१५ चैत्र २०८० बिहीबार
समाज

दुर्घटनाका पीडितले राहत पाएनन्

भारतबाट आएका कर्णालीवासी चढेको सरकारी टिपर दुर्घटना हुँदा ज्यान गुमाएका र घाइतेका आफन्तले राहात नपाएको गुनासो गरेका छन् । सरकारले घोषणा गरेको राहत अहिलेसम्म पनि नपाएको पीडितको भनाइ छ । गते जेठ २८ गते भारतबाट घर फर्कंदै गरेका नागरिकहरू चढेको रास्कोट नगरपालिकाको टिपर लालीघाट बजार नजिकै दुर्घटना भएर कर्णाली नदीमा खस्दा पाँच जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका थिए । दुर्घटनाका पीडितले मृतकका परिवारलाई १० लाख राहत, घाइतेको उपचार र नदीमा बगेको सम्पत्तीको क्षतिपूर्ति दिने स्थानीय र प्रदेश सरकार प्रमुखले दिएको आश्वासन पूरा नभएको पीडितको भनाइ छ ।  

‘प्रदेश सरकारका मुख्यमन्त्री र नगर प्रमुख दुवैले क्षतिपूर्ति, उपचार र राहत दिने आश्वासन दिनुभएको थियो,’ पीडित हर्सिङ सार्कीले भने, ‘दुई महिना बित्यो अहिलेसम्म राहत पनि पाएका छैनौं ।’ उनले सरकारकै लापरबाहीले दुर्घटना भएको भन्दै टिपर चालक र सुरक्षाकर्मीमाथि कारबाही हुनुपर्ने माग पनि सम्बोधन नभएको बताए । ‘नगरपालिकाको सरकारी टिप्परमा धेरै मान्छे राखेपछि विवाद भएको हो, त्यहीँ विवादमा चालकले स्टेयरिङ छोडेर भागे,’ उनले भने, ‘जानाजान मान्छे मार्ने चालक र टिपरमा धेरै राख्दासम्म पनि वास्ता नगर्ने प्रहरीलाई पनि कारबाही हुनुपर्छ ।’ सरकारले गरेको प्रतिवद्धताअनुसारको राहत नदिएकाले आफूहरू थप पीडित बनेको घाइते मिन सार्कीले बताए । सरकारले गरेको बाचा पुरा नगरे आफूहरू आन्दोलित हुने उनले चेतावनी दिए ।  

घटनालगत्तै स्थानीय सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको थियो । अहिलेसम्म समिति पनि गठन भएको छैन् । नगरपालिकाले मृतकका परिवारलाई किरिया खर्चवापत ५०÷५० हजार रूपैयाँ दिएको बताए । ‘दस लाख दिने गरेर नगरसभाबाट निर्णय भएको छ,’ रास्कोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद आचार्यले भने, ‘चालु आर्थिक वर्षभित्रै पीडितले राहत पाउनुहुन्छ ।’ 

प्रकाशित: २८ श्रावण २०७७ ०३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App