोरोना संक्रमण देखिएसँगै कर्णालीमा दुई हजार ९२ जनाको कोरोना संक्रमण देखिएको छ। प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा तीन सय ६२, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक सय ११, दैलेख अस्पताल एक सय ९ र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा एक सय १२ जनाको स्वाब परीक्षण गरिएको थियो। जसमध्ये प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको थियो। हालसम्म कर्णाली ४६ हजार ६२ कोरोना परीक्षण गरिएको छ।

प्रकाशित: २९ श्रावण २०७७ ११:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App