६ वैशाख २०८१ बिहीबार
समाज

छ वर्षदेखि साङ्लो र दाम्लोले बाँधेर राखिएका युवकको उद्दार

उपचार खर्चको अभावमा छ वर्षदेखि साङ्लो र दाम्लोले बाँधेर राखिएका कालिकोटका एक युवकको उद्दार गरिएको छ। मानसिक सन्तुलन गुमाएका पलाँता गाउँपालिका–९ थिर्पुका २५ वर्षीय पदम सुनारलाई कालिकोटका वकील बम र सुर्खेतका हरि विष्टको पहलमा उद्दार गरेर सुर्खेतस्थित मानव सेवा आश्रममा ल्याइएको हो। पदमलाई दुई दिन लगाएर मंगलबार राति कालिकोटबाट सुर्खेत ल्याइएको थियो। उपचार खर्च नहुँदा साङ्लो र दाम्लोले गोठमा बाँधेर राख्ने गरेको भाइ प्रेम सुनारले जानकारी दिए।  

‘हामी सानै हुँदा बुवा वित्नुभयो, आमा आँखा देख्नुहुन्न,’ २३ वर्षीय प्रेमले भने, ‘आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न नसक्ने भएपछि दाईलाई दाम्लोमा बाँधेर राख्ने गरेका थियौं।’ उनले उपचारका लागि आर्थिक सहयोग गरिदिन गाउँपालिकालाई आग्रह गरेपनि ढिलो सुनुवाई भएको बताए।  

प्रेमसहित छिमेकीले सोमबार थिर्पुदेखि जितेगडासम्म सात घण्टा डोरीले हात बाँधेर डोर्या उँदै पदमलाई ल्याए। त्यहाँबाट युवा संघ नेपालका केन्द्रीय सदस्य वकील बमले एम्बुलेन्सको व्यवस्थापन गरिदिए। ‘आर्थिक अवस्था कमजोर भएका कारण छ वर्षदेखि पदमलाई साङ्लो र दाम्लोले बाँधेर राखिएको जानकारी पाएपछि उद्दार गरेका हौं,’ बमले भने, ‘मानसिक समस्या भएकाहरुका लागि मानव सेवा आश्रम प्रभावकारी हुने भएकाले पदमलाई त्यहाँ पठाएका हौं।’  

तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टको पहलमा पदमको बुधबार र्यामपिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको छ। उनलाई मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शीको निगरानीमा राखेर उपचार गरिने छ। ‘आर्थिक अवस्था कमजोर भएका कारण उपचार हुन नपाएको जानकारी पाएपछि उद्दारको पहल गरेका हौं,’ विष्टले भने, ‘सुर्खेतमा उपचार गरेर निको हुँदासम्मका लागि सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी लिन्छु।’ पदमको उपचारका लागि पलाँता गाउँपालिकाले २० हजार रुपैयाँ सहयोग गरेको छ।  

 

 

प्रकाशित: २८ श्रावण २०७७ ०६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App