८ वैशाख २०८१ शनिबार
समाज

प्रदेश १ मा फैलिँदै कोरोना संक्रमण

प्रदेश १ राजधानी विराटनगरमा कोरोना संक्रमण तीव्र बन्दै गएको छ। १० दिनअघिसम्म पनि निश्चित भूगोल र पेसाकर्मीमा मात्र सीमित संक्रमण यतिबेला विराटनगरका हरेकजसो क्षेत्रमा देखापरेको छ।

जनस्वास्थ्यविज्ञ यसलाई समुदाय स्तरकै संक्रमण भनिरहेका छन्। तर, प्रदेशमा कोरोना नियन्त्रणको नेतृत्व गर्ने सामाजिक विकास मन्त्रालय र मन्त्री जीवन घिमिरे भने प्रदेशमा अझै पनि समुदायमा संक्रमण नपुगेको भन्दै जिद्दी गर्छन्। ‘यो समुदायमा संक्रमण फैलिनुअघिको अवस्था हो,’ मन्त्री घिमिरेले भने, ‘यसलाई टेक्निसियनहरूले समुदायको संक्रमण मानेका छैनन्।’

उनी साता दिनअघि जसरी अडानमा थिए, त्यसरी नै अहिले पनि अडानमा रहँदा प्रदेशको अवस्था भने डरलाग्दो बन्दै गएको छ। स्वास्थ्यकर्मी र प्रहरी समूहमा मात्र सीमित संक्रमण यतिबेला समुदायका अन्य क्षेत्रमा पनि पुगिसकेको छ। विराटनगरका फरक–फरक भूगोलमा संक्रमित भेटिने क्रम पनि बढेको छ। हाटबजारका व्यवसायी, सरकारी कर्मचारी, कलकारखानामा कार्यरत मजदुर, पत्रकारदेखि घरबाट बाहिर हम्मेसी ननिस्कने सर्वसाधारणसम्मलाई देखापरेको छ।

‘अब विराटनगरका कुनै पनि क्षेत्र वा पेसाकर्मी संक्रमणबाट अछूतो रहेनन्,’ महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने, ‘त्यसैले यहाँ संक्रमण समुदाय स्तरमा तीव्र रूपमा फैलिएको छ।’ शनिबारसम्ममा विराटनगरमा २ सय ८१ जनामा संक्रमण पुष्टि भइसकेको छ भने तीनजनाले ज्यान गुमाइसकेका छन्।

विराटनगरमा यसरी संक्रमण ह्वात्तै बढेर समुदायसम्म कसरी फैलियो भनेर यकिन भइसकेको छैन। तर, चिकित्सकका अनुसार लकडाउन खुलेसँगै उपचारका लागि आउन थालेका भारतीय बिरामी, मजदुर र तस्करीमा संलग्नहरूले संक्रमण फैलाएका हुन सक्छन्। ‘साउन ७ पछि यहाँ बन्द खुलेजस्तो दृश्य देखाप¥यो,’ कोसी अस्पतालमा कार्यरत एक चिकित्सकले भने, ‘पूर्ववत् अवस्थामा सबै गतिविधि पनि फर्कियो। संक्रमण तीव्र हुने कारण यही भयो।’ विराटनगरमा मात्र होइन, समग्र प्रदेशमै समुदायका अलग क्षेत्र र भूगोलमा संक्रमण फैलिँदै गएको छ। शुक्रबार झापा, धुलाबारीका एक युवामा कोरोना पोजेटिभ देखियो। ती युवा धुलाबारी माविको खेल मैदानमा दिनहुँ हुने फुटबल अभ्यासमा सहभागी हुने र स्कुलको क्यान्टिनमा धेरैबेर रहने–बस्ने गरेको विद्यालय स्रोतले बतायो। व्यापारी घरानाका ती युवालाई संक्रमण कहाँबाट कसरी भयो, खुलेको छैन। तर, उनको सम्पर्कमा रहनेको संख्या ठूलो छ। झापामा पनि केही दिनअघिसम्म प्रहरीमा मात्र संक्रमण  देखिएको थियो।

पहाडी जिल्लाको तुलनामा प्रदेशका तराईका जिल्ला मोरङ, सुनसरी र झापा बढी प्रभावित देखिन्छन्। इलाममा सशस्त्र प्रहरीमा पनि ठूलै संख्यामा संक्रमण देखापरिसकेको छ। वैशाख ५ मा पहिलोपटक उदयपुरमा १२ जना भारतीय नागरिकलाई कोरोना संक्रमण पुष्टि भएयताको चार महिना साउन ७ गतेसम्ममा प्रदेश १ मा कुल संक्रमितको संख्या ८ सय २४ मात्र थियो। तर, त्यसयताको १७ दिनमा यो संख्या १ हजार ३ सय ८३ पुगेको छ। शनिबार मात्र प्रदेशमा ६१ संक्रमित थपिएका छन्। प्रदेश १ मा कुल ५ र उपचारका लागि प्रदेश २ बाट आएका तीन गरी यहाँ आठ जनाले ज्यान गुमाइसकेका छन्।

पछिल्लो समय संक्रमितहरू घरैमा बसेका छन्। अस्पतालमा आइसोलेसन शड्ढया अभाव छ। बिपी प्रतिष्ठानमा लामो समयसम्म कोभिड अस्पतालको संरचना बनाउनै ढिला गरियो। त्यस्तै, पहुँचवालाहरूको रिपोर्ट छिटो आउने तर सर्वसाधारणको भने चार÷पाँच दिनसम्म पनि पिसिआर रिपोर्ट नआउने समस्या प्रदेशमा उच्च छ। सामाजिक सञ्जालमा यसबारे गुनासो छताछुल्ल भइरहेको छ।

प्रकाशित: २७ श्रावण २०७७ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App