७ वैशाख २०८१ शुक्रबार
समाज

द्वन्दपीडितका अपेक्षामा तुवालो,रोल्पामा युद्ध संग्राहलय

तस्बिरः संग्राहलयको मुख्य प्रवेशद्वार।

दश वर्षे सशस्त्र द्वन्द्वको उद्गम स्थल रोल्पामा युद्ध संग्राहलय बन्ने भएको छ। युद्ध लडेका लडाकुहरु मजदुरी तथा वैैदेशिक रोजगारमा खाडीतिर बरालिरहदा रोल्पाको पहाडमा उनीहरुको सम्झनामा ‘स्ट्याचु’ तयार गरिएको हो।

उतिबेलाको बिद्रोही शक्ति आज सत्ताको मुलधारमा छ। तर पनि उसले पूर्वलडाकुको विवरण समेत राखेको छैन। नेकपा बनेको प्रचण्ड नेतृत्वको दल जस्तै एकीकृत जनक्रान्तिको बाटो रोजेको विप्लव नेतृत्वको नेकपा अनि बाबुराम, बैद्यको माओवाद बिनाको उतार चढावले दिक्क कार्यकर्ता घर न घाटका बनेको बताउँछन्।  

हिजो बन्दुक बोकेर परिवर्तनका पक्षमा लडेकाहरुको जीवनशैली परिवर्तन नभए पनि नेतृत्वको रवाफले उनीहरु दिक्क छन्। मृतक, बेपत्ता परिवार र घाइते अपाङ्गको समेत राज्य तहबाट वास्ता नभएपछि निरास बनेका पूर्र्वलडाकुहरु हिजो आज बिगत सम्झेर पश्चाताप लाग्ने गरेको बताउँछन्। सरकारी पक्षबाट पीडा भुल्ने कुनै योजना नआएपछि युद्ध लडेका र द्वन्दपीडितका अपेक्षामा तुवालो लागेको हो। सिंगो माओवादी पाटी नै बिचलनमा गएको बुझेका कार्यक्रर्ता यतिबेला आफै बिचलित छन्।  

‘कसैसंग पनि शहीदहरुको समेत खास आधिकारी तथ्याङ्क छैन। झन पूर्व लडाकुको अबस्था कसलाई थाहा होस्। यहाँ त घाइते अपाङ्गकै तथ्याङ्क पनि छैन।’ पूर्वलडाकुका कम्पनी कमाण्डर नबिन लोचन मगर भन्छन् ‘संग्राहलय जानकारी बिनाको स्ट्याचु जस्तै छ। कम्तीमा त्यहाँ पुग्नेले प्रारम्भिक अनि आधिकारीक जानकारी लिन पाओस् अनि मात्र संग्राहलयको मर्म अनुसार रहन्छ।’ उनका अनुसार ‘आधिकारी तथ्याङ्क नराखिनु युद्ध लडेका नेतृत्वको जनयुद्धप्रतिको उपेक्षा हो। जुन आधारमा टेकेरमाथि गए त्यहि भुले।’ हुन पनि पछिल्लो समय द्वन्दका गतिबिधिको कोहि कसैसंग आधिकारीक लेख्य बिबरण छैन।  

‘जनयुद्ध संग्रहालय द्वन्दको जीवन्त इतिहास हो। यसले भावी पुस्तालाई माओवादीको नेतृत्वमा भएको सशस्त्र संर्घषका बारेमा विस्तृत रुपमा जानकारी दिनका लागि महत्वपूर्ण भूमिका खेल्नेछ। संग्राहलय स्थापना राम्रो कुरा हो।’ त्रिभुवन विश्वविद्यालय द्वन्द, शान्ति र विकास विभागका उपप्राध्यापक एवम माओवादी युद्ध र शान्ति प्रक्रियाका सुक्ष्म अध्येता चिरन्जीबी भण्डारी भन्छन् ‘तर पनि, माओवादी शान्ति प्रक्रियामा गएपछिको विचलनका कारण युद्ध अभिलेख र सामाग्रीहरुको उचित व्यवस्थापन भएको छैन।’  

भण्डारी भन्छन् ‘संग्रहालयले माओवादी द्वन्दका क्रममा देशका विभिन्न स्थानहरुमा भएका सशस्त्र संघर्षहरुको विस्तृत विवरण, जनमुक्ति सेनाको विगत झल्कने खालका सामाग्रीहरु, माओवादी जनयुद्धका क्रममा रोल्पा लगायत देशका विभिन्न ठाँउमा सहादत प्राप्त गरेका विरविरंगानाहरुको विवरण र युद्ध र शान्ति सम्बन्धी महत्वपूर्ण दस्तावेजहरुलाई संग्रहित गर्न सकेमा संग्राहलयको सान्र्दभिकता अझ बढ्न सक्छ।’

