coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वृद्धालाई बाचुञ्जेल वडाकार्यालयबाट खाना खुवाउने व्यवस्था

वडा कार्यालयले खाना खुवाउने जिम्मा लिएको वृद्धा डम्बरकुमारी राई । तस्बिर: नागरिक

खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय खाँवा टोलकी ६९ वर्षीय वृद्धा डम्बरकुमारी राईको खाने बस्ने व्यवस्थाको जिम्मा वडा कार्यालयले लिएको छ । वडा कार्यालयले सन्तान नभएको र श्रीमानको पनि मृत्यु भइसकेको अवस्थामा बेसाहारा जीवन बिताइरहेकी राईको छाक टार्ने व्यवस्थाको जिम्मा लिएको हो । हातगोडा चल्न छाडेको र खेती किसानीको काम गर्न नसक्ने अवस्थामा पुगेका कारण वृद्धाको खाने बस्ने व्यवस्थाको जिम्मा वडा कार्यालयले लिएको वडाध्यक्ष बिदुरमान राईले बताए । वृद्धा राई बाचुञ्जेलसम्म आवश्यकताका आधारमा खाद्यान्न, दाल, नुन, तेल घरैमा पुर्‍याइदिने व्यवस्था मिलाइएको वडा कार्यालयले जनाएको छ ।  

२००८ सालमा जन्मिएकी डम्बरकुमारीका श्रीमानको पाँच वर्षअघि नै मृत्यु भइसकेको छ । हाल उनी बुढौलीपनका कारण आफै काम गरेर जीवन निर्वाह गर्न सक्ने अवस्थामा छैनन् । लट्ठीको साहरामा मात्र हिँडडुल गर्न सक्छन् । हाल सानो झुपडीमा बस्दै आएकी उनी कान सुन्दैनन् । उनका करिब दुई रोपनी मात्र जग्गा छ । गत वर्षसम्म जेनतेन कुटो कोदालो गरेर खेतीपाती लगाएकी उनी यस वर्षदेखि घर भित्र बाहिर गर्न समेत नसक्ने अवस्थामा पुगेको कारण बाचुञ्जेलसम्म खाना खाने व्यवस्थाको जिम्मा वडा कार्यालयले लिएको वडाध्यक्ष राईले बताए । ‘पोहोर सालसम्म अलि अलि काम गर्न सक्थिन् । यस पल्टदेखि कुटो चलाउन समेत सक्ने अवस्था नदेखिएपछि खाने व्यवस्था वडाले गर्ने जिम्मा लिएको हो,’ वडाध्यक्ष राईले भने, ‘आवश्यक परेको समयमा वडाकातर्फबाट खाद्यान्न पु¥याइदिने व्यवस्था गरेका छौँ । खाद्यानन व्यवस्था भएपछि उहाँले पकाएर खानुहुन्छ ।’  

फुसको छानो हटाएर जस्ताको छाना हालिदिनका लागि वडा कार्यालयले डम्बरकुमारीको घरलाई पहिलो प्राथमिकतामा राखेको छ । उनलाई सोलार समेत निःशुल्क वितरण गरिसकिएको वडाध्यक्ष राईले बताए ।  

अशक्त वृद्धवृद्धाको घर बनाउन अभियान  

पहिरोका कारण घर भत्किएपछि बिचल्नीमा परेका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका मानबहादुर खत्रीको घर निर्माण अभियान थालिएको छ । बालबच्चा नभएको र वृद्धवृद्धावस्थामा पुगेका खत्री दम्पत्तीको घर ठड्याउनका लागि सहयोग अभियान थालिएको हो । गत असार ३२ गतेको वर्षाका कारण घर भत्किएपछि घर बिहिन बनेका वृद्धवृद्धाको घर निर्माणका लागि स्वदेश तथा बिदेशमा रहेका शुभेच्छुकबाट हालसम्म १ लाख ५० हजार रकम संकलन भइसकेको अभियान्ता थिरेन्द्र भट्टराईले बताए ।  

पहिरोले ढलेको घर ठड्याउन सक्ने अवस्था नभएका कारण वृद्धवृद्धा दम्पत्तीको घर बनाउन सहयोग अभियान थालिएको हो । हाल यूकेमा रहेकी ईशा गुरुङले तिज मनाउने खर्च कटाएर वृद्धवृद्धाको घर बनाउनका लागि २० हजार सहयोग पठाएकी छन् ।

प्रकाशित: २७ श्रावण २०७७ ०८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App