४ वैशाख २०८१ मंगलबार
समाज

पहिरोमा पुरिएर चारजनाको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी, खलगडामा पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । सोमबार राति करिब साढे एक बजे घर भत्किँदा सुतिरहेका उनीहरूले ज्यान गुमाएका हुन् ।  

खलगडाका लोगे लुहारकी ३५ वर्षीया पत्नी विष्णा, ११ वर्षीय छोरा पारस, ७ वर्षीया छोरी सिरु, ४ वर्षीया छोरी जेनिषाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए । दुई दिनदेखि लगातार पानी परिरहेको थियो । घर भत्किँदा लोगे लुहार, उनकी आमा पाना विक, सासू झाकरी विक, साला इन्द्र विक र छोरी अस्मिता विक घाइते भएका छन् । घाइतेको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।  

लगातारको वर्षाले सुदूरपश्चिमको पहाडको जनजीवन अस्तव्यस्त बनाएको छ । ठाउँठाउँमा पहिरो र नदीमा आएको बाढीले जनजीवन अस्तव्यस्त बनाएको हो । आइतबार रातिदेखि परेको अविरल वर्षासँगै बाजुराको बुढीगंगा नदीमा आएको बाढीले घर बगाउँदा एक महिला बेपत्ता भएकी छन् भने बाजुुरामा मात्र ६३ परिवार विस्थापित भएका छन् । नदीमा आएको बाढीले सयौं रोपनी खेत बगाएको छ ।  

बडिमालिका नगरपालिका–२ का वडाध्यक्ष डम्बर महतको घर बगाउँदा उनकी ६५ वर्षीया आमा अइसेनी बेपत्ता भएकी छन् । उनको स्थानीय र प्रहरीले खोजी कार्य जारी राखे पनि फेला पार्न सकेका छैनन् । बाढीले नगरपालिका–२, ४ र ६ वडाका ३१ घरपरिवार पूूर्ण रूपमा विस्थापित भएका छन् भने ३२ घरपरिवारको घर बगाउँदा उनीहरूलाई नेपाल राष्ट्रिय मावि र सामुदायिक वनको भवनमा राख्नुका साथै केही परिवारलाई डाँडामा पाल टाँगेर राखिएको बडिमालिका नगरपालिका निमितप्रमुख प्रशासकीय अधिकृत रंगमल विकले जानकारी दिए ।

यस्तै, बुढीगंगा नदीले साँफे–मार्तडी सडकअन्तर्गत बुढीगंगा नदीमाथि बनाइएको बेलिब्रिजसमेत बगाउनुका साथै चारवटा झोलुंगे पुल र धानबाली बगाएको छ । घर बगाउँदा एक दर्जन बाख्रा र गाईभैंसी बगाउनुका साथै साँफेबगर मार्तडी सडक खण्ड बगाएको प्रहरीले जनाएको छ । बाजुराको गौमुल गाउँपालिका–२ पाटनमा चराउन लगेका चार जनाका २५ भेडा पहिरोमा पुरिएका छन् भने १७ घर जोखिममा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूूचना अधिकारी एसएसपी मुकेशकुमार सिंहले बताए ।

बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीमा सोमबार पहिरोले तीन घर जोखिममा परेका छन् भने एक महिला समान्य घाइते भएको प्रहरीले जनाएको छ । बैतडीको सुर्नया गाउँपालिका–१ हटैराजमा १४ घर पहिरोको जोखिममा परेका छन् । गत आइतबार मात्र बाजुराको गौमुल गाउँपालिका–५ ग्वानीमा पहिरोमा परी वडा नं. ४ का १० वर्षीय बालक अनिश विकको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, बैतडीको डिलासैनी गाउँपालिका–४ मठैराजमा गत २२ गते घर भत्किँदा आमाछोराले ज्यान गुमाएका थिए ।

प्रकाशित: २८ श्रावण २०७७ ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App