१६ चैत्र २०८० शुक्रबार
समाज

नेपालगन्जका कर अधिकृतसहित ३० जना डिस्चार्ज

कोरोना भाइरस संक्रमित भएर आइसोलेसनमा बसेका आन्तरिक राजस्व कार्यालय नेपालगन्जका कर अधिकृतसहित ३० जना डिस्चार्ज भएका छन् । बिहीबार डिस्चार्ज हुनेमा आन्तरिक राजस्व कार्यालयका कर्मचारी, कर्मचारीका आफन्त, त्रिभुवनचौक क्षेत्रका बासिन्दालगायतका छन् ।  

खजुरास्थित सुशिल कोइराला क्यान्सर अस्पताल र नेपालगन्जमा रहेको आइसोलेसन सेन्टरमा बसेको १४ दिनपछि उनीहरु घर फर्किएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । घर फर्किएकाहरु अझै एक साता होम क्वारेन्टिनमा बस्नेछन् ।  

गत साउन ५ गते मानिसहरुको चाप धेरै हुने त्रिभुवनचौकका एक मिठाइ पसलका मालिकसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँगै आन्तरिक राजस्व कार्यालयका कर अधिकृतसहित ७ कर्मचारी र उनीहरुका ५ जना आफन्त, राप्ती सोनारी गाउँपालिका र होल्डिङ सेन्टरमा गरिएको परीक्षण गरी एकै दिन ३० जनामा संक्रमण देखिएको थियो ।  

साउनको पहिलो साता संक्रमितको संख्या एक्कासी बढेदेखि नेपालगन्जमा निषेधाज्ञा लगाइदै आएको छ । पछिल्लो समय बाँकेमा समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएको भन्दै स्थानीय प्रशासनले शुक्रबारसम्मका लागि निषेधाज्ञा लगाएको छ ।  

बिहीबार डिस्चार्ज भएका ३० जनासहित बाँकेमा निको भएर घर फर्कनेको संख्या ४ सय ३५ जना पुगेको छ । बाँकेमा बुधबारसम्म भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा १ हजार १ सय ७७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । त्यसमा २ सय १९ जनाले उपचार गराइरहेका छन् । कोरोनाका कारणले बाँकेमा ३ जनाको मृत्यु भैसकेको छ ।  

बाँकेमा पछिल्लो समय कोरोना व्यवस्थापन र उपचारमा संलग्न ब्यक्तिहरु संक्रमित भैरहेका छन् । नेपालगन्जमा वडा प्रहरी कार्यालय, स्वास्थ्यकर्मी, आन्तरिक राजस्व कार्यालय, मालपोत कार्यालय लगायतका सरकारी कार्यालयका कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भैसकेको छ ।

प्रकाशित: २९ श्रावण २०७७ ०७:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App