coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अवैध बालुवा निकाल्ने थप ३ ट्याक्टर नियन्त्रणमा

खोलाबाट नियन्त्रण गरी प्रहरी परिसरमा राखिएका ट्याक्टर । तस्बिरः महेश्वर

उदयपुर प्रहरीले सोमबार राति पनि थप ३ ट्याक्टर नियन्त्रणमा लिएको छ । सदरमुकाम त्रियुगा नगरपालिका १३ असारी बरुवा खोला र आसपासका स्थानीय खोला खहरेबाट अनाधिकृत नदीजन्य पदार्थ दोहन गर्दै गरेको अवस्थामा ३ ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरी भनाई छ ।

सुराकीको आधारमा सोमबार राति खटेको टोलीले बरुवा र त्रियुगा खोलामा गिटी, बालुवा र ढुंगा निकाल्दै गरेको अवस्थामा भेटेर स १ त ४९६८, स १ त ६५२७ र प्र १–०१–००१–०१०८ नं. को ३ वटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदपयुरले जनाएको छ । चालकसहित नियन्त्रणमा लिइएका ती ट्याक्टरलाई जिल्ला प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको प्रहरी प्रवक्ता डिएसपी गोविन्द पुरीले बताए ।

जिल्लाभित्रका बिभिन्न प्राकृतिक स्रोत साधनको अनाधिकृत दोहन र चोरी निकासीजस्ता गैरकानुनी कार्य रोक्ने उद्देश्यले कडाई गर्ने क्रममा दिनहुँजस्तो यस्ता ट्याक्टर नियन्त्रणमा लिन थालेका छन् । सरकारले उदयपुरमा असार १ देखि भदौ मसान्तसम्म कुनै पनि नदी, खोला खहरेबाट ढुंगा, गिटी, बालुवाजस्ता नदीजन्य पदार्थको संकलन, उत्खनन र बिक्री वितरणमा रोक लगाएको छ ।

‘राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति’ कार्यक्रम लागू भएको जिल्ला भएकाले उदयपुरमा हरेक वर्ष असारदेखि भदौसम्मको ३ महिना अवधिसम्म नदीजन्य पदार्थ संकलन, निकासी र बिक्री वितरणमा रोक लगाउने गरेको छ । तर, स्थानीय तह र प्रहरी प्रशासनको नजर छलेर दोहन कार्य गर्ने क्रम नरोकिएको जनगुनासोका आधारमा प्रहरीले कारबाही अभियान चालेको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले बताए । उनका अनुसार यस्तो गैरकानुनी कार्य गर्ने गतिबिधिप्रति निगरानी बढाउँदा ट्याक्टररु धमाधम नियन्त्रणमा पर्ने गरेका छन् ।  

प्रहरीले सोमबार नै लुकाई छिपाई सदरमुकामतर्फ ल्याउँदै गरेको अवस्थामा अवैध सुर्ति र सुर्तिजन्य पदार्थ पनि बरामद गरेको छ । त्रियुगा नगरपालिका १ जोगीदह बजारतर्फ साईकलमा आउँदै गरेका ५५ वर्षीय दुखरन चौधरीलाई ६१ प्याकेट सुर्ति र २ पोका अमृत प्लस ब्राण्डको परागसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हाटखोलास्थित जोगीदह प्रहरी चौकीबाट खटेको टोलीले साईकल यात्रीमाथि शंका लागी चेकजाँच गर्ने क्रममा चौधरीको साथमा रहेका सामग्री अवैध पाएपछि बरामद गरिएको जनाएको छ । लगभग १० हजार मूल्य बराबरको उक्त सामग्रीको कानुनी आधार पुष्टि गर्ने कागजात नभेटिएपछि बरामद गरी सामग्रीसहित चौधरीलाई जिल्ला प्रहरी ल्याएर कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको एसपी दाहालले बताएका छन् ।

प्रकाशित: २७ श्रावण २०७७ ०७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App