७ वैशाख २०८१ शुक्रबार
समाज

उपचार नपाएर गयो बालकको ज्यान

बाराका ९ वर्षीय बालक सुशीलकुमार साहले अस्पतालले उपचार नगर्दा ज्यान गुमाएको परिवारले आरोप लागएका छन्। मंगलबार बिहान १० बजे वीरगन्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बारागढी गाउँपालिका–२ सुखीपत्रा घर भएका बालकको मृत्यु भएको हो।

आइतबार स्थानीय स्वास्थ्य चौकीमा उपचार गराएर झाडापखाला र बान्ता ठिक नभएपछि सोमबार बिहान करिब २ बजे सुशीललाई उनका परिवारकाले थप उपचारका लागि वीरगन्ज लिएर आएको थियो। उनीहरूका अनुसार वीरगन्जका पाँच वटा अस्पतालमा जाँदा कसैले भर्ना लिएन। प्रहरीको भनसुनपछि दोस्रोपटक जाँदा नेसनल मेडिकल कलेजले सोमबार बिहान ९ बजे भर्ना लिएको थियो। आइसीयुमा उपचार नगरी छुट्टै कोठामा राखेको र दिनभरि उपचार नगरेको मृतकका भिनाजु उपेन्द्र साहको भनाइ छ। अर्को दिन मंगलबार बालकको मृत्यु भएको थियो।  

परिवारकाले सुशीललाई पहिले नेसनल मेडिकल कलेज नै लिएर आएका थिए। आइसीयु खाली नभएको भन्दै त्यहाँका कर्मचारीले तराई अस्पताल लैजान सुझाव दिएपछि बिरामीलाई त्यहीँ छोडेर उनका भिनाजु उपेन्द्र मोटरसाइकलमा तराई अस्पताल पुग्दा त्यहाँ पनि बेड नभएको बताइयो। सुशीलको स्वास्थ्य बिगिँ्रदै गएपछि उनले पानीट्यांकीचोकमा रहेको एलएस न्युरो अस्पतालमा लिएर गएका थिए। त्यहाँ बालकका अभिभावकसँग १० हजार रुपैयाँ अग्रिम जम्मा गर्न लगाएको भए पनि आइसीयुमा भर्ना गर्ने बेला अन्यत्र लैजान भनिएको थियो। ‘त्यसपछि भवानी हस्पिटल पनि गयौं। त्यहाँ पनि ठाउँ खाली छैन भनेर फर्काए,’उपेन्द्रले भने।  

वीरगन्जका पाँच वटा अस्पतालमा लैजाँदा पनि बालकलाई भर्ना नगरेको गुनासो  

स्वास्थ्य बिग्रदैं गएका बिरामी बालकलाई लिएर उनका परिवारजन निकै हतोत्साहित हुन लागेका थिए। बिहान करिब ७ बजे वीरगन्जको घन्टाघर चोकमा तैनाथ प्रहरीले नारायणी अस्पताल लैजान सुझाए। नारायणीको आकास्मिक कक्षमा रहेका स्वास्थ्यकर्मीले बालकको अवस्था गम्भीर भइसकेकाले आइसीयुमा भर्ना गर्नुपर्ने भन्दै फिर्ता गरिदिएको उपेन्द्रले बताए। त्यहाँबाट उनले पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तलाई फोन गरेर समस्या सुनाए। ‘नेसनल मेडिकल जानुस्। बच्चाको उपचार हुन्छ, त्यहाँ ड्युटीमा रहेको प्रहरीलाई भनिदिन्छु भनेपछि परिवारकाले पुनः बिहान ९ बजेतिर सुशीललाई लिएर मेडिकल कलेज पुगेका थिए।

दोस्रोपटक जाँदा भर्ना लिए पनि आकस्मिक वा आइसीयु कक्षमा उनलाई राखिएन। परिवारले बताएअनुसार बेग्लै कोठामा अक्सिजनको पाइप लगाएर राखिदिए। दिउँसो बच्चाको कोरोना परीक्षण गराउनुपर्छ भनेपछि एम्बुलेन्समा राखी नारायणी अस्पताल लगेर स्वाब दिन लगाइएको थियो। उपेन्द्रका अनुसार बिरामी बालकका परिवारले किनिदिएको पिपिई लगाएर राति करिब ९ बजे मात्र स्वास्थ्यकर्मी सुशीललाई हेर्न आएका थिए। उनी मंगलबार बिहान कोरोना परीक्षण रिपोर्ट लिन नारायणी प्रयोगशाला पुग्दा सुशीलको मृत्यु भएको खबर आएको थियो। पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ।  

अस्पतालको लापरबाही  

वीरगन्जका अस्पतालहरूलाई बिरामीको उपचार अस्वीकार नगर्न अदालतले अन्तरिम आदेश जारी गरिएकै दिन नै बिरामीले उपचार नपाएर ज्यान गुमाउनु परेको छ। मंगलबार नै उच्च अदालतको अस्थायी इजलासले ‘स्वास्थ्य संस्थामा उपचार गराउन गएका बिरामीलाई उपचार सेवा दिन र दिलाउन कुनै पनि बहाना माइन्कार नगर्नू र नगराउनू भनी वीरगन्जका सम्पूर्ण सरकारी तथा निजी अस्पतालका नाममा अन्तरिम आदेश जारी गरेको थियो। यसअघि पनि वीरगन्जमा यस्ता चारवटा घटना भएका छन् ।

प्रकाशित: २९ श्रावण २०७७ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App