८ वैशाख २०८१ शनिबार
समाज

प्रहरीलाई घुस खुवाएर भित्रिन्छन् भारतीय

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण विकराल मात्र बनेको छैन, मृत्युदरसमेत ह्वात्तै बढिरहेको छ । भारतबाट आउनेले नेपालमा संक्रमणको उच्च जोखिम बढाएको देखिन्छ । सरकारले साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ । तर सीमामा कडाइ नहुँदा सुदूरपश्चिमका विभिन्न नाकाबाट भारतीय नागरिक नेपाल भित्रिरहेका छन् । कैलालीका त्रिनगर नाका र आसपासका भूभाग तथा कञ्चनपुरको चाँदनी–दोधाराबाट भारतीय नागरिक प्रवेश गरिरहेका छन् । सीमामा खटिएका प्रहरीकै सहयोगमा उनीहरू सहजै नेपाल प्रवेश गरिरहेको जनाइएको छ ।

चैत ११ गतेदेखि सीमामा ओहोरदोहोर बन्द भएपछि नेपालमा रोकिएका भारतीय जेठमा स्वदेश फर्किए । लकडाउन खुलेर व्यापार–व्यवसाय सञ्चालनमा आएपछि विभिन्न उद्योग तथा कलकारखानामा काम गर्ने, कपाल काट्ने, ग्रिल, वर्कसप, ग्यारेजलगायतामा मजदुरी गर्नेहरू धमाधम नेपाल प्रवेश गरिरहेका हुन् । भारतीय नागरिकद्वारा सञ्चालन भइरहेका कतिपय व्यवसाय पनि खुलाइसकिएको अवस्था छ । भारतबाट भारतीय नागरिकलाई अवैध रूपमा प्रवेश गर्न दिँदा समुदायमा भएको घुलमिलले धेरै ठूलो खतरा उत्पन्न भएको भन्दै स्थानीय चिन्तित बनेका छन् । ‘भारतीय नागरिक आएर सैलुन, ग्यारेज, ग्रिल उद्योग सबैतिर काम थालिसकेका छन्,’ स्थानीय युवा किशोर जोशीले भने, ‘जाँच नगरी, क्वारेन्टिनमा नबसी सिधै समुदायमा यसरी घुलमिल हुँदा संक्रमणको स्थिति भयावह हुने देखिएको छ ।’

सेती प्रादेशिक अस्पतालका कोरोना उपचार विभाग प्रमुख तथा वरिष्ठ फिजिसियन शेरबहादुर कमरले भारतीय नागरिक प्रवेश गरेर समुदायमा काम गरिरहेकाले कोरोना संक्रमणको अवस्था गम्भीर बनेको बताए ।

सेती प्रादेशिक अस्पतालका कोरोना उपचार विभाग प्रमुख तथा वरिष्ठ फिजिसियन शेरबहादुर कमरले भारतीय नागरिक प्रवेश गरेर समुदायमा काम गरिरहेकाले कोरोना संक्रमणको अवस्था गम्भीर बनेको बताए । ‘यस्तो बेला भारतीय नागरिकलाई प्रवेश दिनैहुन्न,’ उनले भने, ‘भारतमा संक्रमणको दर व्यापक रूपमा बढिरहेकाले त्यहाँबाट नागरिक भित्रिनु ठूलो संकट निम्तिनु हो ।’ नेपालमा लकडाउन खुलेसँगै चहलपहल र भीडभाड बढ्दै गएको उनले बताए । ‘सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, पटकपटक हात धुने कुरालाई बेवास्ता गर्न थालेका छन्,’ उनले भने, ‘निडर भएर मानिस बाहिर निस्कँदा हुने भीडभाडले व्यापक जोखिम बढाएको देखिन्छ ।’