संग्रहालयले बनाउने क्रममा जिल्ला भित्रकै पूर्वलडाकुका कमाण्डरहरुलाई समेत सहभागी नगराइएकोमा उनीहरुले चित्त दुखाएका छन्। ‘संग्रहालय बनाउनु राम्रो हो तर हामी कमाण्डरहरुलाई सहभागी त गराइएन नै आधिकारीक जानकारी समेत दिइएन।’ पाचौ डिभिजनका पूर्व कमाण्डर सुकबहादुर रोकाले भने ‘युद्धका सबै बिषय बस्तुहरु कलेक्सन होला भन्ने लागेको छ। संग्रहालयले बनाउने ति सबै खोज्नु पर्छ। कुनै दिन खोज्न आउनु भएछ भने हामीसँग भएका कुराहरु पनि दिन्छौ।’

जिल्लाको त्रिवेणी गाउँपालिका–७ तिलामा तत्कालिन शान्ति प्रक्रियाका क्रममा पूर्व लडाकुहरुको क्वान्टोनमेन्ट रहेको ठाउँमा अहिले युद्ध संग्रालय बनाउन लागिएको हो। पाँचौँ डिभिजन अन्तर्गतका चार डिभिजन मध्ये ‘ज्वार स्मृति बिग्रेड’ तिलामा स्थापना गरिएको थियो। युद्धका समयमा बिग्रेड सहकमान्डरका रूपमा रहेर अर्घाखाँचीको दहमा दोहोरो भिडन्तमा मारिएका ज्वारको नाममा व्यारेकको नामाकरण गरिएको थियो।

संग्राहलयको मूल प्रवेशद्वारमा जनमुक्ति सेनाको स्ट्याचु राखिएको छ। उक्त तस्वीरमा महिला जनमुक्ति सेनाले पिठ्युमा बच्चा, हातमा बन्दुकसहित पुरुष सेना सँगसँगै पहाडमा उकालो लाग्दै गरेको युद्धताकाको दुर्लभ तस्वीरलाई झल्काइएको छ। संग्राहलयमा तत्कालिन युद्धमा प्रयोग भएका विभिन्न सामाग्री तथा युद्ध झल्काउने सामाग्री राखिने तयारी गरिएको छ। माओवादी द्वन्द शुरु भएको रोल्पामा भावी पुस्तालाई इतिहासको रूपमा चिनाउने उद्देश्यका साथ जनयुद्ध स्मृति राष्ट्रिय संग्राहलय स्थापना गरिएको हो।

गत आर्थिक वर्षमा संघीय सरकारको ५० लाख र प्रदेश ५ सरकारको ४० लाखबाट युद्ध संग्राहलयका लागि स्ट्याचुसहितको गेट, सूचना केन्द्र र सभाहल निर्माण गरिएको छ। यस्तै संग्राहलयसम्म पुग्न सिढी र तारबार गरिएको छ। देशकै पहिलो जनयुद्ध सङ्ग्रहालय भएकाले यसको अवलोकनबाट धेरै कुरा सिक्न सकिने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बताए। सङ्ग्रहालय उ्घाटन गर्दै पूर्वलडाकु समेत रहेका उनले भने, ‘सङ्ग्रहालयको अवलोकन गरेर मात्रै भए पनि युद्धकालीन सोधकार्य गर्न सकिन्छ।’  

उक्त सङ्ग्राहलयभित्र जनमुक्ति सेनाको ब्यारेकका सम्पूर्ण भौतिक संरचनाअन्तर्गत बङ्कर, ड्युटीपोस्ट, पुराना डिजाइनका भवन देख्न सकिनेछ। सङ्ग्रहालय परिसरमा एक हजार ३ सय मिटरको दृश्यावलोकन स्तम्भ निर्माण गर्ने योजना रहेको छ। जिल्ला समन्वय समितिका प्रमुख तथा पूर्वकमाण्डर राजबहादुर बुढामगरले रोल्पामा यस्ता युद्धकालिन थुप्रै संरचना रहेका र स्थानीय सरकारले यस्ता संरचनाको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न जरुरी रहेको बताए।

संघीय सरकारल र प्रदेश सरकारको कूल रु ९० लाखमा उक्त सङग्रहालय तथा प्रवेशद्वार निर्माण गरिएको हो। प्यारामिटर एक हजार ३ सय ५० मिटर, गेट, घेराबार, जीर्ण अवस्थामा रहेका भवनको मर्मतलगायतका निमार्णकार्य गरिएको छ। त्यस क्षेत्रमा दृश्यावलोकन स्तम्भलगायत अन्य पर्यटन प्रवद्र्धनलाई टेवा पुग्ने खालका भौतिक संरचनासमेत निर्माण गरिने भएको छ।

हाल उक्त क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरी बेस क्याम्प राखिएको छ। विसं २०५२ फागुन १ गतेदेखि रोल्पाबाट जनयुद्ध शुरु भएपछि सशस्त्र विद्रोहको समयमा जिल्लाका विभिन्न स्थानमा दोहोरो भिडन्त भएको थियो। यी ठाउँलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने सम्भावना देखिन्छ। युद्धकालीन समयमा रोल्पामा ९ सय ६९ जनाको मृत्यु भएको थियो भने ३३ जना बेपत्ता छन्।

प्रकाशित: २७ श्रावण २०७७ ०५:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App