५ वैशाख २०८१ बुधबार
समाज

भाग्दाभाग्दै ढल्यो घर !

चारजनाको ज्यान गयो

भत्किएको लुहार परिवारको घर । घाइते भएर शैलेश्वरी अस्पतालमा उपचाररत लोगे लुहार । तस्बिरः अरूण/नागरिक

घर !
एक दरिलो आड ! आत्मरक्षा र परिवार सुरक्षाको अत्यन्त विश्वासिलो धरोहर ! सर्वोत्तम सुरक्षा अनुभूत गराउने एक अद्भूत छहारी !

घरसंग यस्तै भरोसा हुन्छ सबैको । अन्य स्थानमा रहँदा महशुस हुने अनेकन भय–त्रासहरु पनि हराउछन् घरको ओतमूनी !  

पुर्खाको पसिनाले सिञ्चित आफ्नो घरसंग यस्तै सुरक्षा अनुभूति थियो आदर्श गाउँपालिका–१ खलगडाका ३१ वर्षीय लोगे लुहारको पनि । ‘केई थिएन् । बलियै लाग्थ्यो । खै के भो के भो ?,’ उनी दुखद् अनुभूति साँट्छन्, ‘जुन घरको छहारीमा सुरक्षा महशुस हुन्थ्यो । त्यै घरले बज्रपात पार्‍यो !’  

उनले भनेजस्तै त्यै विश्वासिलो घर उनको परिवारको सबैभन्दा ठुलो असुरक्षाको बन्यो । श्रीमती, एक छोरा र दुई छोरीको मृत्युको कारक बन्यो । सोमबार राती त्यै घर भत्कदा उनकी  २६ वर्षीया श्रीमती विष्ना लुहार, १० वर्षीय छोरा पारस, छोरीहरु पाँच वर्षीया सिरु र नौ महिनाकी कटीको मृत्यु भयो । स्वयम् लुहारका साथै ५२ वर्षीया आमा पाना, दुई वर्षीया छोरी अशु, छोरीज्वाई भेट्न आएकी ६० वर्षीया सासु झाँकरी विक र १२ वर्षीय भद्यासाला ईन्द्र बिक घाइते भए । उनीहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भईरहेको छ । अवस्था सामान्य छ ।  

भाग्दाभाग्दै ढल्यो घर !

सोमबार राती दुई बजे लोगे पिसाब गर्न बाहिर निस्किएका थिए । त्यसपछि भित्र पस्ने क्रममा घरबाट धुँलैधुँलो निस्कन थाल्यो । कतैबाट घर भत्कन लाग्यो भन्ने आवाज आयो । ‘सायद पल्लो घरको आमाको आवाज हुनुपर्छ,’ लोगे भन्छन् ।  

घरभित्र उनका श्रीमान–श्रीमती, चारजना छोराछोरी, आमा र सोमबारै भेट्न आएका सासु र भद्यासालागरी नौ जना थिए । सबैलाई व्यूँझाएर ढोकाबाहिरमात्र के पुर्‍याएका थिए, घर आँगनतिरै गल्र्याम्म ढल्यो ! उफ्रेर बारीमा पुग्नेजती बचे, बाँकी चारजनालाई घरको ढुङ्गा र काठले किच्यो । जगदेखि नै भत्किएको घरसंगै सम्पत्ती नष्ट भए । एकहल गोरु, गाई र दुई बाख्रा पनि मरे ।  

घर कमजोर कहिल्यैँ लागेन

भत्किएको घर लोगेका बाजे लछीले पहिलो तला हालेका हुन् । कहिले हाले ? उनी भन्न सक्दैनन् । तर ४०÷४५ वर्षअघि उनका बुवा गोरेले दुई तला थपेको उनकी आमाले सुनाएको बताउँछन् । ‘बालखकै टुहुरो हुँ । पाँच वर्षकै हुँदा बुवा स्वर्गबास भएका रे !,’ लोगे भन्छन्,‘त्यसपछि त्यै घर सहारा हो । अर्को बनाउने हैसियत छैन ।’  

त्यसमा पनि घर बलियो नै लागेकाले अर्को बनाउने सोच कहिल्यै नआएको उनी बताउँछन् । ‘घर बलियो नै लाग्थ्यो । आफ्नो जीवन यसैमा काटौँला सोच्थे । तर लेखी अर्कै रहेछ,’ उनी थप्छन् । उनका अनुसार घर चुहिदैनथ्यो । तीन महिनाअघि जेठमा भारतको चेन्नईबाट फर्किएर आउदा चुहिने एकठाउँ टालेपछि थप चुहिदैनथ्यो ।

समस्यामा बाँचेका जहान 

घर भत्कियो ! श्रीमती र चारजना छोराछारीको मृत्यु भयो । परिवारमा बाँकी आफू, आमा र एक दुई वर्षकी छोरी मात्र रहीन् । लोगे आफू घाइते छन् । घाइते अवस्थामै उनले मंगलबार मसानघाट पुगेर मृतक चारैजनालाई दागबत्ती दिए ।  

भारतमा चौकीदारी गरेर परिवार पाल्ने उनीसंग न उपचार खर्च छ, न किरिया खर्च ! ‘चेन्नईबाट रित्तो हात फर्किएको हुँ । यहाँ यो बज्रपात पर्‍यो,’ भावविह्वल हुँदै उनले भने,‘अब के गर्ने ? कसरी गर्ने ? केही सोच्न सकिरहेको छैन ।’

पीडितलाई कांग्रेसको राहत

नेपाली कांग्रेस डोटीले पीडित परिवारलाई २० हजार दिने घोषणा गरेको छ । कांग्रेस डोटीले घटनापछि मंगलबार बिहान शोक वक्तव्य जारी गर्दै आकस्मिक राहत कोषबाट उपचार खर्चबाफत १० हजार र किरियाखर्चबाफत १० हजार गरी २० हजार रकम उपलब्ध गराउने कांग्रेस डोटीले घोषणा गरेको हो ।  

वक्तव्यमा ‘ओत लाग्ने घर नै भत्केर चारजनाको ज्यान लिन सक्नेसम्मको घटनाले हाम्रो समुदायको विपन्नताको रुप उदांगो पारेको’ उल्लेख गर्दै ‘विपन्न दलित परिवारमा परेको यो बज्रपातमा सक्दो सहयोग गर्न तीन तहकै सरकार र सम्बन्धित सबैमा ध्यानाकर्षण’ गराएको छ ।

प्रकाशित: २७ श्रावण २०७७ १०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App