८ वैशाख २०८१ शनिबार
समाज

विपदमा पनि भ्रष्टाचार

अनियमितताको ‘हटस्पट’ स्थानीय तह

प्रतिकात्मक तस्वीर

असार ३१ गते घुस रकमसहित पक्राउ परेका कल्याणपुर नगरपालिका प्रमुख र उनका छोराविरुद्ध अख्यितराले विशेष अदालतमा मुद्दा दायर गरेको छ। प्रमुख सूर्यनाथ मण्डल धानुक र उनका छोरा सन्त कुमार मण्डलउपर पाँच लाख विगो कायम गरी बुधबार घुस लिइ भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरिएको छ।  

डिपिआर कार्य सम्पन्न गरे पनि भुक्तानी दिनुअघि घुस रकम लिन मेयरले आफ्नो छोरा सन्तकुमार मण्डललाई पठाएको सूचनाको आधारमा अख्तियारको वर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई पाँच लाख घुससहित पक्राउ गरेको अख्यिार प्रवक्ता तारनाथा अधिकारीले बताए। अनुसन्धानको क्रममा कल्याणपुर नगरपालिकाका प्रमुख मण्डल र उनका छोराले मिलेमतो गरी डिपिआर कार्य सम्पन्न भए पनि चेक रोकेर राखेको खुलेको छ।

 चेक रोकेर घुस माग माग गरी मेयरले घुस लिन छोरालाई पठाएको अख्यितरले अनुसन्धानबाट खुलाएको छ।  चेक साट्ने अन्तिम म्यादको दिन मेयरका छोरा पक्राउ परेका थिए। सेवाग्राहीबाट मेयरले छोरामार्फत घुस रकम बुझिलिएको तथ्य सप्रमाण पुष्टि हुन आएकोले मेयर मण्डलको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको ठहर गर्दै अख्तियारले मण्डललाई पाँच लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजायको माग दाबी लिइएको छ।

त्यसैगरी मेयर मण्डलको निर्देशनमा छोराले सेवाग्राहीसँग घुस बार्गेनिङ गरी आफूलाई समेत लाभ हुनेगरी पाँच लाख घुस लिएको पुष्टि भएको अख्तियारको ठहर छ। घुस लिएर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर गरेको हुँदा मेयरको छोरालाई सोही दफा ३ को उपदफा (२) मा उल्लेख भएबमोजिम घुस लिएको पाँच लाख बिगो कायम गरिएको छ। उनीमाथी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको प्रवक्ता अधिकारीले बताए।

कोराना संक्रमण नियन्त्रण प्रयोजनार्थ सिरहा नगरपालिकाले खरिद गरेको सामग्रीमा अनियमितता छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले केही कागजातको प्रतिलिपी लिएर गएको छ। नगरपालिकाले सार्वजनिक गरेको खर्च विवरणअनुसार एक थान तकिया खोलको २८ सय ७६ रुपैयाँ ३५ पैसा, एक थान तन्नको ८ हजार ७१ रुपैयाँ २५ पैसा उल्लेख छ। यसै विवरणको आधारमा स्थानीयले गरेको उजुरीको आधारमा अख्तियार नगरपालिकाबाट कागजात लिएर गएका छन्।

अख्तियारले छानविनका लागि केही कागजात लिएर गएपछि नगरपालिकाले पुनः अर्को खर्च विवरण सार्वजनिक गरेर हिसाव मिलाउने प्रयास गरेको छ। प्रथम पटक सार्वजनिक गरिएको खर्च विवरणअनुसार १ सय ११ थान तकिया खोलको तीन लाख १९ हजार २ सय ७५ उल्लेख छ। जसलाई अहिले सच्याएर ३१ हजार ९ सय २६ रुपैयाँ ५० पैसा बनाइएको छ। ५ सय ५८ थान तन्नाको ४५ लाख ३७ हजार ७५ सार्वजनिक गरिएकोमा ४ लाख ६० हजार ७ सय ७२ रुपैयाँ २२ पैसा सच्याइएको छ।

