८ आश्विन २०७७ बिहीबार
समाज

कोरोना संक्रमितः गाउँमा घट्दै, सहरमा बढ्दै

गण्डकी प्रदेशको मुकाम पोखरामा सबैभन्दा बढी संक्रमित

कोरोना भाईरस संक्रमण फैलिँदै गर्दा सुरुवातताका कास्कीमा अलि ढिलागरि संक्रमित भेटिएका थिए। आसपासका जिल्लामा संक्रमण तीव्र रुपले फैलिँदा पनि कास्कीमा भने उत्तिसारो संक्रमणले गति लिएको थिएन। त्यसले गर्दा गण्डकी प्रदेशको मुकाम पोखरा अलि सुरक्षित रहेको चर्चा सबैतिर सुनिन्थ्यो। तर, अहिले भने गण्डकी प्रदेशमा कास्की नै सबैभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला बनेको छ।

अहिले प्रदेशभर १५२ जना सक्रिय संक्रमित रहँदा सबैभन्दा बढी कास्कीमा मात्र ६० जना रहेका छन्। गण्डकी प्रदेशमा सबैभन्दा पहिला बागलुङपछि स्याङजामा संक्रमित फेला परेका थिए। भारतबासी नेपाली युवाको घर फिर्तिसँगै स्याङजा, पर्वत, बागलुङ, गोरखा, तनहुँमा संक्रमणको दर बढि देखिन्थ्यो। ती जिल्लाका गाउँगाउँमा रहेका क्वारेन्टिनमा भारतबाट फर्केका युवाहरुको भीडभाड नै थियो। क्वारेन्टिनमा बसेका युवाको परीक्षण गर्दा संक्रमण पनि उल्लेख्य रुपमा बढेको देखिएको थियो। तर जब क्वारेन्टिनमा बसेका युवाको संख्या घट्दै गयो, गाउँगाउँमा संक्रमितको संख्या पनि ओरालो लाग्दै गयो।  

तर, पछिल्लो समय भने कास्कीमा संक्रमणले गति लिएको छ। ती मध्येपछि अधिकांश संक्रमित पोखराका छन्। कास्कीमा सबैगरि १९५ जना संक्रमित भेटिँदा अहिलेपनि ६० जनामा संक्रमण छ। गण्डकी प्रदेशमा सबैभन्दा बढी सक्रिय संक्रमित भएको जिल्ला अहिले कास्की बनेको छ। त्यसपछि ४८ जना संक्रमित स्याङजामा छन्। मनाङ र मुस्ताङमा अहिले कोही संक्रमित छैनन्। प्रदेशमा सबैभन्दा बढी संक्रमित भेटिएको जिल्ला नवलपुरमा ३३२ जनामा संक्रमण पुष्टि भएकोमा ६ जनामा मात्र संक्रमण सक्रिय छ। बागलुङमा अहिले १८ जनामात्र सक्रिय संक्रमित छन्। पर्वतमा ५ र म्याग्दीमा १ जना मात्र संक्रमित निको हुन बाँकी छ। तनहुँमा ९, गोरखामा ३ र लम्जुङका २ जनालाई निको हुन बाँकी छ।  

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्मा पोखरा भएकोले संक्रणको हिसाबले अन्यत्रको तुलनामा अहिले कास्कीमा बढी फेला परेको बताउँछन्। सुरुवातताका भारतबाट फर्केका युवाको भीडभाडका कारण जिल्लाका ग्रामिण क्षेत्रका क्वारेन्टिनमा बसेका युवामा संक्रमण देखिएकोमा अहिले भने पोखरा सहरमा बढी संक्रमण देखिन थालेको उनले बताए। ‘गाउँमा अब संक्रमण फैलने सम्भावना पहिले जति छैन,’ शर्मा भन्छन्, ‘गाउँमा संक्रमण नै फैलँदैन भनेर त भन्न मिल्दैन। तर, अब सहर केन्द्रीत संक्रमणले गति लिएको छ।’

