१० आश्विन २०७७ शनिबार
समाज

डोटी बस घटनाः ३ को मृत्यु, ३३ जना घाइते(नामावलीसहित)

सडक दुर्घटनामा परेको बस । तस्बिरः नागरिक

डोटीको पूर्वीचौकी गाउँपालिका–१, खिरसैनमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ, भने ३३ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज र ७ जनालाई धनगढी पठाइएको छ ।

कोरोनाका कारण भारतबाट स्वदेश फर्केकाहरु चढेको ना ६ ख २५२९ नम्बरको यात्रुवाहक बस बुधबार बिहान ६ बजेतिर डोटीको पूर्वीचौकी गाउँपालिका–१, तल्लो फुलौटमा दुर्घटनामा परेको थियो । ‘हिजो बेलुकी धनगढीबाट यात्रु बोकेर अछाम जाँदै गरेको यात्रुबाहक बस बुधबार बिहान तल्लो फुलौटमा दुर्घटनामा परेको हो,’ डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले भने,‘बिहान एउटा घाइतेले प्रहरीलाई फोन गरेपछि हामी पछ्याउँदै त्यहाँ पुगेर उद्वार गर्‍यौँ ।’  

घटनामा परेर चौरपाटी गाउँपालिका–७, मार्कुका बसका सहचालक समेत रहेका  ३१ वर्षीय टीकाराम बिक, बान्नीगढी जयगड गाउँपालिका–३, धामीगाउँका ६० वर्षीय पदम साउँद र साँफेबगर नगरपालिका–२ घर भई हाल कैलाली नारायणपुर–४, बस्ने ५५ वर्षीया धनी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले बतायो ।  

प्रहरीकाअनुसार गम्भीर घाइते हुनेहरुमा विनायकका कल्धरी बिक र मनीराज जनालालाई नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएको छ भने अन्य ७ जनालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ । घाइते मध्ये बान्नीगढी गाउँपालिका–३, की ३७ वर्षीया धना साउँद, सोही ठाउँका २८ वर्षीय रेवन्त साउँद, मंगलसेन नगरपालिका–७ की २२ वर्षीया सीता जनाला, सोही ठाउँका ४४ वर्षीय गोरे ढुंगाना, र साँफेबगर नगरपालिका–७, का १० महिनाका विनय भण्डारी रहेका छन् ।  

यस्तै सामान्य घाइते हुनेहरुमा बान्नीगढी गाउँपालिका–३, का ३१ वर्षीय अर्जुन साउँद, २३ वर्षीय भरत साउँद, २३ वर्षीय गणेश साउँद, मंगलसेन नगरपालिका–७, का २५वर्षिय रमेश जनाला, २२ वर्षीया खीमा जनाला, उनकी दुई वर्षीया छोरी सृष्टि जनाला, १७ वर्षीय उमेश बिक, २१ वर्षीय दिनेश शाही, ३० वर्षीय रवि बिक, १५ वर्षीया भरोसा जनाला,  २२ वर्षीया गीता जनाला, २७ वर्षीय मनिष जनाला, ९ महिनाका मनिष जनाला, ३० वर्षीय दीपक शाही, ३८ वर्षीय गणेशकुमार जैगढी र मंगलसेन नगरपालिका–४, का २९ वर्षीय नवराज बिक  रहेका छन् ।  

यस्तै साँफेबगर नगरपालिका–७, की २९ वर्षीया अस्मिता भण्डारी, पाँच वर्षीया दुर्गा भण्डारी, विनायक नगरपालिका–८, का २९ वर्षीय मनोज नचेल, ४ वर्षीय रोशन नचेल, ३२ वर्षीया पार्वती नचेल, ३५ वर्षिय धिरेन्द्र नेपाली, १८ वर्षीय सुरेश बिक, १६ वर्षीय खेमराज भोटेल, ३९ वर्षीय राम रावल, २० वर्षीय प्रकाश थापा र कैलाली गोदावरी नगरपालिका–२, वनखेत बस्ने २६ वर्षीय हेमबहादुर खत्री सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।  

प्रारम्भिक रुपमा स्थलगत अध्ययन गर्दा खराब सडकमा बस अनियन्त्रित भएर डिलतर्फ गएका कारण दुर्घटना भएको बताइएको छ । सडकको डिलको सतह भाँसिएर बस सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले बतायो ।

प्रकाशित: २८ श्रावण २०७७ १८:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App