१६ चैत्र २०८० शुक्रबार
समाज

कोरोना जाँच गरेर मात्र प्रवेश दिन निर्देश

 प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले कोरोना भाइरस संक्रमणको जोखिम बढेकाले सीमाक्षेत्रबाट नेपाल आउने सबैको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठकले सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने व्यक्तिको पहिचान खुल्नेगरी अभिलेख राख्न र स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको हो। समितिले कोरोना परीक्षण गरेको भए त्यसको रिपोर्ट हेरेर र परीक्षण नगरेको भए जाँच गराएर मात्रै प्रवेश गर्न दिने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ।

समितिले नेपाल प्रवेश गर्न तोकिएका सीमानाकामा कडाइका साथ जाँच गर्न सरकारलाई भनेको छ। समितिले उपत्यकामा प्रवेश गर्ने नाकामा चेकजाँचलाई कडाइ गर्न तथा एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्दा पनि जाँचमा कडाइ गर्न निर्देशन दिएको छ। समितिले एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्दा स्वास्थ्य परीक्षण गरेर मान्त्र जिल्ला प्रवेश गर्न दिने व्यवस्था मिलाउन भनेको छ। नेपालमा चीन र भारतका सीमाबाट नेपाल प्रवेश गर्न मिल्छ। गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतबाट नेपाल प्रवेश गर्न १० वटा सीमा नाका तोकेको थियो। यसअघि २० वटा नाकाबाट नेपाल प्रवेश गर्न दिइएकामा अहिले घटाएर १० मा झारिएको छ।  

सीमासम्बन्धी निर्देशन  

समितिले लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्तालगायत नेपाल भारतबीच सीमा विवादको समेत स्थायी समाधानका लागि अहिलेसम्म भएका पहलकदमीको सम्बन्धमा जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। बैठकले नेपालका तर्फबाट सीमा सुरक्षा बलको स्थायी ब्यारेक खडा गरी सीमाको स्थायी सुरक्षाको व्यवस्थापन गर्ने सम्बन्धमा समितिले अहिलेसम्म दिएका निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्नसमेत निर्देशन दिएको छ।

कञ्चनपुरलगायतका भारतसँग सीमा जोडिएका जिल्लामा तयार पारेको स्ट्रिप नक्सा र सीमा सम्बन्धमा जानकारी गराउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ। सीमा सम्बन्धमा दुई देशबीच हुने छलफलमा विवाद बाँकी नरहने गरी टुंगोमा पु¥याउन समितिले भनेको छ।  

समितिमा उपस्थित गृहमन्त्री रामबहादुर थापाले नेपाल र भारतबीच सीमा निर्धारण गर्दा नदीलाई सीमा मान्ने सिद्धान्तलाई प्रचलनमा ल्याइएको भन्दैे नदीले धार परिवर्तन गर्दा पनि सीमा परिवर्तन भएको बताए। सीमा विवाद दुई पक्षबीचको समस्या भएकाले कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित: २९ श्रावण २०७७ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App