उनका अनुसार गाउँमा संचालित क्वारेन्टिन अब पहिले भन्दा केही व्यवस्थित बनिसकेका छन्। क्वारेन्टिनमा बस्नेको सख्ंया पनि न्यून छ। क्वारेन्टिनमा बसेका युवाहरु परीक्षणपछि मात्र घर फर्केकाले गाउँमा संक्रमण फैलिन नपाएको उनले बताए। ‘अबको बढी त्रास नै सहरमा हो,’ उनले भने, ‘सहरमा बढी त्रास भन्दैमा गाउँ पुरै सुरक्षित पनि बनिसकेका होईनन्।’ निर्देशक शर्माले प्रदेशमा सक्रिय संक्रमितको हिसाबले अझैपनि समुदायमा संक्रमण फैलिएको भन्न नमिल्ने बताए। उनका अनुसार समुदायमा संक्रमण फैलिँदा अहिले भन्दा निकै नै डरलाग्दो अवस्था आउँछ। अहिले समुदायमा छिटफुट रुपमा संक्रमित फेला परेपनि पुरै समुदायमा फैलिएको भन्न नमिल्ने उनले बताए। समुदायमा फैलिएको नभई ट्राभल हिस्ट्रि नै नभएका व्यक्तिमा भने संक्रमण देखिएको उनले बताए। जनघनत्व र हिडडुलका कारण सहरमा बढी संक्रमण बढ्दै गएको उनले बताए।

‘अहिले हामीले स्वास्थ्यको प्रोटोकल अनुसार परीक्षण बढाएका छौ। ट्राभल हिस्ट्रिबिना फेला परेका संक्रमितको कन्ट्याक्ट टे«सिङको काम गरेका छौ। त्यस्तै ‘पपुलेसन लेयर’ अनुसार विभिन्न समूहमा काम गर्ने व्यक्तिको नमूना परीक्षण गरेका छौ,’ उनले भने। प्रयोगशालामा कुनैबेला २५ सयमाथि नमूना परीक्षणका लागि पेन्डिङ रहने गरेकोमा अहिले भने शुन्यमा झारेको उनले बताए। ‘अब त हामीले २४ घण्टामै परीक्षण सकेर रिपोर्ट दिन सक्ने भएका छौ। हामीसँग जनशक्ति र प्रविधि तथा प्रयोगशाला थपिएको छ, अझै थप्ने क्रममा छौ,’उनले भने।

पछिल्लो समय गण्डकीको मुकाम पोखरामा संक्रमित बढी भेटिनुलाई निर्देशक शर्माले ट्रान्जिटको परिणाम भएको बताउँछन्। पोखरा हुँदै विभिन्न जिल्लामा आउजाउ गर्ने भएकोले पोखरामा संक्रमण फैलिएको उनले बताए। ‘प्रदेशका अधिक जिल्लामा आउजाउ गर्दा पोखरा ट्रान्जिट बनेको छ। त्यसले गर्दा पोखराभित्र बढी संक्रमित फेला परेका हुन,’ उनले भने।  

पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माका अनुसार कास्कीमा फेलापरेका मध्ये १६९ जना संक्रमित पोखरा महानगरभित्रका हुन्। अहिले रहेका सक्रिय ६० जना संक्रमितमध्ये पनि अधिकांश पोखराकै भएको उनले बताए। उनका अनुसार कामको खोजिमा धेरैतिरबाट सहरमा झरेकोले यहाँ संक्रमणको त्रास बढेको हो। अर्ध औद्योगिक क्षेत्रमा (ग्यारेज, वर्कसप) लगायतमा काम गर्ने जनशक्ति बाहिरबाट आउँदा बढी जोखिम थपिएको उनले बताए। अर्धऔद्योगिक क्षेत्रमा काम गर्ने ती कामदारमध्ये अधिकांश तराई र भारतको विहारबाट आएकाले संक्रमण भित्रिएको उनले बताए।  

