coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मुस्ताङमा पेट्रोलियम पदार्थको अभाव हुँदा सडक निर्माणमा समस्या

खच्चडबाट सामान ढुवानी गरिदैं । तस्बिर फाईल: नागरिक

हिमालपारीको जिल्ला मुस्ताङमा पेट्रोलियम पदार्थ, ग्यास तथा खाद्यान्नको अभाव छ । पेट्रोलियन पदार्थको अभावले सडक निर्माण प्रभावित हुन पुगेको छ । ग्यास तथा खाद्यान्नको अभावको मार बढी सडक निर्माणमा खटिएका मजदुर, राष्ट्रसेवक कर्मचारी एवं सुरक्षा निकाय बढी प्रभावित हुन पुगेको छ ।  

मुस्ताङ जाने म्याग्दीस्थित गलेश्वर भन्दा माथिको पुल भत्किएपछि समस्या सृजना भएको हो । गत असार २६ गते आएको बाढीले पुल भत्काएपछि मुस्ताङ प्रवेश ठप्प भएको थियो । यातायात ठप्प हुदाँ झण्डै एक महिनादेखि मुस्ताङमा खाद्यान्न लगायतका सामाग्री ढुवानी हुन सकेको छैन् । ढुवानी नहुदाँ स्थानीयबासी भन्दा पनि दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु बढी पीडित भएको मुस्ताङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  

‘किनेर खाने समूहलाई ग्यास र खाद्यान्नको अभाव भएको छ’ मुस्ताङस्थित प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले भने–‘पेट्रोलियम पदार्थको अभाव उस्तै छ । सडक निर्माण(कालीगण्डकी करिडोर) काम रोकिएको छ ।’ उनका अनुसार पुल मर्मत सम्भार भएपनि भारयुक्त सवारी साधन आवातजावत नहुदाँ समस्या बढ्दै गएको हो । भारयुक्त सवारी साधन चलेका छैनन् । केही साना सवारी साधन चलेका छन् । तिनले केहीहदसम्म ढुवानी गर्दै आएका छन् । पेट्रोलियम पदार्थको अभावले सडक निर्माणमा प्रयोग भएका ठूला इकुपमेन्ट समेत थन्क्याउनुपर्ने अवस्था आएको छ ।  

ग्यास र खाद्यान्नसँगै पेट्रोलियम पदार्थको अभाव देखिएपछि सडक निर्माणमा असर परेपछि प्रशासनले अनुगमन समेत गरेको थियो । ‘पेट्रोलियम पदाथीको अभाव भएपछि बजार अनुगमन समेत ग¥यौं’ प्रजिअ अर्यालले भने–‘जगेडा राखेको भेटिएन् । जगेडा हुदाँ सडक निर्माणमा समस्या भएको छ ।’ उनका अनुसार खाद्यान्न अभाव भएका सर्वसाधारणलाई खाद्य संस्थानबाट उपलब्ध गराइएको छ । प्रति परिवार एक बोरा चामल उपलब्ध गराएको छ । ‘खाद्यान्न आवश्यक परेकोलाई उपलब्ध गराउँदै आएका छौं ।’ उनको भनाई थियो ।  

पेट्रोलियम पदार्थको अभावकै कारण कालीगण्डकी करिडोरको निर्माण अझै लम्बिने सम्भावना देखिएको छ । बेनीदेखि जोमसोम ७२ किलोमिटरको दुरी छ । जोमसोमदेखि कोरलानाका एक सय किलोमिटरको दुरी छ । मुस्ताङको विशेष गरी समरभीर सबैभन्दा जोखिमपूर्ण क्षेत्र हो । ‘एक महिनासम्म ढुवानी नहुदाँ पेट्रोलियम तथा ग्यासको अभाव बढ्दै गएको छ ’ स्थानीय गण्डकी प्रदेश सदस्य चन्द्रमोहन गौचनका स्वकीय सचिव जीवन गोतामेले भने–‘अझै हप्ता दशदिनसम्म ढुवानी नभए संकट नै हुन्छ ।’ उनका अनुसार जोमसोमबासीले लोमान्थाङबाट नै ग्यास ल्याई चलाएका छन् ।

मुस्ताङमा मासिक ३ हजार सिलिण्डर खपत हुने स्थानीय व्यवसायी बताउँछन् । ‘बाटो सहज छैन् । कतिपयले लोमान्थाङबाटै ल्याएर काम चलाएका छन्’ जोमसोमस्थित विष्णु सप्लायर्सका सञ्चालक विष्णु रिजालले भने–‘अभाव हुदैं गएको छ । अब ढुवानी नभए समस्या बढ्छ ।’ कालीगण्डकी करिडोर निर्माण विभिन्न खण्डमा काम हुदैं आएको छ । कोभिड–१९ को कारण मजदुर भने कम छन् ।

हिमालीपारीको जिल्ला मनाङमा भने खाद्यान्न लगायतको समस्या छैन् । सडक कतै कतै बिग्रिएपनि अभावैको अबस्था भने नआएको मनाङस्थित सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले बताईन् । ‘अभाव भयो भनेर हामीलाई खबर आएको छैन्’ सहायक प्रजिअ चालिसेले भनिन–‘समस्या भएको भए जानकारी आउँथ्यो । तर समस्या भएको छैन् ।’

प्रकाशित: २९ श्रावण २०७७ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App