८ वैशाख २०८१ शनिबार
समाज

लकडाउन गर्ने अधिकार स्थानीय तहलाई

सरकारले नेपालीलाई स्वदेश फर्काउन १० वटा सिमानाका खुला राख्ने निर्णय गरेको छ । जोखिममा रहेका नेपालीलाई स्वदेश ल्याउन १० वटा नाका खुला राख्ने निर्णय मन्त्रिपरिषद्ले सोमबार गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय सीमानाका भदौ ३१ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको छ । यसअघि नेपालीलाई स्वदेश ल्याउन भारततर्फ २० नाका खुला गरिएको थियो ।  

कोरोना संक्रमितको संख्यासँगै जोखिम पनि बढिरहेका बेला सरकारले लकडाउनबारे निर्णय लिने अधिकार स्थानीय तहलाई दिएको छ । मन्त्री खतिवडाका अनुसार दुई सयभन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहले ‘लकडाउन’ गर्न सक्नेछन् । ‘दुई सयभन्दा कम कोरोना संक्रमित रहेका जिल्लाका मानिसलाई आवतजावत गर्न दिइएकै छ । जहाँ कोरोना जोखिम देखिन्छ, त्यहाँ कडाइ गर्ने क्षेत्रगत नीति लिइएको छ’, मन्त्री खतिवडाले भने । संघीय सरकारले लकडाउनको तयारी नगरेको पनि उनले बताए । उनका अनुसार अहिले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेका कारण सार्वजनिक यातायातलाई सरकारले रोकेको छैन ।  

सरकारले होटल तथा रेस्टुराँमा बसेर खाना खान भने रोक लगाएको छ । सरकारले साउन १५ देखि होटल तथा रेस्टुरा खोल्न दिएको थियो । तर मास्क नलगाउने र अनावश्यक भीडभाड गरेकाले होटल र रेस्टुराँमा बस्न नदिने निर्णय गर्नुपरेको खतिवडाले बताए ।  

त्यस्तै भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने यसअघिको घोषणा कार्यान्वयनमा नआउने भएको छ । खतिवडाले भदौ १५ गतेसम्म विद्यार्थी भर्नाका कार्यक्रम रोकिएको बताए । यसअघि सरकारले भदौ १ गतेबाट स्कुलले विद्यार्थी भर्ना लिन पाउने निर्णय गरेको थियो ।

प्रकाशित: २८ श्रावण २०७७ ०१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App