coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोंगबु घटना : शव व्यवस्थापन गर्न छोरीको सहयोग

गोंगबु हत्याकाण्डमा संलग्न आरोपी महिलालाई प्रहरीले पक्राउ गरेपछी विभिन्न रहस्यहरु खुलेका छन्। बिभत्स हत्या गरी सुटकेसमा शरीरको भाग र झोलामा टाउको र खुट्टा राखिएको अवस्थामा आइतबार दाङका कृष्णबहादुर बोहोराको शव गोंगबु चोक भन्दा केहीपर भेटिएको थियो।  

आइतबार बिहान ७ बजे प्रहरीले गोंगबु नजिकै नवज्योति मार्गमा रातो प्लाष्टीकले बेरेको, बोराको नाम्लो सहित कालो रंगको सुटकेश भित्र टाउको र खुट्टा बिनाको अवस्थामा बोहोराको शव प्रहरीले फेला पारेको थियो। सुरुमा सुटकेसमा खुट्टा र टाउको नभएको शव फेला पारेपछि प्रहरीले अनुसन्धानमा कुकुरको प्रयोग गरेको थियो। तालिम प्राप्त जो जो नामको कुकुरले सटकेस भन्दा ३०० मिटर पूर्वउत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमीनको कुनामा टाउको र खुट्टा फेला पारेको थियो।  

प्रहरीले उनको हत्यामा संलग्न भएको आरोपमा कल्पना मुडभरी पौडेललाई चितवनबाट पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ। मुडभरीले आफुले पुरुषको हत्या गरेको प्रहरी समक्ष स्वीकारेकी छन्। हत्या गरेर एम्बुलेन्समा चितवन पुगेकी उनलाई प्रहरीले शक्तिखोर स्थित माइतीबाट पक्राउ गरेको थियो। कृष्णबहादुरको शव व्यवस्थापन गर्न मुडभरीकी छोरी संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ। प्रहरीले उनकी छोरीलाई पनि पक्राउ गरेको छ।

यो पनि पढ्नुहोस्

गोंगबु घटना : दहीमा स्लिपिङ  ट्याव्लेट मिसाएर खुवाएपछि हत्या

चितवन कालिका नगरपालिका वडा नं. ७ घर भएकी मुडभरी टोखा नगरपालिका वडा नं. १० नवज्योति मार्गमा बस्दै आएकी थिइन्। ३७ वर्षिय मुडभरीको करिब ३/४ वर्ष अघि मृतक बोहोरासँग सामाजिक संजाल मार्फत चिनजान भएको थियो। त्यही चिनजानले दुबै जना एक आपसमा भेटघाट समेत गर्ने गर्थे। बोहोरा बेला बेला मुडभरीको कोठामा आउने गरेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ। मुडभरीले केही टेलिशृंखलामा समेत अभिनय गरेकी छन्। प्रहरीका अनुसार मुडभरी श्रीमानलाई छोडेर एक्लै बस्दै आएकी थिइन्। दुई विबाह गरेका कृष्णबहादुरको पनि पारिवारिक सम्वन्ध राम्रो नदेखिएको अनुसन्धानमा खुलेको छ।  

उनले आफ्नो फेसबुक आइडी बनाएर अश्लील फोटो पठाउने र अनेक दु:ख दिने गरेका कारण हत्या गरेको बयान प्रहरीलाई दिएकी छन्।  

घटना भएको दिन कृष्णबहादुर आफु बसेको होटलबाट स्कुटीमा मुडभरीको कोठामा पुगेका थिए। कृष्णबहादुर कोठामा पुगेपछि मुडभरीले खानेकुरा सहित स्वागत गरेको अनुसन्धानमा खुलेको छ।  उनको कोठामा कृष्णबहादुरले दही, चिउरा, मासु र भोड्का खाएका थिए। खानपिनकै क्रममा महिलाले दहीमा ५ वटा स्लिपिङ ट्याव्लेट मिसाएर खुवाएकी थिइन्। त्यसलगत्तै उनले घाँटी थिचेको र अन्डाकोषमा हानेर हत्या गरेको बयान दिएकी छन्। हत्यापछी शव लुकाउनलाई उनले टाउको र शरीर टुक्रा पारेकी थिइन्। मुडभरीले हत्या पछि बाथरुमा लगेर शवलाई काटेको देखिएको महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए। मुडभरीले बोहोराको शवलाई सुटकेस र झोलामा अट्ने बनाएपछि छोरीको सहयोगमा चोकमा लगेर छोडेकी थिइन्।

शव व्यवस्थापन पछि मुडभरी एम्वुलेन्समा चितवन पुगेकी थिइन्। उनले २५ गते बेलुकी बिरामी लिएर काठमाडौं आई चितवन फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राईभरलाई फोन गरी लगिदिन आग्रह गरेकी थिइन्। उनी सोही दिन एम्बुलेन्सको भाडा तिरी चितवन पुगेकी थिइन्।  

प्रहरीले बोहोराको पहिचान गर्न सोमबार तस्बिर सार्वजनिक गरेको थियो। मृतकको मामा नाता पर्ने ब्यक्तिले तस्बिरको आधारमा सोमबार उनको पहिचान गरेका थिए। बोहोरा विगत ८ महिनादेखि गोंगबु स्थित एक होटलमा बस्दै आएका थिए।  

 

प्रकाशित: २७ श्रावण २०७७ ०७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App