१५ चैत्र २०८० बिहीबार
समाज

जलमग्न धनगढी

खोला र नाला अतिक्रमण नै धनगढी डुबानको समस्या

डुबानमा परेको धनगढी मुख्य बजार क्षेत्र। तस्बिरः पुष्पराज /नागरिक

दिलबहादुर छत्याल/पुष्पराज जोशी

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा पछिल्ला वर्षहरुमा सामान्य वर्षामा पनि डुबानमा पर्ने गरेको छ। डुबानले मुख्यबजार लगायत बस्तीहरु जलमग्न हुन थालेका छन्। सामान्य वर्षातमा पनि नगरबासीहरुले डुबानको सास्ती झेल्नु परेको छ। घर र पसलभित्र पानी पसेर सामान नष्ट हुनुका साथै स्थानीयले केही दिन विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको छ।  

शनिबारदेखि अविरल वर्षाले धनगढी जलमग्न भएर यहाँका बासिन्दाको बेहाल भएको छ। घरभित्र पानी पसेर विस्थापित भएकाहरुले मनकारीका साथै संघसंस्थाले मेस चलाएर खाना खुवाएका छन्।  

धनगढी डुबानको मुख्य कारण उत्तरतिरबाट दक्षिततर्फ बग्ने आधा दर्जन खोला र नालाहरु अतिक्रमण भएको स्थानीय बताउँछन्। यी खोलानाला अतिक्रमण गरेर संरचना निर्माण भएका कारण खोलाको पानी थुनिएर बस्ती र नगर डुबानमा पर्ने गरेको हो। तीन दसकअघिसम्म खोला रहेको रातो पुलको अहिले नामोनिसाना छैन। ठूलो नाला रहेको रातोपुल नाला अतिक्रमण चपेटामा परेको हो।  नला अतिक्रमण गरेर घर निर्माण गरिएपछि पछिल्लो समयमा रातोपुल, सन्तोषीटोल, बैयाबेहडी, उत्तरबेहडी र रातोपुल क्षेत्र डुबानमा पर्ने गरेको स्थानीय राजेन्द्र चौधरीले बताए। ‘पहिले ठूलो नाला थियो,’ उनले भने, ‘हरेक वर्ष साँघुरिँदै अहिले नाला नै नामेट भइसक्यो।’  

यसैगरी धनगढीकै कैलाली पुलमा ७५ प्रतिशत नाला अतिक्रमण भएर संरचना भइसकेका छन्। पुलको आधा बढी भागमा संरचना बनेका छन्। कैलाली नालामा अतिक्रमण हुँदा तारानगर, उत्तरबेहडी डुबानमा पर्ने गरेको हो। पञ्चोदय नाला पनि पछिल्लो समयमा अतिक्रमणको चपेटामा परेको छ। सामुदायिक प्रहरी भवनदखि दक्षिणतर्फ त्रिनगर माध्यमिक विद्यालयसम्म नाला अतिक्रमणमा परेको हो। नाला मिचेर ठूलठूला संरचना निर्माण भईसकेका छन्। जिल्ला प्रहरी कार्यालय नजिकै भएर बग्न नाला पनि वर्षौदेखि अतिक्रमणमा परेको छ। धनगढीकै सेतोपुल नाला पनि अतिक्रमण हुँदा शिवनगर, क्याम्प सरोड, गाउँधनगढी, नवदुर्गाटोल डुबानमा पर्ने गरेको छ। वर्षौअघिसम्म यि क्षेत्रमा डुबान नहुने भएपनि पछिल्ला वर्षहरुमा घरभित्रै पानी पस्न थालेको स्थानीय बताउँछन्।

 ‘हामीले घर बनाउँदा यहाँ पानी पस्दैनथ्यो,’ स्थानीय विकास मन्नीले भने, ‘अहिले भने यहाँ घरभित्र पानी पस्न थालेको छ।’ घरभित्र पानी पस्नुको मुख्य कारण चौडा रहेको नाला पछिल्लो समयमा अतिक्रमण भएको उनले बताए। अढाइ दशकपहिला खोलानाला रहेको जमिन अतिक्रमण गरेर नगरविकास समितिका पदाधिकारी, राजनीतिक दलका केही नेता, नापी र मालपोतका कर्मचारीको संलग्नतामा व्यक्तिका नाममा लालपुर्जा बनाइसकेका छन्। नालाको जमिन व्यक्तिले लालपुर्जा बनाइ संरचना निर्माण गरेपछि पछिल्ला दिनमा धनगढी डुबानमा पर्ने गरेको नागरिक समाजका हरि रेग्मीले बताए।  थोरै वर्षाले धनगढी उप–महानगरपालिकाका विभिन्न भू–भाग डुबानमा पर्ने गरेको छ। वर्षाले सबैभन्दा बढी धनगढीको चटकपुर, मिलनचोक, शिवनगर, विशालनगर, उत्तरबेहडी, तारनगर, एलएनचौक क्षेत्र डुबानमा पर्ने गरेको छ। यी ठाउँमा पानीको सहज निकास नहुँदा डुबान हुने गरेको हो।  

खोला नाला मिचेर संरचना बनाएका कारण धनगढी डुबानमा परेको बताउँदै नागरिक समाजका अगुवा प्रमोद पाठकले भने,‘खोला नाला अतिक्रमण गराएर संरचना बनाउनमा संलग्न व्यक्ति, कर्मचारी, राजनीतिक दलका पदाधिकारी सबै अपराधी हुन्।’ उनले यसलाई छानविन गरेर कारबाही गर्नुपर्ने बताए। खोला नाला अतिक्रमण गरेर बनाइएको संरचना भत्काइनु पर्ने उनले बताए।  

यस्तै ६ लेन सडक अग्लो भएपछि धनगढीको विशालनगर क्षेत्रको पानी बग्न नपाउँदा सो क्षेत्र डुबानमा पर्ने गरेको धनबहादुर बोहराले बताए। ‘६ लेन सडक अग्लो भएकाले होचा स्थानमा पानी जमेर विशालनगर, चौराह पछाडिको भाग, विद्युत क्षेत्र, रिङरोड आपासको बस्ती डुबानमा परेको हो,’ उनले भने,‘पहिले सडक होँचो थियो, पानी सडक पार गरेर निकास हुन्थ्यो, अहिले पानी बहावको मार्ग थुनियो र डुबान पर्न थाल्यो।’  

धनगढी उप–महानगपालिकाका इन्जिनियर दीजराज भट्टले धनगढी डुबान प्राकृतिक रूपमा पानी बग्ने ठाउँमा घर, सडक निर्माण हुँदा बहाव रोकिएर डुबान पर्ने गरेको बताए। उनले भने, ‘पहिले खेतमा पानी जम्थ्यो, तर अहिले त्यही खेतमा संरचना बन्दा डुबानको समस्या स्वतः निम्तियो।’ उनले अल्पकालीन रूपमा खोला नालामा मानिसले भवन बनाउने तथा मिच्ने गर्नाले डुबानको समस्या बल्झँदै गएको बताए। उनले भने, ‘नाला मिचिनुका साथै ढलमा फोहर जम्नु पनि बस्ती डुबानको अर्को कारण हो।’ उनले सहर डुबान समस्या समाधानका लागि नाला अतिक्रमण रोक्नु पर्ने र गुरु योजना बनाएर पानी निकाशको व्यवस्थापन गर्नुपर्ने बताए।

प्रकाशित: २६ श्रावण २०७७ १२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App