११ माघ २०७७ आइतबार
समाज

रसुवामा सार्वजनिक यातायात सञ्चालनमा रोक

रसुवामा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) रसुवाको सोमबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मको लागि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।  

छिमेकी जिल्ला लगायत अन्य जिल्लाहरूमा कोभिड–१९ को संक्रमणको दर बढ्दै गएको र सार्वजनिक यातायात सञ्चालन गर्दा अन्य जिल्लाबाट यस जिल्लामा सहजै संक्रमितहरूको आवतजावत हुनसक्ने जोखिम देखिएकाले तत्कालका लागि रोक लगाइएको हो।  

केन्द्रले सार्वजनिक यातायातका साधनहरूले न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड समेत अवलम्बन नगरी ओसारपसार गर्ने गरेको निष्कर्ष निकालेको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जिल्लामा कोरोना संक्रमण फैलन नदिनका लागि सार्वजनिक यातायातका साधन सञ्चालन रोक्ने लगायतका सात वटा महत्वपूर्ण निर्णय गरिएको बताए।  

कोभिड–१९ को बढ्दो संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लास्थित कार्यालयका प्रमुख तथा कर्मचारीले जिल्ला नछोड्ने, बेतावती नाकामा सवारी पास लिए वा नलिएको यकिन गरी चेकजाँचमा थप कडाइ गर्ने, जिल्ला प्रवेश विन्दु बेत्रावतीमा जिल्ला प्रवेश गर्ने व्यक्तिहरूको अनिवार्य रूपमा ट्राभल हेल्थ हिस्ट्री कार्ड जारी गर्ने निर्णय भएको छ।  

यसैगरी जिल्लास्थित सबै सरकारी, अर्धसरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयहरूले सेवा प्रवाह गर्दा हुनसक्ने भीडभाडलाई कम गर्न सम्पर्क कर्मचारी तोकी सम्पर्क नम्बर सहित सम्पर्क कर्मचारीको नाम सार्वजनिक गर्ने र सेवाग्राहीले सेवा लिन आउनुपूर्व उक्त कर्मचारीलाई सम्पर्क गरेर मात्र सेवा लिन आउनुपर्ने भएको छ।  

जिल्लाभित्र रहेका मन्दिर, गुम्बा, चर्च आदिमा सामूहिक भेला हुन नदिने, सामूहिक भेला हुने खालका कुनै किसिमका मेला, जात्रा, पर्व, समारोह हुन नदिने र सबै प्रकारका भेला, सम्मेलन तथा जमघटका कार्यक्रम नगर्ने नगराउने निर्णय गरेको छ।

विद्यालयमा उपस्थित भइ गरिने पठनपाठन, कोचिङ तथा ट्युसन सेन्टरहरू सञ्चालन हुन नदिने र वैकल्पिक सिकाइ विधिको अवलम्वन गर्न विद्यालयलाई निर्देशन दिने निणर्य भएको प्रजिअ पन्तले बताए।  

जिल्लाभित्र सञ्चालनमा रहेका विभिन्न आयोजनाहरूले बाहिरी जिल्ला वा मुलुकबाट कर्मचारी तथा कामदार ल्याउँदा सम्बन्धित स्थानीय तहको सहमति र जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा मात्रै ल्याउने, त्यसरी ल्याउने कामदारलाई छुट्टै क्वारेन्टिनको व्यवस्थापन गर्ने, काम गर्दा न्यूनतम भौतिक दूरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने साबुन पानीले नियमित हात धुने वा स्यानीटाइजरको प्रयोग लगायतका मापदण्ड पालना गर्नुपर्ने छ।  

बालबालिका, जेष्ठ नागरिक, दीर्घरोगी र गर्भवती महिलाहरूलाई अत्यावश्यक नपरी घर बाहिर ननिस्कन र हिँडडुल नर्गन अनुरोध गर्ने निर्णय भएको केन्द्रले जनाएको छ।  

प्रकाशित: २६ श्रावण २०७७ १८:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App