coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्णालीमा धमाधम विप्लव कार्यकर्ता पक्राउ

प्रतिवन्धित नेतृविक्रम चन्द (विप्लव) समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न थालेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दुई, दैलेखबाट एक, सल्यानबाट दुई, रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन र डोल्पाबाट एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

सुर्खेत भेरीगंगा नगरपालिका–९ जहरेबाट दुईजना पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सोही वडाका ४८ वर्षीय कर्णबहादुर विसी र ४२ वर्षीय सहवीर महरलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार विसी र महर जिल्ला कमिटी सदस्य हुन् । उनीहरूको साथबाट विभिन्न किसिमका दस्ताबेज, निर्माण व्यवसायी तथा कन्ट्रक्सनलाई आर्थिक सहयोगको लागि लेखिएका पत्र र रकम असुल गरेका अर्धकट्टिसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै रुकुम पश्चिमका जिल्ला सेक्रेटरीसहित विप्लवका चारजना कार्यकर्ता आठवीसकोट नगरपालिका–९, राडीबजारबाट पक्राउ परेका छन् ।  

मुसीकोट नगरपालिका–६ का ३९ वर्षीय जिल्ला सेक्रेटरी हिरामणि रावल, नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहरा, नेकपाका जिल्ला कमिटी सदस्य घमण्ड महर र कार्यकर्ता तुलबहादुर घर्ती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीले जानकारी दिए ।

दैलेखबाट आठवीस नगरपालिका–६, का ३० वर्षीय उदय विक पक्राउ परेका छन् । मुगु सोरु गाउँपालिका–६, घर भएका जिल्ला सेक्रेटरी ३७ वर्षीय उदय भनिने रामबहादुर भाम, जुम्ला हिमा गाउँपालिका–७, घर भएका जिल्ला सदस्य २९ वर्षीय नन्द तिवारी र सोही गाउँपालिकाकी १६ वर्षीया सपना बुढा जुम्लास्थित तिला गाउँपालिका–७, गोडेगाउँबाट पक्राउ परेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी बास्तोलाले जानकारी दिए ।

उनका अनुसार जुम्ला गोठीचौर गाउँपालिका–१, का २९ वर्षीय सूर्य महतारा डोल्पास्थित जगदुल्ला गाउँपालिका–१, हुरिकोटबाट पक्राउ परेका छन् । सल्यान बागचौर नगरपालिका–४, का २३ वर्षीय मोहन केसी र सोही नगरपालिका–२, का २३ वर्षीय सेजन चन्द सल्यानबाट पक्राउ परेको प्रहरीले जनाएको छ । त्यस्तैगरी प्रहरीका अनुसार पक्राउ परेकामध्ये सल्यानबाट एकजनालाई छाडिएको छ भने दैलेखका एक, सल्यानका एक, रुकुम पश्चिमका चार र डोल्पाका एकजनालाई मुद्दा दर्ता गरिएको छ ।

उनीहरूलाई सार्वजनिक हित स्वास्थ्य सुविधा र नैतिकविरुद्ध (अभद्र व्यवहार) सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । विभिन्न व्यक्ति र संघसंस्थासँग चन्दा मागेको, राज्यविरुद्धका क्रियाकलाप गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यता विप्लव समूहले भने बिनाकारण प्रहरीले आफ्ना कार्यकर्तालाई पक्राउ गरेको छ । राज्यले पक्राउ गरेकालाई बिना सर्त रिहा गर्नुपर्ने राप्ती ब्यूरोका सदस्य नरेन्द्र विकले जनाए । ‘हामीले राज्यविरुद्ध कुनै क्रियाकलाप गरेका छैनौं,’ उनले भने, ‘दलाल र भ्रष्टाचारीहरूका विरुद्ध आवाज उठाएका छौं ।’ जनताको घरदैलोमा राजनीतिक मुद्दामा सहभागी भएका नेता तथा कार्यकर्तालाई पक्राउ गर्नु राज्यको ठूलो भूल भएको उनको भनाइ छ । यता प्रहरीले भने विप्लव समूहले राज्यविरुद्धका क्रियाकलाप गर्दै आएको बताएको छ । कोभिड–१९ अर्थात् कोरोना भाइरसको त्रासका बेला विप्लवका नेता तथा कार्यकर्ता घर र गाउँघरमा खुलमखुला हिँड्दै आएका थिए ।

प्रकाशित: २७ श्रावण २०७७ १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App