‘अर्ध औद्योगिक क्षेत्रमा काम गर्ने उनीहरुलाई हामीले थाहा पाएसम्म क्वारेन्टिनमा राख्ने हो। तर, लुकिछिपि आएकोले सबैलाई नियन्त्रण सम्भव भएन,’ महानगरका शर्माले भने, ‘साइकलमै भारतको बिहारबाट मान्छे आए, उनीहरुलाई क्वारेन्टिनमा लैजानेगरि रोक्न सकिएन।’ संक्रमण बढ्दै जाँदा गाउँमा भन्दा सहरमा त्रास बढेको उनले बताए। ‘हिजो गाउँगाउँमा भारतबाट आएका युवाको भीड थियो। भारतबाट घर फर्केका युवालाई गाउँ छिर्न नदिँन गाउँले नै सक्रिय भए,’ उनले भने, ‘तर, सहरमा यो सम्भव भएन। को कहाँ बस्छ भनेर कसैले भन्न सक्ने अवस्था रहेन।’ गाउँमा सहरबाट को आउँदैछ भनेर गाउँलेले थाहा पाउँदा क्वारेन्टिनमा राख्न सहज भएको उनले बताए।  

‘गाउँलेले भाईछोरा भनेर माया गरेनन, भित्रिएका सबैलाई क्वारेन्टिनमा राख्न अभिभावक तयार भए,’ उनले भने, ‘तर सहरमा त्यो अवस्था रहेन। दिनरात बाहिरबाट मान्छे आए, उनीहरुलाई कतै रोकावट भएन। पहिचान गर्न पनि हामीलाई सकस भयो।’ ग्रामिण क्षेत्रमा क्वारेन्टिनमा बसेका युवाहरु निको भएपछि मात्र घर फर्किदा समुदायमा संक्रमण फैलिन नपाएको उनले बताए। ‘हामीले जहाज चढेर अरबबाट आउनेलाई मात्र पहिचान ग¥यौं र क्वारेन्टिनमा राख्यौ। तर, साइकल चढेर आउनेलाई रोक्न सकिएन,’ महानगरका शर्माले भने, ‘अब गाउँमा भन्दा सहरमा डर भयो।’  

गण्डकीमा कास्कीपछि स्याङजामा यो बेला सक्रिय संक्रमित बढी छन्। स्याङका स्वास्थ्य कार्यालयका प्रमुख याम शर्माका अनुसार सुरुवातताका जिल्लामा दिनहुँजसो संक्रमित थपिएपनि ती क्वारेन्टिनका युवाहरु थिए। क्वारेन्टिनमा बसेकोले उनीहरुले गाउँमा कसैलाई संक्रमण सार्न पाएका थिएनन्। तर, अहिले मान्छेको मुभमेन्ट पनि बढेकोले सहरमा बढ्दो संक्रमण रहेको उनले बताए।  

‘क्वारेन्टिनमा हुँदा नियन्त्रणमा सहज भएको थियो,’ स्याङजाका शर्माले भने, ‘हिजोसम्म क्वारेन्टिनमा थुनिएका थिए। तर, अहिले खुलमखुला भयो।’ मान्छेको मुभमेन्ट अहिले सहरमा रहेको र जनघनत्व पनि बढी हुँदा सहरमा संक्रमण बढेको उनले बताए। ‘सहरमा त क्वारेन्टिनमा राख्न पनि समस्या भयो। गाउँमा त खुलमखुला हिडदा पनि कसैसँग नजिक नपरि हिड्न सकिन्छ। तर, सहरमा कतै न कतै ठोकिन पुगिन्छ,’ उनले भने। उनका अनुसार अहिले स्याङजाका ग्रामिण क्षेत्रमा न्यून संख्यामा मात्र संक्रमित भएपनि सहरमा भने केही बढि छन्।

प्रकाशित: २९ श्रावण २०७७ १६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App