coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना कहरः बढ्दो खतरा, घट्दो सावधानी

गत बैसाख २९ गते खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका दुई व्यक्तिको आरडिटि रिपोर्ट पोजिटिभ देखिँदा सनसनी फैलियो । उनीहरुको पिसिआर रिपोर्ट नआउँदासम्म साकेला गाउँपालिकामा मात्र नभएर सिंगो जिल्लामा त्रास कायम रह्यो । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि बल्ल अवस्था केही सामान्य बनेको थियो ।  

यस्तै, जेठ ५ गते हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक २० वर्षीय युवालाई कोरोना संक्रमण भएको पुष्टी भयो । नगरपालिकाबाट विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका ३३ जनाको स्वाबमध्ये ती युवाको पिसिआर रिपोर्ट पोजिटिभ देखिएको थियो । पहिलोपल्ट कोरोना भित्रिएको पुष्टी भएपछि उसबेला जिल्लामा उस्तै त्रास फैलिएको थियो ।  

संक्रमितको संसर्गमा पुगेका आफन्त तथा अन्य स्थानीय समेत मानसिक तनाव झेल्न बाध्य भए । नगरपालिकाको पहलमा संक्रमित युवालाई उपचारका लागि बिराटनगर पठाइयो । उनी कोरोना जितेर फर्किएपछि अवस्था सामान्य बनेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई बताउँछन् । हालासम्म कोरोना संक्रमण पुष्टी भएका खोटाङका १२ जना मध्ये सबै संक्रमित कोरोना जितेर घर फर्किसकेका छन् ।  

सिंगो बिश्वमा आतंक मच्याइरहेको कोरोनाको संक्रमण दर हाल दिनानुदिन बढ्दो छ । नेपालमै दैनिकजसो कोरोना संक्रमणको कारण संक्रमितको मृत्यु भइरहेको छ । दैनिक नयाँ संक्रमितहरु थपिइरहेका छन् । सोमबार जिल्लाकै दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका एक २६ वर्षीय युवालाई संक्रमण भएको पुष्टी भएको छ । कोरोनाको संक्रमबाट बच्नका लागि विशेष सावधानी अपनाउनुपर्ने यो बेला अधिकांश क्षेत्रमा हेलचक्र्याइँ बढ्दो छ । स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्न बेवास्ता गर्न थालिएको छ । 

जिल्लाका धेरैजसो स्थानीय तह, कार्यालय, राजनैतिक दल, संघसंस्था लगायतले आयोजना गरेको कार्यक्रममा भीडभाड बढ्न थालेको छ । न्यूनतम दुई मिटर भौतिक दूरी कायम गर्न भनिए पनि सोको पालना हुन सकेको देखिन्न । मास्कको प्रयोगमै बेपरवाह भइरहेको छ । कतिले त प्रहरीको अगाडी देखाउनका लागि मास्क लगाउने गरेको देखिन्छ । सुरक्षाका मापदण्ड पालना नगरी हिँडडुल गरेको वा अनावश्यक भिडभाड गरेको पाइएमा नियन्त्रणमा लिएर संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने व्यवस्था छ । तर, लकडाउन हटेपछि हाल हरेक क्षेत्रमा क्रमशः भीडभाड बढ्दो छ । कतिसम्म भने हिजोआज आफ्नै वरपर कोरोना संक्रमित फेला परे पनि सामान्य लाग्न थालेको छ ।  

एकातिर संक्रमण दर बढिरहेका बेला सुरक्षाका सावधानीप्रति बेवास्ता बढ्दै गएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए । ‘लकडाउन हटेको हो, जोखिम हटेको होइन, तर हाल संक्रमणबाट बच्ने विषयमा बेवास्ता बढिरहेको छ,’ चाम्लिङले भने, ‘नागरिकलाई अप्ठ्यारो भए, रोजीरोटीका सवाल उठेकाले लकडाउन खुकुलो पार्न पथ्र्यो, पूर्णरुपमा हटाउनचैं हुन्नथ्यो । लकडाउन नै हटेपछि अहिले जोखिम झनै बढेर गएको छ ।’  

लकडाउन खुलेपछि कोरोना भाइरसको संक्रमण बढ्ने खतरा बढेको देखिएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले साउन १४ गते सार्वजनिक सूचना जारी गर्दै सजगता अपनाउन आग्रह नै ग¥यो । सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईले जारी गरेको सूचनामा न्यूनतम सामाजिक दूरी कायम नगर्ने, मास्क नलगाइ हिँड्ने, अनावश्यक भिडभाड गर्ने, सेवा प्रदायक निकाय वा संस्थाले पनि स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्ने/गराउनेतर्फ बेवास्ता गर्नेक्रम बढ्दै जाँदा संक्रमण फैलिने त्रास बढेको उल्लेख छ । ‘केही सेवा र कार्यहरु सूचारु गराउन लकडाउन खुला एबं सहजीकरण गरिएकामा स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्ने/गराउनेतर्फ बेवास्ता गर्नेक्रम बढ्दै गएकाले कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएको छ,’ प्रशासनको सूचनामा भनिएको छ, ‘तसर्थ व्यक्ति, घर, गाउँ, समाज हुँदै हामी सबैलाई कोरोना भाइरसको संक्रमण हुने प्रवल सम्भावनालाई मध्यनजर गरी स्वास्थ्य र सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न गराउन जानकारी गराइन्छ ।’

मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने, न्यूनतम दुई मिटरको भौतिक दूरी कायम गर्ने, पटक–पटक सावुन पानीले हात धुने एबं मानव स्वास्थ्य सुरक्षाका अन्य मापदण्ड अनिवार्य पालना गर्ने शर्तमा लकडाउन अन्त्या गरिएको भए पनि हाल संक्रमणबाट बच्ने सावधानीमा बेवास्ता हुन थालेको प्रशासनले औंल्याएको छ ।

पछिल्लो समय कोरोनाप्रति बेवास्ता बढ्नुको पछाडी ‘जीवन निर्वाह’ प्रमुख कारण रहेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले बताए । ‘कोरोना संक्रमण तत्काल हल भएर जाने अवस्था पनि देखिन्न । संक्रमण हुने डर त सबैलाई छ तर कामै नगरी एक ठाउँमै बसिरहने अवस्था पनि छैन,’ मेयर राईले भने, ‘पहिला जुन खालको त्रास थियो अहिले त्यस्तो त्रास मान्न छाडे । कोरोनाको त्राससँग अभ्यास्त भए । जसले संक्रमणको जोखिम बढाइरहेको छ ।’

प्रकाशित: २७ श्रावण २०७७ ०८:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App