पहिला जोखिम भत्ता(कर्मचारी खर्च) १३ लाख ५४ हजार सार्वजनिक गरिएको थियो। अहिले यो शिर्षकमा ५७ लाख ६० हजार ५ सय ५२ रुपैयाँ खर्च पुर्याइएको छ। लामखुट्टे मार्ने औषधि छर्किने कार्यका लागि मजदूरहरुको पारिश्रमिक रकम भुतmानी शिर्षक थपेर १८ लाख ३६ हजार ४ सय ५० रुपैयाँ खर्च देखाइएको छ। पहिला ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैयाँ खर्च सार्वजनिक गरेकोमा अहिले ५ करोड ९१ लाख १८ हजार २ सय ९७ रुपैयाँ ७७ पैसा पुर्याइएको छ।  

सिरहा नगरपालिकाले अख्तियारको कारवाहीबाट जोगिन विभिन्न दाउपेच अपनाईरहेको बेला मेयरका प्रत्यासी नवीनकुमार यादवले कोरोना महामारीको नाममा भएको भ्रष्टाचारको ईमान्दार छानविनको माग गरेका छन। आम जनताको रकको रकममा भएको भ्रष्टाचार छानविन गरी दोषी उपर कारवाही हुनुपर्छ उनले भने,‘अख्यिारमाथीको जनभरोसा कायम राख्न यस नगरपालिकामा अनियमितता गर्नेउपर कारवाही हुनुपर्छ।’

सखुवानन्कारकट्टी गाउँपालिकाले कोरोनाको नाममा जेठसम्म १ करोड ३४ लाख ३१ हजार १ सय ३९ रुपैयाँ खर्चको एकमुष्ट हिसाव प्रशासनलाई बुझाएको छ। असार महिनाको खर्च लुकाएर बिना शिर्षक गोलमटोल हिसाव दिएर अनियमितता लुकाउन खोजिएको छ स्थानीय बुद्धिजीवी दिपेश यादवले भने,‘खर्चको शिर्षकसहित पूर्ण विवरण सार्वजनिक गरिनुपर्छ। कोरोनाको नाममा जनप्रतिनिधिदेखि कर्मचारीले रजाइँ गरेका छन।’ 

पहिला अनियमित खर्च गरेपछि श्रेस्ता मिलाएर अनियमितता छोप्ने कार्य यस गाउँपालिकाका लागि नौलो नभएको उनको भनाइ छ।  औरही गाउँपालिकाले कोरोना संक्रमण नियन्त्रणमा एकमुष्ट २ करोड २० लाख ८० हजार ९ सय ३० रुपैयाँ खर्च देखाएर अनियमितता गरेको स्थानीय बुद्धिजीबीहरुको आरोप छ। बुधबार स्थानीय युवा तथा बुद्धिजीबीहरुले खर्च पारदर्शी गर्न औरही गाउँपालिकामा प्रदर्शन गरेका छन्। शिर्षक खुलाएर खर्च विवरणका लागि निवेदन दर्ता गराउँदा समेत नपाएको स्थानीय दिपेन्द्र यादवले बताए। उनले भने,‘कोरोनाको नाममा लुट मच्चाइएको छ। शिर्षक खुलाएर खर्च सार्वजनिक भए अनियमितताको पोल खुल्छ।’

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलकाअनुसार १७ वटा स्थानीय तहमध्ये सिरहा नगरपालिकाले मात्र शिर्षकसहितको खर्च विवरण सार्वजनिक गरेको छ। बाँकीले एकमुष्ट विवरण बुझाएको छ। त्यसमा पनि असार महिनाको खर्च संलग्न गरिएको छैन, उनले भने। सबैलाई असार मसान्तसम्म भएका खर्च शिर्षकसहित बुझाउन भनेको छुँ, उनले भने।

प्रकाशित: २९ श्रावण २०७७ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App