प्रहरीलाई घुस खुवाउँदै भित्रँदै  
सरकारले चैत १० गतेदेखि बन्द गरेको अन्तर्राष्ट्रिय नाका अर्को सूचना नआए साउन ३२ गतेपछि मात्रै खुल्नेछ । अहिले सीमा ओहोरदोहोर बन्द भएको अवस्थामा पनि त्यहाँ खटिएका सुरक्षाकर्मीले नै भारतीय नागरिकलाई नेपाल प्रवेश गराइरहेको बताइएको छ । ‘सीमाका प्रहरीलाई पैसा दिए प्रवेश गर्न पाइन्छ । म ५ हजार दिएर आएको हुँ,’ ग्रिल उद्योगमा काम गर्ने एक भारतीय मजदुरले भने, ‘सबैजना यसरी नै प्रहरीलाई मिलाएर आइरहेका छन् ।’ त्यति रकम तिर्न नसक्नेहरू भने नित्रगर नाकानजिकै पूर्वतिरको मोहना नदी तरेर आउने गरेको उनले बताए । उक्त नदी तरेर आउँदा पनि प्रहरीलाई २ हजार दिनुपर्ने उनको भनाइ छ ।

‘भारतीय नागारिकलाई सकेसम्म रोक्नुपर्ने र आउन नदिई नहुने अवस्थामा क्वारेन्टिनमा राखी कोरोना नभएको पुष्टि भएपछि मात्र समुदायमा काम गर्न दिनुपर्ने हो,’ नागरिक समाजका अगुवा प्रमोद पाठकले भने, ‘प्रहरीले घुस खाएर भारतीय नगारिक प्रवेश गराएको मैले पनि सुनें, जताततै मौलाएको भ्रष्टाचारले जनतालाई निरास बनाइसक्यो ।’ भ्रष्टाचारीको संरक्षण हुने भएकाले जताततै बेथिति मौलाएर देशै चुर्लुम्म डुब्ने अवस्था बनिराख्दा सीमाका प्रहरीले पनि मनपरी गर्दा संक्रमणको अवस्था झनै डरलाग्दो हुने उनको भनाइ छ ।

कैलालीका प्रजिअ यज्ञबहादुर बोहराले अन्तर्राष्ट्रिय सीमा नाका बन्द रहेकाले अहिले भारतीय नागरिक नेपाल प्रवेश गर्न रोक लगाइएको बताए । अवैध रूपमा भारतीय नभित्रियून् भनी सीमामा कडाइ गरिएको उनले बताए । सीमामा प्रहरीलाई पैसा दिएर भारतिय नागरिक प्रवेश गरेको सुन्नमा आएको उल्लेख गर्दै उनले त्यसबारे छानबिन गर्न प्रहरी प्रमुखहरूलाई निर्देशन दिइसकेको बताएका छन् । ‘सीमामा प्रहरीलाई पैसा दिएर भारतीय नागरिक प्रवेश गरेको हो भने यो गम्भीर विषय हो,’ उनले भने, ‘मैले नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ दुवै एसपीलाई यो विषयमा छानबिन गर्न कडाइका साथ निर्देशन दिइसकेको छु ।’

सशस्त्र प्रहरीका एसपी जितेन्द्र कुँवरले समिति गठन गरेर छानबिन सुरु गरिसकेको बताए । पैसा लिएर प्रवेश गरेको पाइए कारबाही गरिने उल्लेख गर्दै उनले छानबिनमा सहयोग गर्न आग्रह गरे । पछिल्ला दिनमा सुदूरपश्चिममा संक्रमणको दर बढेको छ । भारतका विभिन्न ठाउँमा काम गर्न गएकाहरू फर्केका कारण जोखिममा रहेको सुदूरपश्चिम भारतीय नाागरिकलाई समेत अवैध रूपमा प्रवेश गराई समुदायमा जान दिँदा अझ बढी जोखिम भएको हो ।

भारतका विभिन्न ठाउँबाट आइरहेका नेपालीलाई समेत क्वारेन्टिनमा नराखी घर पठाउने गरिएको छ । चरम लापरबाहीका कारण सुदूरपश्चिममा गम्भीर संकट निम्तिने खतरा रहेको वरिष्ठ फिजिसियन शुभेशराज कायस्थले बताए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार ७ सय ६० पुगिसकेको छ । कोरोनाका कारण नौजनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित: २८ श्रावण २०७७ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App